 
																			२७ असार, काठमाडौं । वाणिज्य बैंकहरुले संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १८ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिंदै आएका बैंकहरुले संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १८ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका हुन् ।
गत शुक्रबार नेपाल विद्युत प्राधिकरणले ७५ लाख अमेरिकी डलर बैंकमा राख्ने भन्दै बैंकहरुलाई प्रस्ताव गरेको थियो । सार्वजनिक संस्थाले बोलकबोल माध्यमबाट मात्रै निक्षेप राख्न सक्ने व्यवस्था रहेको छ । प्राधिकरणको प्रस्तावमा बैंकहरुले १८ प्रतिशतसम्म ब्याज दिने भनेर कबुल गरेका हुन् ।
सेञ्चुरी कमर्सिलय बैंकले उक्त निक्षेपको लागि मुद्दतीमा १८.०१ प्रतिशत र कल निक्षेपको लागि ६.५ प्रतिश्त ब्याजदर प्रस्ताव गरेको थियो । आर्थिक वर्षको अन्तिममा आउँदा पनि सीडी रेसियो कार्यान्वयन गर्न नसक्ने अवस्था भएपछि जसरी पनि सीडी रेसियो कार्यान्वयन गर्नुपर्ने भनेर उक्त ब्याजदर प्रस्ताव गरेको सेञ्चुरी बैंकका एक उच्च अधिकारीहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकामा नेपाली मुद्रामा व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा दिएको भन्दा संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १ प्रतिशत कम ब्याजदर दिन सक्ने व्यवस्था छ । यस्तै कल निक्षेपमा बचतमा दिने न्युनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याजदर दिन सक्ने व्यवस्था छ ।
बैंकहरुबीच भएको भद्र सहमतिअनुसार हाल वाणिज्य बैंकहरुले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको उच्च ब्याजदर र बचतको न्युन ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । यस आधारमा बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र कल निक्षेपको ब्याजदर ३.०१५ प्रतिशत हुनुपर्ने हो ।
उक्त व्यवस्था नेपाली मुद्राको निक्षेपमा मात्र रहेको र बैंकहरुले नियामकीय ‘लुपहोल’ (छिद्र) को प्रयोग गर्दै उक्त ब्याजदर प्रस्ताव गरेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘एकीकृत निर्देशनमा नेपाली मुद्राको निक्षेपमा ब्याजदरको व्यवस्था छ, तर विदेशी मुद्राको हकमा कुनै व्यवस्था छैन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘नियामकीय लुप होल (छिद्र) को प्रयोग भएको हो, राष्ट्र बैंकले छलफल गरिरहेको छ केही व्यवस्था गर्छौं ।’
सीडी रेसियो कार्यान्वयन गर्ने अर्काे विकल्प नभएपछि बाध्य भएर यसरी ब्याजदर प्रस्ताव गर्नुपर्ने अवस्था आएको अर्का एक बैंकका प्रमुख कार्यकारी अधिकृत बताउँछन् ।
प्रस्तावित ब्याजदर अनुसार उक्त निक्षेप सेञ्चुरी बैंकले पाउनुपर्ने भएपनि बैंकमा निक्षेप आइनसकेको बैंकका एक अधिकारीले बताए । ‘७५ लाख डलर भनेको आजको दिनमा ९५ करोड २५ लाख नेपाली रुपैयाँ बराबर हो। यो पैसा सीडी रेसियोमा गणना गर्न मिल्छ,’उनले भने, ‘उक्त रकम निक्षेपमा आउँदा हाम्रो सीडी रेसियो सीमाभित्र आउँछ ।’
२७ मध्ये २३ वाणिज्य बैंकले निक्षेपका लागि आवेदन दिएका थिए । बैंकहरुले कल निक्षेप र ६ महिने मुद्दती निक्षेपका लागि आवेदन दिएका हुन् । कल निक्षेप समेत १५.७६ प्रतिशत ब्याज दिएका छन् । कल निक्षेपमा १५.७६ प्रतिशत ब्याजदर प्रस्ताव गरेका सेञ्चुरी कमर्सिलय बैंकले मुद्दती निक्षेपमा पनि सोही ब्याजदर प्रस्ताव गरेको हो ।
कल निक्षेपमा भने नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले बोकलबोल पेश गरेका छैनन् । सरकारी संस्थान भएकाले उच्च ब्याज कबुल गर्नेलाई प्राधिकरणलाई निक्षेप दिनुपर्ने हुन्छ । कल खातामा राख्ने वा मुद्दतीमा भनेर प्राधिकरणले निर्णय गर्नेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4