+
+

अस्तव्यस्त अस्कल

गौरवमय इतिहास बनाएको अस्कल केही वर्ष यता भने राजनीतिक द्वन्द्व, तालाबन्दी, विद्यार्थीबाट शिक्षक कुटिने जस्ता अराजकताको केन्द्र बन्दै आएको छ ।

नुनुता राई नुनुता राई
२०७९ असार २८ गते ९:१८

२८ असार, काठमाडौं । अमृत साइन्स कलेज (अस्कल क्याम्पस) नेपालको पहिलो विज्ञान क्याम्पस हो । अमृतप्रसाद प्रधानले २०१३ सालमा स्थापना गरेको पब्लिक साइन्स कलेज २०१८ सालमा सोह्रखुट्टेमा आफ्नै भवन नबनुञ्जेल त्रिचन्द्र क्याम्पसमै संचालन भएको थियो ।

२०२२ माघ ११ गते हवाई दुर्घटनामा प्रधानको निधन भएपछि पब्लिक साइन्स कलेजलाई २०२३ फागुनमा ‘अमृत साइन्स कलेज’ नामकरण गरियो । २०३० सालमा नेपाल सरकारको स्वामित्व र त्रिवि अन्तर्गत आएपछि यो कलेज क्याम्पसमा परिणत भयो ।

कुनै समय विज्ञान विषयको पढाइमा उत्कृष्ट कहलाएको र प्राविधिकदेखि राजनीतिसम्मका क्षेत्रमा अगुवाई गर्ने जनशक्ति उत्पादन गरेको अस्कलमा पढ्ने विद्यार्थीलाई अहिले फरक नजरले हेरिन्छ । गौरवमय इतिहास बनाएको यो क्याम्पस केही वर्ष यता भने राजनीतिक द्वन्द्व, तालाबन्दी, विद्यार्थीबाट शिक्षक कुटिने जस्ता अराजकताको केन्द्र बन्दै आएको छ ।

अस्तव्यस्तता कति छ भने, २०१८ सालमा बनेको क्याम्पस भवन २०७२ सालको महाभूकम्पमा चिराचिरा पर्‍यो । पानी पर्दा जताततै चुहिन्छ । अलि ठूलो पानी पर्दा पुस्तकालय र प्यासेज आहाल बन्छ । कक्षा कोठा पनि पर्याप्त छैन । हालको विद्यार्थी संख्यालाई २०-२२ वटा कोठा अपुग रहेको क्याम्पस प्रशासनको भनाइ छ । भएका कतिपय कक्षा कोठा पनि झाडीभित्र छन् । सीएसआईटी र बीआईटीका ल्याबमा मुश्किलले १० वटा कम्प्युटर चल्छन् । अधिकांश कम्प्युटरको मनिटर मात्र छन्, सीपीयू छैनन् ।

राजनीतिक खिचातानी

राजनीतिक भागबन्डाको कारण त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसको साख गुम्दै गएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

उनीहरुका अनुसार, पञ्चायतकालमा पदाधिकारीमा नियुक्ति पाउने शासन व्यवस्था समर्थकहरुले पूरा कार्यकाल काम गर्न पाउँथे । उनीहरुले रिझाउनुपर्ने शक्तिकेन्द्र पनि एउटै हुन्थ्यो ।

प्रजातन्त्र पुनर्स्थापना भएपछि छिटो-छिटो सरकार परिवर्तन हुने मात्र भएन, क्याम्पसहरु दलीय भागबन्डाको मारमा पनि पर्न थाले । सरकार फेरिएसँगै सम्बन्धित पार्टीप्रति बफादारहरु विश्वविद्यालयदेखि क्याम्पससम्म नियुक्त हुन थाले ।

२०६४ मा देश गणतन्त्र भएपछि त त्रिविका आंगिक क्याम्पसमा राजनीतिक भागबन्डा सामान्य प्रक्रिया नै बन्यो । त्यसयता त्रिचन्द्र र पद्मकन्यामा नेपाली कांग्रेस, रत्नराज्य, महेन्द्ररत्न र पाटन संयुक्त क्याम्पसमा नेकपा एमाले तथा अस्कल र सानोठिमी क्याम्पसमा नेकपा माओवादी केन्द्रका पदाधिकारी नियुक्त हुँदै आएका छन् ।

माओवादीको भागमा रहेको अस्कल क्याम्पसमा विद्यार्थी संगठन भने एमाले निकट अनेरास्ववियु बलियो छ । यी दुई दलप्रति बफादार पदाधिकारी र अनेरास्ववियुबीचको द्वन्द्वले क्याम्पसलाई भने थला पार्दै लगेको छ ।

हरेक पटक पदाधिकारी नियुक्त भएपछि अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा ताला लगाउने गरेको वातावरण विज्ञानका पूर्वविद्यार्थी रमेश श्रेष्ठ बताउँछन् । यस्तो क्रियाकलापले अस्कल क्याम्पसको साख गिराइरहेको उनले बताए । ‘विद्यार्थी संगठनले गर्ने आन्दोलन विद्यार्थीको लागि हो भने त उनीहरुले बेलाबखत गरेको सम्झौताअनुसार कुनै न कुनै विषय कार्यान्वयन हुनुपर्ने हो’ उनी अगाडि थप्छन्, ‘तर त्यस्तो कहिल्यै हुँदैन । तालाबन्दी भने बारम्बार गरिहन्छन् । कुनै सहमति वा सम्झौतापछि खोल्छन्, फेरि बन्द गर्छन् । यसले विद्यार्थीलाई कुनै किसिमको फाइदा गरेको अनुभव छैन ।’

नाम बताउन नचाहने एक विद्यार्थी अस्कलमा अनेरास्ववियुको दादागिरी चलिरहेको भन्छन् । ‘कब्जामा लिएको सीएसआईटी विभाग प्रमुखको कार्यकक्ष बल्ल-बल्ल छाडेको छ, फेरि बन्द गर्ने धम्की दिएको भन्ने सुनिंदैछ’, उनी भन्छन् ।

क्याम्पस प्रमुख लोकबहादुर बराल क्याम्पसमा मुख्य समस्या नै भागबन्डाको पदपूर्ति रहेको बताउँछन् । ‘एक पक्षको पदाधिकारी आउँदा अर्को पक्षकाले विरोध गर्ने, तालाबन्दी गरेर कामै गर्न नदिने परिपाटी छ’, उनी भन्छन् ।

उपप्रमुख (विहानी) रवीन्द्र सिंह महत पनि पदाधिकारी नियुक्तिमा हुने दलीय भागबन्डाले क्याम्पस बिगारेको बताउँछन् । ‘शैक्षिक क्षेत्रमा राजनीतिक भागबन्डा हुन थालेपछि धेरै कुरा बिग्रेको छ’ उनी भन्छन्, ‘अस्कलको पनि यथार्थ यही हो ।’

अस्कल, नेविसंघका पूर्व इकाई सचिव अमृत बस्नेत त्रिविका सबै आंगिक क्याम्पसमा यस्तै समस्या देख्छन् । उनी भन्छन्, ‘राजनीतिक भागबन्डाले प्राज्ञिक क्षेत्र ध्वस्त बनाउँदै लगेको छ ।’

विद्यार्थी संगठनहरुको बढ्दो अराजकता

क्याम्पसमा विद्यार्थी संगठनहरुले क्याम्पसमा आफ्नो दल निकट पदाधिकारीप्रति सदासय देखाउने, फरक दलका पदाधिकारी भए आन्दोलन, दुर्व्यवहार गर्ने, उस्तै परे कुटपिटमा समेत उत्रने घटना बढेका छन् ।

अस्कल क्याम्पसमा अनेरास्ववियु नेतृत्वमाथि विभिन्न आरोप र उजुरी परेको छ । अनेरास्ववियुका पूर्व इकाइ अध्यक्ष कमलराज जोशी र इकाई अध्यक्ष रुद्रहरि पोखरेलविरुद्ध क्याम्पस प्रशासनले नै सीएसआईटीको भर्ना प्रक्रियामा किर्ते गरेको आरोपमा प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

सोही आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ परेका पोखरेल २४ दिनपछि गत शनिबार छुटेका छन् । जोशी भने हालसम्म फरार छन् ।

यो मुद्दा फिर्ता गर्न दबाव दिंदा नमानेका उपप्राध्यापक दिवाकर पाण्डेलाई अनेरास्ववियु इकाइ कमिटीका सहसचिव पंकज पाण्डेले गत जेठ २२ गते आक्रमण गरेको आरोप छ । क्याम्पसको खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख समेत रहेका पाण्डेमाथि कुटपिट भएको क्याम्पस प्रशासन बताउँछ । प्रशासनका अनुसार, उक्त घटनापछि पंकज पनि फरार छन् ।

यस्तै विद्यार्थी अराजकताका कारण डा. पुष्पलाल हुमागाईंले चारवर्षे कार्यकाल पूरा नगरी दुई वर्षमै क्याम्पस प्रमुखबाट राजिनामा दिएकाे हालका क्याम्पस प्रमुख बराल बताउँछन् । उनी भन्छन्, ‘हुलहुज्जत गर्ने, मोबाइल खोस्ने, गाडीको चाबी थुत्ने जस्ता व्यवहार भएपछि उहाँले सक्दिनँ भनेर राजिनामा दिनुभयो ।’

शैक्षिकभन्दा आर्थिक मुद्दामा लागेपछि विद्यार्थी संगठनहरु अराजक बन्दै गएको अस्कलका एक प्राध्यापक बताउँछन् । ‘क्याम्पसको भौतिक संरचना सुधार्ने वा शैक्षिकस्तर उकास्ने विषयभन्दा त्यसका लागि छुट्याइएको रकममा उनीहरुले बढी चासो राखे’ उनी भन्छन्, ‘यो जत्तिको विचलन अरु के हुन्छ ?’

विद्यार्थी संगठनहरुकै राजनीतिक अराजकता शैक्षिक क्षेत्रमा बाधक बन्नु दुःखद भएको विद्यार्थी लक्ष्मण धामी बताउँछन् । ‘विद्यार्थी संगठनहरुको भूमिका कस्तो छ भन्ने सबैले देखिरहेकै छन्’ उनी भन्छन्, ‘शैक्षिक मुद्दालाई बेवास्ता गर्दै तालाबन्दी गर्ने संगठन कसलाई, किन चाहियो होला ?’

अर्का विद्यार्थी विनिता लामा खुलेआम शिक्षक कुट्ने संगठनहरु खारेज हुनुपर्ने बताउँछिन् ।

विद्यार्थी संगठनहरुकै दबावले सीएसआईटीमा क्षमता भन्दा बढी कोटा थपिएको सहायक क्याम्पस प्रमुख रवीन्द्र सिंह महत बताउँछन् । त्यसले गर्दा विद्यार्थीहरुलाई बसेर पढ्न कक्षा कोठा अपुग भएको उनले बताए ।

क्याम्पसको ल्याब ।

अखिल क्रान्तिकारीका अस्कल इकाइ अध्यक्ष प्रेमराज उपाध्याय भने यसमा त्रिविको कमजोरी देख्छन् । ‘त्रिविले भौतिक पूर्वाधार, आवश्यक शिक्षक र ल्याब त दिनुपर्छ’ उनी भन्छन्, ‘कार्यक्रम मात्र दिएर हुन्छ ?’

क्याम्पसका कर्मचारी ध्रुव शर्मा देशको पहिलो विज्ञान क्याम्पस यो हालतमा पुग्नुको दोष पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी संगठन सबैले लिनुपर्ने बताउँछन् । ‘क्याम्पसको हालत के भइसक्यो, भनिराख्नुपर्दैन’ उनी भन्छन्, ‘विद्यार्थी संगठनको अराजकताबारे नबोल्दा क्याम्पसको हालत झन् खराब हुनेभयो ।’

जोखिममा ज्यान

सहायक क्याम्पस प्रमुख सिंह तालाबन्दीलगायत कारणले अस्कलको वातावरण बिग्रे पनि शैक्षिक गुणस्तर राम्रै रहेको बताउँछन् । ‘हाम्रोमा सीएसआईटी पढ्न जम्मा अढाइ लाख लाग्छ भने निजीमा दश लाखभन्दा बढी’ उनी भन्छन्, ‘यो कारण पनि अस्कलको पुनरुत्थान जरुरी छ ।’

उनका अनुसार, अस्कलमा मास्टर डिग्रीका राम्रा कार्यक्रमहरु छन् । ल्याबहरु पनि पहिला उत्कृष्ट थिए । पुस्तकालय भवन बनाउने प्रक्रिया अगाडि बढिरहेकाले छिट्टै राम्रो हुनेमा उनी आशावादी छन् ।

पीसीएमका विद्यार्थी राहुल अधिकारी अस्कलको पढाइ पनि चित्तबुझ्दो रहेको बताउँछन् । ‘पढाउने सरहरु पनि राम्रो हुनुहुन्छ’ उनी भन्छन्, ‘हुँदै नभएको भनेको पढ्ने वातावरण र भौतिक सुविधा मात्र हो ।’

उनका अनुसार, झाडी पन्छाउँदै कक्षा कोठामा पुगेर उभिएर पढ्नुपर्छ । झरीको बेला त पानी चुहिएको स्थान छलेर उभिनुपर्छ ।

उता, लाइब्रेरियनहरु ज्यान जोखिममा राखेर ड्युटी गर्नु परेको बताउँछन् । ‘एकछिन दर्केर पानी पर्‍यो भने पानी चुहिन थाल्छ’ असिस्टेन्ट लाइब्रेरियन शिव निरौला भन्छन्, ‘यस्तो धराप भवनमा ज्यान जोखिममा राखेर काम गर्नुपरेको छ ।’

अर्का असिस्टेन्ट लाइब्रेरियन रमेश निरौला चुहिने लाइब्रेरीको विकल्प नखोजिएको बताउँछन् । ‘घर बिग्रियो भने मुलीलाई दोष गएजस्तै हो यो पनि’ उनी भन्छन्, ‘क्याम्पस नेतृत्वको अक्षमताका कारण वर्षौंदेखि यो हालत छ ।’

होस्टलको बिजुलीको बिल ५६ लाख !

७० जनाको लागि बनाइएको अस्कल क्याम्पसको होस्टलमा अहिले सय भन्दा बढी विद्यार्थी बसिरहेका छन् । पढाइ सकिए पनि बस्न नछोड्ने, अत्यधिक विद्युत् खपत गराइदिने लगायतका समस्या होस्टेलमा छ ।

पूर्वक्याम्पस प्रमुख डा. हुमागाईं आफूले होस्टेलको मात्र एक हिउँदे महिनाको ५६ लाख बिजुलीको बिल तिरेको बताउँछन् । उनी भन्छन्, ‘त्यसैले होस्टल पनि क्याम्पसको समस्यामध्ये मुख्य बन्दै गइरहेको छ ।’

सहायक क्याम्पस प्रमुख रवीन्द्र सिंह महत होस्टल व्यवस्थापन पनि निकै गाह्रो भइरहेको बताउँछन् । ‘यसलाई कक्षाकोठा बनाउन सके ९० प्रतिशत समस्या समाधान हुन्छ’, उनी भन्छन् ।

अनेरास्ववियुका केन्द्रीय सदस्य किंगा शेर्पा भने होस्टललाई कक्षाकोठा बनाएर विद्यार्थीमाथि अन्याय हुन नदिने बताउँछन् । ‘यो त नेतृत्वको अक्षमता हो’ उनी भन्छन्, ‘क्याम्पसले नियमन गर्नुपर्छ नि ।’

‘यूनियनको निर्वाचन गरे समस्या समाधान’

अस्कलमा २०६५ सालयता स्ववियु निर्वाचन भएको छैन । यही कारण विद्यार्थी संगठनहरुले खेलीखाने मौका पाएको एक विद्यार्थी बताउँछन् ।

युनियन भए आधिकारिक संगठन र व्यक्ति हुने बताउँदै उनी भन्छन्, ‘तर, अहिले सबै संगठन, सबै नेता । जसलाई जे मन लाग्यो त्यही गर्ने । त्यसैले स्ववियुको चुनाव हुनुपर्छ ।’

सहायक क्याम्पस प्रमुख रवीन्द्र सिंह पनि स्ववियु भए सबैले अनेक माग राख्दै तालाबन्दी गर्न नपाउने बताउँछन् । अखिल क्रान्तिकारीका प्रेमराज उपाध्यायको पनि यही मत छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?