+
+
Shares

काभ्रेको बाढी सामान्य हो ?

मध्यम खालको वर्षा हुँदा पनि रोशी खोलामा बाढी आएको छ । गत वर्ष ठूलो क्षति भएको क्षेत्रमा मध्यम वर्षासँगै आएको बाढीले स्थानीयवासीमा चिन्ता थपिदिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेमा आएको मध्यम वर्षाले ठूलो बाढीको प्रकोप आएको छ र यसले सडक र भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ।
  • बाढीले प्रभावित भएका क्षेत्रमा मर्मतकार्य भइरहेको छ र यसले वर्षायाममा थप विपत्तिको चिन्ता बढाएको छ।
  • गत वर्षको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको काभ्रेमा यस वर्ष पनि बाढीको जोखिम कायम रहेको छ।

३० वैशाख, काठमाडौं । काभ्रेमा सोमबार अपराह्न मध्यम खालको वर्षाले नै ठूलो बाढीको प्रकोप निम्तिएको छ । बाढीले बगाउँदा एक महिला बेपत्ता छिन् भने सडक लगायतका अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ ।

बाढीका कारण सोमबार अपराह्नदेखि नै अवरुद्ध सडक सञ्चालनको प्रयास भइरहेको छ ।

सोमबार अपराह्न काभ्रेको खोपासी र रोशीमा मध्यम खालको वर्षा मापन भएको थियो । विगत २४ घण्टामा खोपासीमा ४३.४ र रोशीमा ४१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । १० मिलिमिटरभन्दा बढी र ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम खालको वर्षा भनिन्छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहाल स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले काभ्रेमा मध्यम खालको वर्षा भएको र त्यसैले क्षति पुर्‍याएको बताउँछन् ।

प्रिमनसुन अवधिमा कुनै ठाउँमा सुक्खा हुने र कुनै ठाउँमा मात्रै केन्द्रित भएर पानी पर्ने हुन्छ । यसलाई खण्डित रुपमा वर्षा भएको भनिन्छ । काभ्रेको बाढी खण्डित वर्षाको परिणाम भएको मौसमविद दाहालको भनाइ छ । त्यसैले यस्तो वर्षालाई सामान्य नै मान्नुपर्ने उनको भनाइ छ । तर बाढीले क्षति पुर्याउनुमा अन्य विभिन्न कारणहरु हुने भएकाले त्यसको अध्ययन गर्नुपर्ने उनले बताए ।

सोमबार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा त भारी वर्षा नै भएको थियो । तम्घासमा गत २४ घण्टामा ५४.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी गुल्मीकै मुसिकोटमा ३४.४ र स्याङ्जाको पञ्चमुलमा ३५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । गुल्मीमा वर्षा र बाढीले क्षति पुर्‍याएको सूचना भने छैन ।

काभ्रेमा कहाँकहाँ भयो क्षति ?

काभ्रेको पनौती नगरपालिकाको वडा नम्बर ३ देखि १० सम्म बाढीले क्षति पुगेको छ । यसैगरी रोशी गाउँपालिका र तेमाल गाउँपालिका पनि बाढी–पहिरोबाट प्रभावित भएका छन् ।

पनौती नगरपालिकामा गत वर्ष असोजको बाढीले क्षति पुर्‍याएपछि अस्थायी रूपमा मर्मत गरिएको खानेपानी पाइप फेरि बगेको छ । झन्डै ३ किलोमिटर लामो अस्थायी सडक पनि बगाएको छ ।

खेतबारीमा रोपिएका आलु लगायतका बाली पनि डुबानमा परेका छन् । रोशी गाउँपालिका–६ स्थित सिपाली हुँदै महाभारत गाउँपालिका जाने सडकको ह्युम पाइप पनि बगाएको छ ।

पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा बाढीले बढी क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध छ । कटुन्जेबेसी र बोक्सीकुनामा एकतर्फी मात्र सञ्चालनमा छ । बाढी प्रभावित क्षेत्रमा आज बिहानैदेखि मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

वर्षायाम सुरु नहुँदै थपियो चिन्ता

गत असोजको बाढी र पहिरोले क्षतविक्षत बनाएको काभ्रेमा अहिले वर्षायाम सुरु नहुँदै बाढीको प्रकोप सुरु भएको छ । यसले वर्षायाममा झन् बढी विपत्ति निम्त्याउने चिन्ता छ ।

गत वर्ष असोजमा आएको बाढीपहिरोका कारण काभ्रेमा ७८ जनाको मृत्यु, ६ जना बेपत्ता र ७९ जना घाइते भएका थिए । यसैगरी स्थानीयका घर, कृषि, पशु, शिक्षा, सडक, सञ्चार, खानेपानी तथा विद्युत् क्षेत्रमा पनि करोडौंको क्षति पुगेको थियो ।

काभ्रेमा यति धेरै क्षति हुनुमा क्रसर उद्योगलाई जिम्मेवार ठानिएको थियो । जिल्ला अनुगमन समितिको २०८१ माघ ९ बसेको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?