+
+

नेपालको प्राकृतिक प्रकोपको न्यूनीकरण र व्यवस्थापन : अहँ ढिला गर्नुहुँदैन !

निपेश ढाका निपेश ढाका
२०७९ असार २६ गते १४:४३

भौगोलिक र धरातलीय विविधताले भरिपूर्ण नेपाल प्राकृतिक प्रकोपबाट प्रभावित हुने विश्वका केही राष्ट्रमध्ये एक हो । वैश्विक तापमान वृद्धिका कारण जलवायु परिवर्तन हुँदा त्यसको असर हाम्रो जस्तो देशमा परिरहेको छ, त्यो आगामी दिनमा अझ बढ्दै जाने देखिन्छ ।

विगतका तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने नेपालमा मुख्यतः बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिको मात्रा झन् बढ्दै गएको छ । जसका कारण हरेक वर्ष सयौं मानिसको मृत्यु सँगै हजारौं घरपरिवार विस्थापित हुने गरेका छन् । यसबाट ठूलो धनजनको क्षति, खेतीयोग्य जमिनको विनाश, जंगली जीवजन्तुको जीवन र वासस्थानमा असर, पर्यावरणको विनाशका साथै जनजीवनमा ठूलो असर परेको छ ।

मानव सभ्यताको विकासको क्रममा मानिसले बस्ती विकास गर्दा मुख्यतः माटोको उब्जनी, अनुकूल भौगोलिक स्थान, पानीको पर्याप्तता जस्ता कुरालाई प्राथमिकता दिएको देखिन्छ । संसारका प्रायः शहरहरू उर्वरशील माटोमाथि नै बसाइएका छन् । पछिल्लो समय विज्ञान र प्रविधिको विकास सँगसँगै मानिस व्यावहारिक रूपमै आफूलाई अनुकूल र सहज हुने ठाउँमा बस्तीहरू निर्माण गर्न लागेका छन् ।

नेपाल जस्तो देशमा पछिल्लो तीन दशकयता जसरी भौतिक पूर्वाधारहरू जस्तैः बाटो, सडक, घर, भवन, बस्तीहरू आफूखुसी निर्माण गरिए त्यस्तै क्रियाकलापलाई ‘आधुनिक विकास र समृद्ध नेपाल’ भनेर भ्रमित पारियो । यसबाट अहिले शहरका धेरै बस्ती विभिन्न प्राकृतिक प्रकोपबाट समस्यामा परिसकेका छन् । मानिसले प्रकृतिलाई बदल्ने होइन यसको अनुकूलतामा रमाउने हो भन्ने कुरा बुझ्न जरूरी छ ।

पंक्तिकारलाई २०६९ सालमा टेक्निकल युनिभर्सिटी म्युनिख, जर्मनीमा ‘प्राकृतिक स्रोतको दीर्घकालीन व्यवस्थापन’ विषयमा स्नातकोत्तर गर्ने अवसर मिलेको थियो । युरोपमा अधिकांश भू-भाग समथर भएतापनि नदी तथा पहाडको बेंसीमा धेरै सावधानीपूर्वक मानव बस्तीको योजना बनाइएका हुन्छन् ।

यसको अपनत्व ग्रहण सरकारले नै गरेको हुन्छ । त्यसको तुलनामा नेपालमा यस्ता कुराको व्यवस्थापन गर्न धेरै जटिल भएतापनि यो प्राविधिक रूपमा हामीले व्यवस्थित गर्ने प्रशस्त आधार छन् । यहाँ बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र मानव बस्तीहरू कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चिन्तन गर्न जरूरी छ ।

नेपालमा पछिल्लो समय मौसम सम्बन्धी प्रविधिको प्रयोग बढेको छ । विभिन्न नदीमा पानीको बहाव बढ्नु अगावै तथा बढ्ने बित्तिकै सावधानी अपनाउन सूचना सम्प्रेषण भइसक्छ । जमिन र बस्तीलाई व्यवस्थित गरेर मात्र देशलाई सफल र सुन्दर बनाउन सकिन्छ । यसका लागि सम्बन्धित निकायले बाढी, पहिरो न्यूनीकरणको लागि मौसमविद्, जमिन व्यवस्थापन सम्बन्धी विज्ञ लगायतको सुझाव लिई कार्यान्वयन गरेमा अझ प्रभावकारी हुनेछ

नेपालका अधिकांश नदी समानान्तर रूपमा उत्तरबाट दक्षिणतर्फ बहेका छन् । धेरै नदी पहाडको बीचबाट साँघुरिएर बहेका छन् । प्रायः त्यस्ता साँघुरिएका ठाउँका खोला, नदी किनारमा धेरै बस्ती तथा शहर अव्यवस्थित रूपले रहेको पाइन्छ । यिनै बस्तीहरूमा प्राकृतिक विपत्तिको खतरा प्रायः उच्च छ ।

सिन्धुपाल्चोक जिल्लाको माङ्खा गाउँमा २०७१ साल साउन २४ गते शनिबार बिहान भीषण पहिरोले भोटेकोशी नदी थुनिएको थियो । सो पहिरोले करीब ५० घरहरूको अस्तित्व नै मेटाएको थियो । त्यस्तै, २०७७ सालमा त्यही भूभागको केही किलोमिटर उत्तरमा पनि ठूलो धनजनको क्षति हुन पुग्यो ।

यदि पहिरोले बनेको त्यो बाँध एकैचोटि फुटेको भए बाह्रबिसे, दोलालघाट बजार लगायत नदी किनारका कैयौं बस्ती तथा तराईसम्मका बस्ती डुवानमा पर्ने निश्चित थियो । अघिल्ल्लो वर्ष सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले गरेको वितण्डा र असर त झन् डरलाग्दो थियो । यस्ता घटनाक्रम आगामी दिनमा अझ बढ्दै जाने निश्चित नै छ ।

यो लेखको आशय मानिसलाई निराश बनाउने होइन कि प्राकृतिक प्रकोपबाट समयमै कसरी सुरक्षित हुन सकिन्छ भन्ने उपायको बारेमा प्रष्ट पार्न खोजिएको हो । यसर्थ, प्राकृतिक प्रकोपबाट हामी कसरी सुरक्षित रहने, कसरी वातावरणमैत्री विकास गर्ने भन्ने कुरा सोचेर यसको कार्यान्वयनमा लाग्नु नै अहिलेको आवश्यकता हो ।

प्राकृतिक विपत्ति न्यूनीकरणका उपाय

१. माटोको संरचना सम्बन्धी अध्ययन

सर्वप्रथम माटोको गुण, प्रकार, प्राकृतिक बनोटको अध्ययन इत्यादि बाढी, पहिरो न्यूनीकरणको लागि प्रमुख आधार मानिन्छन् । माटोको तह एकैचोटि बनेको होइन । यो पृथ्वीको उत्पत्ति भएदेखि निरन्तर रूपमा भइरहेको प्राकृतिक प्रक्रिया हो ।

माटोको एउटा सानो तह बन्न हजारौं वर्ष लाग्दछ । माटोको संरक्षण गरी यसको गुणस्तरलाई जोगाइराख्न हाम्रा पुर्खाले धेरै महत्वपूर्ण भूमिका खेलेका थिए । सो समयमा बेंसीमा खेती र पहाडमा बस्तीलाई प्राथमिकता दिइएको थियो ।
वर्ल्ड सोइल रिसोर्सेस्ले माटोलाई ३२ किसिममा वर्गीकरण गरेको छ । मुख्यतः माटोका पाँच तह हुन्छन् । माटोको तहको संरचना

प्राकृतिक र कृत्रिम प्रक्रियाबाट हुन्छ । यसको बनावट क्ले, सिल्ट र सान्ड तीन किसिमले भएको हुन्छ । त्यसैले यदि माटोमा ०.००२ मिमि भन्दा कम कण भएमा क्ले, ०.००२ देखि ०.०५ मिमि सम्मलाई सिल्ड र ०.०५ मिमि भन्दा माथिका कणहरू भएकोलाई सान्ड भनिन्छ ।

एउटा सानो उदाहरण, यदि कुनै जमिनको माटोलाई हातमा एउटा डल्लो बनाएर तीन मिटर टाढा पर्खालमा फाल्दा जति सानो क्षेत्रमा केन्द्रीकरण हुन्छ त्यति माटोको संरचना मजबुत भएको मान्न सकिन्छ । यदि पर्खालमा छरिएमा त्यहाँ प्रशस्त बालुवायुक्त माटो अर्थात् कमसल माटो भएको बुझिन्छ । यो सजिलै जो-कोहीले पनि माटो जाँच्न सक्ने विधि हो । ३२ प्रकारका माटोमा आ-आफ्नै गुण अर्थात् मजबुत र कमसल गरी फरक संरचना हुन्छन् ।

उदाहरणको लागि लिक्सीसोल, नितिसोल्स, ग्लेसोल्स, याक्रिसोल्स जस्ता माटोहरूमा भूक्षयको जोखिम हुन्छ । समथर भूभागमा भूक्षय हुने यी माटोहरू भिरालो ठाउँहरूमा झन् डरलाग्दो हुन्छ । जुनै समयमा पनि पहिरोको जोखिम हुनसक्दछ । त्यस्तै, हिस्टोसोल, एन्थ्रोसोल जस्ता केही माटोहरू मजबूत हुन्छन् । यसरी माटोको बनावट र गुणसम्बन्धी पहिचानबाट कुन ठाउँमा भूक्षय हुने वा पहिरो जाने सम्भावना हुन्छ त्यो पत्ता लगाउन सकिन्छ ।

२. जमिनको भिरालोपन

माटोको बनोट जस्तै जमिनकोे सतह कति भिरोलो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । भिरालो जमिनमा ढुङ्गा, चट्टानहरू कमसल अवस्थामा भएमा तिनैको कारण पहिरो जाने सम्भावना अधिक रहन्छ । डाँडापाखामा गुरुत्वाकर्षणबाट पनि पहिरो जाने गरेका हुन्छन् । यदि भिरालो ठाउँमा भएका बस्तीहरू हटाएर अलि समथर भागमा स्थानान्तरण गर्न सकियो भने पनि ठूलो विपत्तिबाट जोगिन सकिन्छ ।

अहिले जुनसुकै भौगोलिक स्थानको भिरालोपन र जोखिम कुनै एक प्रयोगशालामा बसेर जानकारी पाउन सकिने प्रविधि विकास भइसकेको छ । यसका लागि रिमोट सेन्सिङ र जीआईएस लगायत अन्य प्रविधिबाट निरीक्षण गर्न सकिन्छ । यी प्रविधिबाट जुनसुकै धरातलको बनोट, उचाइ, त्यसको स्लोप सम्बन्धी अध्ययन गर्न सकिन्छ । यसबाट जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गरेर सुरक्षित ठाउँमा राख्ने दीर्घकालीन योजना बनाउन ठूलो मद्दत पुग्दछ ।

३. खेती वा संरचना निर्माण

परापूर्वकालमा मानव बस्तीको विकासको क्रममा पहाडी भाग नै प्राथमिकतामा थियो । पहाडमा बस्तीको विकास सँगै वनजंगल फँडानी, खोरियाहरू फँडानी, जमिनलाई खारेर भिरालो जमिनमा गरा बनाएर खेती गर्न थालियो । यसरी खनजोत गरिएको कैयौं टन माटो बर्खामा बाढीले बगाएर पहाडबाट बेंसीमा थुपार्ने प्रक्रियाबाट बेंसीमा माटाको सतहको संरचना भएको हो । त्यसपछि मानिसहरू खेती गर्न बेंसीमा केन्द्रित भए ।

अहिले ट्याक्टरबाट जमिन जोत्ने प्रचलन बढेको हुँदा पनि भूमि थर्किएर माटोको क्षय र पहिरोको क्रम बढिरहेको छ । यसलाई न्यूनीकरण गर्न माथिका क्रियाकलाप र माटोको स्वरुपको वैज्ञानिक अध्ययनमा प्राथमिकता दिनुपर्दछ । खेतीपातीको प्रकृति अनुसारको सावधानी पनि पहिरो नियन्त्रणका लागि महत्वपूर्ण विधि हो । नेपालको परिपे्रक्ष्यमा खेती पहिरोको सूचकांक होइन तर माटोमा हुने क्षय भने अवश्य पनि प्रभावित हुन्छ । जसको स्वरुप बढ्दै गएमा बाढी र पहिरोको जोखिम बढी हुन्छ ।

अहिले बढ्दै गएको ग्रामीण सडकको मनलाग्दी विस्तार पनि पहिरोको प्रमुख कारण हो । एउटा आफ्नो आधार तयार गरेर संरचना भएको भूभागलाई कैयौं टन बोझिला डोजरले विना अध्ययन जहाँ पायो त्यहीं कोपर्दा अथवा खन्दा पछिल्लो समय पहिरो बढ्दै गएको हो ।

नेपालमा २०७२ सालको महाभूकम्पबाट करिब ९ हजार मानिसको मृत्यु भएको थियो भने लाखौं मानिस प्रभावित भएका थिए । यसबाट विभिन्न पहाडी ठाउँमा दरार सिर्जना भएर तथा भासिएर जमिन कमजोर बनेको छ । त्यस्ता स्थानमा विकास निर्माणका काम गर्दा तथा बस्ती बसाउँदा यसले ठूलो जोखिम निम्याई क्षति पुर्‍याउन सक्दछ । प्रकोपलाई रोक्नै त सकिंदैन तर सावधानी अपनाउनु अति आवश्यक छ ।

४. वनस्पति तथा चरन

कुनै ठाउँमा पहिरो जान नदिन त्यहाँका बोटबिरुवा तथा वनजंगलको ठूलो भूमिका हुन्छ । बोटबिरुवा तथा रूखका जरा धेरै तलसम्म जाने हुँदा माटोको संरचनालाई मजबुत बनाउँछ । यदि हामीले पहाडका भिरालो जमिनमा बोटबिरुवा लगाई वनजंगललाई बढाउन सकेमा पहिरोको जोखिम धेरै घट्दछ ।

अहिले सामुदायिक वनको अवधारणा अनुसार वनजंगलको मात्रा बढे तापनि ग्रामीण क्षेत्रमा मनलाग्दी बनाइएका सडकका कारण पहिरोको जोखिम झन् बढेको छ । यसकारण वृक्षरोपण सँगै चोरी तस्करीबाट वनजंगललाई जोगाउने पहललाई प्राथमिकता दिनसकेमा पहिरोलाई धेरै न्यूनीकरण गर्न सकिन्छ ।

५. पानीको स्रोत

हिमाली तथा पहाडी भूभागबाट बगेको पानी खहरे, झरना, मूल, खोला हुँदै नदीको रूपमा बहेका छन् । माथि प्रस्तुत गरिएका मानवीय क्रियाकलाप र यसको असरले वर्षायाममा खहरे खोला अनियन्त्रित रूपमा बाढी आउँदा पहिरोको जोखिम बढ्दछ । यदि भिरालो ठाउँमा पानीको वेग केही समयमात्र स्थिर भएर फुट्न गएमा यसले पहिरोको स्वरुप लिन्छ । २०७१ सालमा सिन्धुपाल्चोकमा भएको पहिरो पनि यही प्रकृतिको घटना हो ।

त्यसैले, खहरे तथा पानीका मूलहरू भएको ठाउँको वरिपरि बस्तीहरू जोखिमपूर्ण हुन्छन् । नेपालका धेरै पहाडी भूभागमा नदी थुनिएर फुटेमा किनारका बस्तीमा बाढी तथा पहिरोको जोखिम बढ्दछ । त्यसैले, विपत्तिलाई न्यूनीकरण गर्नको लागि सावधानी अपनाउन तथा बस्ती स्थानान्तरण गर्न अति आवश्यक छ ।

त्यस्तै, पानीको बहाव सम्बन्धी अध्ययन गर्ने हाइड्रोलोजिकल मोडेलिङ एक विधि हो । जलस्रोतको धनी तथा भौगोलिक र धरातलीय विविधता भएको नेपालमा यो प्रविधि उपयुक्त हुन्छ । किनकि धेरैजसो पहिरो पानीको गतिशीलतामा निर्भर रहेको छ । यसरी स्ट्रिम पावर इन्डेक्स नामक एक नमूना प्रविधिबाट पहाडको झुकावसँगै वर्षायाममा सतहमा बग्ने पानीको वेग, खोला, खहरे खोलाको स्थिति सम्बन्धी अध्ययन गर्न सकिन्छ ।

वेन्टनेस् इन्डेक्स नामक अर्को नमूना प्रविधिबाट कुन ठाउँमा पानी सञ्चय हुन्छ, चिस्यान छ भन्ने पत्ता लगाउन सकिन्छ । यसबाट वर्षायाममा आकस्मिक रूपमा पानीका मूलहरू फुट्ने र यसले गर्ने असरको बारेमा जानकारी पाउन सकिन्छ ।

साथै विभिन्न नदीमा पानीको बहाव तथा तह बढ्ने वित्तिकै संकेत दिने प्रविधि जडान गरेर पनि अन्तिम समयमा सुरक्षित हुन सकिन्छ । तर तत्काल सुरक्षित मात्र भन्दा पनि दीर्घकालीन रूपमा कसरी व्यवस्थित र सुरक्षित हुने यसको बारेमा अध्ययन तथा अनुसन्धानलाई निरन्तरता दिनुपर्दछ । यदि माटोको बनोटलाई सही पहिचान गरेर यी प्रविधिमार्फत काम गर्न सकियो भने यसबाट निस्कने अध्ययन र नतिजाबाट बाढी, पहिरोको न्यूनीकरण गर्ने योजना बनाउन ठूलो सहयोग हुन्छ ।

६. सामाजिक तथा राजनीतिक संरचना

नेपाल जस्तो विविधता भएको देशमा विज्ञहरूले बाढी, पहिरो रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न योजना बनाउने र यसको कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन आवश्यक छ । खोला, नदीको किनारमा हुने अवैध बालुवा, ढुुङ्गा खानी र क्रसर उद्योगले नदीको वेग तथा गहिराइ बढेर बाढी पहिरो जस्ता विपत्ति बढ्दै जानु पनि ठूलो चिन्ताको विषय हो ।

राजनीति गर्नेहरूले विभिन्न साँठगाँठ गरेर यस्ता काम गर्नेलाई सहयोग गरिदिंदा जनताका आवाज सुन्नै छाडिएको छ । प्रकोप दिनानुदिन बढ्दै जाँदा पनि जमिनलाई कित्ताकाट गरेर विना योजना बस्ती बसाल्नाले झन् अन्योल छाएको छ ।

त्यस्तै, विकसित मुलुकहरूमा बस्ने नेपालीले पनि आफू बसेको देशमा जमिनको कसरी व्यवस्थापन गरिएको छ भन्ने कुरा राम्रोसँग देखे-बुझेका छन् । तर उनीहरूले पनि आफ्नो घरपरिवारलाई सुरक्षित ठाउँमा राख्नको लागि पहल गर्न सकेका छैनन् ।

त्यस्तै, विदेशका विश्वविद्यालयमा जमिन सम्बन्धी अनुसन्धान गरिरहेका नेपाली विज्ञहरूले पनि राज्यलाई घचघच्याउने खालका लेख, रचना र आफ्नो विद्वत्ता बाहिर नल्याउनु तथा मौन रहनु पनि चिन्ताको विषय हो ।

अन्त्यमा, माटो र भूगर्भको संरचनाको अध्ययन विना नै अव्यवस्थित बस्ती बस्नु र बसाल्नु ठूलो मुर्खता हो । पुर्खाले जोगाइराखेको यस माटोलाई पैसाको लोभ र प्रलोभनमा परेर प्रकृति माथि भइरहेको अत्याचारलाई रोक्नुपर्दछ । हाम्रो जस्तो धरातल भएको देशमा ठूलो दैवीप्रकोपको घटना हुनसक्दछ । खोंच भएर बगेका नदीहरू पहिरोले गर्दा थुनिने र फुट्ने सम्भावना धेरै हुन्छ ।

बर्सेनि ठूलो धनजनको क्षति भई लाखांै नेपाली जनता विस्थापित हुने स्थिति आउन सक्छ । नेपालको अन्न भण्डारको रूपमा रहेको तराईमा बाढीले कृषि भूमिसँगै जनधनमा क्षति पुर्‍याउँदा कस्तो अवस्था सिर्जना होला ? २०७४ सालमा तराईमा बाढीले धेरै बस्ती डुवानमा पारेको थियो । त्यस्तै, एक दशक अघि पोखराको सेती नदीमा आएको बाढीले पनि ठूलो क्षति पुर्‍याएको थियो ।

नेपालमा पछिल्लो समय मौसम सम्बन्धी प्रविधिको प्रयोग बढेको छ । विभिन्न नदीमा पानीको बहाव बढ्नु अगावै तथा बढ्ने बित्तिकै सावधानी अपनाउन खबर सम्प्रेषण भइसक्छ । जमिन र बस्तीलाई व्यवस्थित गरेर मात्र देशलाई सफल र सुन्दर बनाउन सकिन्छ । यसका लागि सम्बन्धित निकायले बाढी, पहिरो न्यूनीकरणको लागि मौसमविद्, जमिन व्यवस्थापन सम्बन्धी विज्ञ लगायतको सुझाव लिई कार्यान्वयन गरेमा अझ प्रभावकारी हुनेछ ।

जोगाऔं माटो, जल, जमिन, जंगल ।

यही हो हाम्रो धन, नयाँ नेपालको संकल्प ।

(विश्व कीर्तिमानी निपेश विगत डेढ दशकदेखि नेपालको वातावरण तथा पर्यावरण क्षेत्रमा काम गरिरहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?