+
+

रोल्पामा पहिरो पीडितको एकीकृत बस्तीमै पहिरो

महेश न्यौपाने महेश न्यौपाने
२०७९ असार २८ गते ७:१०

२८ असार, रोल्पा । लुम्बिनी प्रदेश सरकारको करिब १५ करोड लागतमा तीन वर्षअघि स्थानान्तरण भएको रोल्पाको एकीकृत बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।

जिल्लाको सुनछहरी गाउँपालिका-१ झंकीधाराका १० घर क्षतिग्रस्त भएका छन् भने  त्यहाँको बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ ।

आर्थिक वर्ष २०७६୵७७ मा निर्माण थालिएको एकीकृत बस्तीमा ४० वटा नयाँ घर निर्माण गरिएको थियो । नवनिर्मित ४० मध्ये १० घर पहिरोमा परी क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त १० घरमध्ये चार घर पूर्ण र ६ घर आंशिक क्षति भएका छन् ।

पहिरोले घर पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि त्यहाँका ४ घरधुरी अनेत्र सारिएको छ । आंशिक क्षति भएका ६ घरधुरी भने त्यही बसेका छन् । बस्ती तल रहेको सडकले पहिरोको जोखिम बढाएको स्थानीय शिक्षक जुनिषकुमार विष्टको भनाइ छ ।

साबिक सेरम गाविस वडा ५ मा रहेका १०५ घरधुरीमध्ये ४० घर पहिरोको उच्च जोखिममा परेका थिए । जोखिममा रहेका उनीहरूलाई गाउँपालिकाको पहल र लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री हाल मुख्यमन्त्री कुलप्रसाद केसीको सहजीकरणमा बस्ती स्थानान्तरण गरिएको थियो ।

आवास तथा भौतिक विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा बस्ती स्थानान्तरण गर्ने गरी आर्थिक वर्ष २०७५୵७६ मा डिपिआर तयार गरिएको थियो ।

एकीकृत नयाँ बस्तीमा संरचना निर्माणको काम भने आर्थिक वर्ष २०७६୵७७ मा सुरु भएको हो । एकीकृत बस्तीमा संरचना  निर्माणको काम चलिरहेको बेला बस्तीका १० घर पहिरोबाट क्षति ग्रस्त भएका छन भने अन्य दर्जनौ घरहरु प्रभावित भएका छन् ।

लुम्बिनी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री केसीसहितको जनप्रतिनिधि र कर्मचारीको एक टोली स्थलगत अवलोकनका लागि झंकी पुगेको थियो ।

मन्त्रालयका सचिव शंकर खरेल नेतृत्वको अर्को टोलीलेसमेत स्थलगत अवलोकन गरेको थियो । सो टोलीमा परामर्शदाताको रूपमा भूगर्भविद्समेत संलग्न थिए ।

टोलीले अध्ययनका क्रममा प्रस्तावित नयाँ बस्ती अन्य क्षेत्रको तुलनामा सुरक्षित रहेको निष्कर्ष निकालेपछि मन्त्रालयले बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरेको थियो ।

‘मन्त्रालयको टोलीले बस्ती स्थानान्तरणका लागि स्थान ठीक रहेको भनेपछि सुनछहरी गाउँपालिकाका तत्कालिन उपाध्यक्ष पत्रित्रा घर्तीमगरको संयोजकत्वमा गठित सहजीकरण समिति र पहिरो प्रभावितहरूको सहमतिमा सो स्थानमा एकीकृत बस्ती विकासको काम अगाडि बढेको थियो,’ सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले भने , ‘झंकीको भौगोलिक अवस्था आसपासका अन्य क्षेत्रको भन्दा सुरक्षित देखिएकाले त्यहाँ बस्ती स्थानान्तरणको प्रकृया अघि बढेको हो ।’

पहिरो प्रभावितहरूले पनि प्रस्तावित बस्तीमा आफूहरू स्थानान्तरण हुनमा समस्या देखेनन् । गाउँभन्दा बाहिर स्थानान्तरण हुँदा जीवीकोपार्जनमा समस्या पर्ने डरले पनि सो स्थान उनीहरूको रोजाइमा परेको थियो ।

पहिरो प्रभावितहरूमध्ये एक हर्कु विक भन्छन्– घरलाई पहिरोले क्षति गरे पनि पुर्ख्यौली सम्पत्ति सोही आसपासका क्षेत्रमा छ । पहिरोले घर लगे पनि पाखो जग्गा बचेको छ । त्यसको आशामा नजिकै बस्न चाह्यौं ।

एकीकृत बस्तीमा घर र शौचालय निर्माणका लागि उनीहरूको खातामा प्रदेश सरकारबाट प्रति घर तीन लाख ५० हजारका दरले बजेट गएको थियो ।

खानेपानी, सडक, विद्यालय र सामुदायिक भवन भने ठेक्कापट्टा मार्फत निर्माण भएको हो । अन्य संरचना यसअघि निर्माण भए पनि विद्यालय निर्माणको काम भने वाँकी थियो । विद्यालय निर्माणको कामसमेत सम्पन्न भएर हस्तान्तरको चरणमा छ ।

योजनाको कुल लागत १५ करोड रुपैयाँ बाट ४० वटा भवनका लागि एक करोड ४० लाख, तटबन्धनका लागि दुई करोड, खानेपानी लागि तीन करोड, सडकका लागि पाँच करोड रुपियाँको काम भइसकेको छ ।

तटबन्धका लागि थप रकम ३० लाख र विद्यालय एवम सामुदायिक भवन निर्माणको लागी पाँच करोड विनियोजन भएको थियो ।

बाढी पहिरो तथा अन्य विपदबाट सुरक्षित रहन बस्तीको मझगाउँमा सामुदायिक भवनसमेत निर्माण गरिएको छ । विपदको समयमा आश्रय दिने उद्देश्यले निर्माण गर्न थालिएको सामुदायिक भवन आफैं पहिरोको जोखिममा परेको छ ।

पेघाधारा, दाङवासा र वाछेम गरी तीन क्लष्टर बनाएर बस्ती स्थानान्तरण गरिएको छ । ती क्लष्टरमा जग्गा हुनेले त्यसैमा घर निर्माण गर्ने र जग्गा नहुनेले घडेरी किनेर घर बनाउनुपर्ने भयो ।

एकीकृत बस्ती बन्ने भनेपछि जग्गाको भाउ एक्कासी बढ्यो । ८୵१० हजारमा घडेरी पाइने गरिएकोमा ६०୵६५ हजार रुपैयाँमा घडेरी किन्न बाध्य भएको रणबहादुर घर्तीमगरले बताए ।

सुलिचौरबाट थवाङ जोड्ने सडकको फुलिवन खण्डलाई २०७३ सालपछि चौडा गर्ने तथा शाखा सडक बनाउने नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी डोजरको जथाभावी प्रयोग गरियो । सोही कारण सो क्षेत्रमा पहिरो जान थालेको स्थानीयवासीको भोगाइ छ ।

पुख्र्यौली घर पहिरोको उच्च जोखिममा रहेसंगै सो घर छाडेर नयाँ बस्तीमा आएकाहरु मध्ये कोही आफन्तको घरमा बसेका छन् भने कोही अर्काको घरमा भाडा तिरेर बसेका छन । पहिरोले घर पूर्ण रुपमा क्षति भएका ४ परिवार मध्ये २ परिवार अर्काको घरमा बस्छन् भने २ परिवार घरभाडा तिरेर बस्न वाध्य  छन् ।

घर पहिरोले वगाएपछि आफुहरु अर्काको घर भाडा लिएर बस्न बाध्य भएको सुनछहरी गाउँपालिका १ झंकीधाराकी दिला घर्तीमगरले बताइन् । ‘आम्दानीको स्रोत छैन तर पनि मासिक एक हजार ५०० भाडा तिरेर अर्काको घरमा बस्छौं,’ घर्तीमगरले भनिन् । पुर्ख्यौली घर पहिरोले वगाएपछि उनको परिवार ३ वर्ष अघि नयाँ बस्तीमा सरेको थियो ।

नयाँ बस्तीमा सरेको २ वर्ष पनि बस्न नपाउँदै त्यो घर पनि पहिरोले लगेपछि अब उनका लागि अर्काको घरमा भाडा तिरेर बस्नुको विकल्प रहेन ।

घर निर्माणको पहल

पहिरोबाट घर पूर्णरुपमा क्षति हुनेहरूको घर निर्माणका लागि गाउँपालिकाको तर्फबाट पहल भइरहेको सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनको भनाइ छ ।

 ‘घर निर्माणको आवश्यक प्रकृया अघि बढाउन विपद् व्यवस्थापन समितिसमक्ष निवेदन पठाएका छौं’ पुनले भने, ‘संघीय सरकार र प्रदेश सरकारको क्रमशः  ६० र ३० प्रतिशत लागत रहने गरी लेखापढी भएको छ ‘

संघीय र प्रदेश सरकारको वजेट उपलब्ध भए गाउँपालिकाले समेत समपुरक रुपमा १० प्रतिशत बजेट खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ पुनले बताए ।

फुलिवन बजार सुनसान

एकीकृत बस्तीको नजिकै रहेको फुलिवन बजारमा कुनै बेला निकै चहलपहल हुने गर्दथ्यो । बजार तलबाट खनेको सडकका कारण हाल सो बजार नै सुनसान भएको छ ।

पहिरोले बजार तान्न थालेपछि चहलपहल घट्न थालेको स्थानीयहरुको भनाइ छ । फुलिवन हुदै थवाङ गाउँपालिका र रुकुम पूर्वका विभिन्न गाउँहरुमा आवतजावत गर्ने गर्दछन । द्धन्दको समयमा २०६१ सालदेखी सुलिचौर–थवाङ सडक निर्माण कार्य गरेको थियो ।

सुलिचौरबाट थवाङ जोड्ने सो सडकको फुलिवन खण्डलाई २०७३ सालपछि चौडा गर्ने तथा शाखा सडक बनाउने नाममा डोजरको जथाभावी प्रयोग गरी सडक निर्माण गर्दा पहिरो जान थालेको स्थानीयहरुको भनाइ छ ।

तीन वर्षअघि सडकभन्दा माथिबाट आएको पहिरोमा परी सोही ठाउँका १५ वर्षीय शुकवहादुर घर्तीको मृत्यु भएको थियो ।

सुनछहरी गाउँपालिकालाई जिल्लाकै पहिरोको उच्च जोखिम क्षेत्र मानिन्छ । विपद् व्यवस्थापन समिति रोल्पाले प्रकोप नक्सांकनमा सुनछहरी गाउँपालिकाका वडा नं ४ र ५ र ६ लाई पहिरोको उच्च जोखिम क्षेत्रको रुपमा नक्सांकन गरेको छ ।

यहाँका ३६५ घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोका कारण गाउँपालिकाका धेरै बस्तीहरुमा धनजनको क्षति हुनुको साथै बस्तीको स्वरुप नै बदलिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?