+
+

सुदूरपश्चिमको बजेट संशोधन गर्न सांसदहरुले मागे मुख्यमन्त्रीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १४:१२

२७ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न सोमबार ११ बजे बोलाइएको बैठक पनि स्थगीत भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच प्रदेशसभाको बैठक सञ्चालन सम्बन्धमा सहमती नजुटेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगीत गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दल र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बजेट संशोधन गर्ने आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल र मुख्यमन्त्री त्रिलोचन भट्टको प्रतिबद्धतापछि मात्र छलफल सम्भव भएको बताएका छन् ।

सरकारकातर्फबाट बैठकमा सहभागी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी मार्फत उनीहरुले मुख्यमन्त्रीलाई प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दल र सत्तारुढ दलका सांसदहरुसँग संशोधनको प्रतिबद्धता जनाएपछि मात्र बजेटमाथिको छलफलमा सहभागी हुने सन्देश पठाएका छन् ।

‘बजेट संशोधन गर्ने सवालमा प्रमुख प्रतिपक्षी दलसहितका अन्य विपक्षी दलसँग मुख्यमन्त्रीले छलफल गरेर प्रतिबद्धता जनाउने तथा सत्तारुढ दलबीच आन्तरिक छलफल गरेर मात्र प्रदेशसभाको बैठक सञ्चालन गर्ने भन्ने विषयमा सहमती भएको छ,’ कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमालेका प्रदेशसभा सदस्य बलदेव रेग्मीले पनि पहिले दलहरुले आफ्नो दलको बैठक राखेर आन्तरिक समस्या हल गर्ने, सरकारले प्रतिपक्षी दलहरुसँग छलफल गरेर आवश्यक प्रतिबद्धता जनाउने सहमतीपछि बैठक स्थगीत भएको बताए ।

सुदूरपश्चिममा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले असार १ गते आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधनको आवाज जोडदार रुपमा उठाएपछि अहिलेसम्म प्रदेशसभाको बैठक बस्न सकेको छैन । यहाँ सांसदहरुले संशोधन गर्नुपर्ने अडान र सरकारले संशोधन गर्न नसकिने अडान लिएपछि समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?