+
+

कोरियाको आम्दानी कुखुरा पालनमा लगानी

रासस रासस
२०७९ असार २८ गते १६:१६

२८ असार, गलकोट । सानै उमेरदेखि व्यावसायिक सोच बनाएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यवसायमै राम्रो सम्भावना देखेका उनी आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया गए ।

इपिएस भाषा अध्ययन गरेर कोरिया गएका जिसीले कोरियाबाट फर्केर व्यवसायिक कुखुरापालन गर्दै आएका छन् । उनले छ वर्ष कोरिया बसाइँ टुङ्ग्याएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आएका छन् ।

जिसीले चार वर्षदेखि व्यावसायिकरुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आएका छन् । ‘व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो’, उनले भने, ‘दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु ।’ जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् ।

उनले कोरियाबाट आउदा कमाएको रकममध्ये १० लाख रुपैयाँ लगानी गरेर कुखुरा फर्म स्थापना गरेका थिए । सुरुमा एक पटक खोरमा पालेको कुखुरा बेचेर एक लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेकामा अहिले दानाको मूल्य आकाशिएका कारण नाफा घटेको जिसी बताउँछन् ।

कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उनले बताए । ‘सुरुआतमा राम्रै कमाइ भएको हो, ४५ दिनमा कुखुरा तयार हुन्छन् एक÷डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन’, उनले भने, ‘अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ ।’

उनले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आएका छन् । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्छ भन्दै उनले विदेशको कमाइ यही सदुपयोग गर्न पनि सुझाव दिए । कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी पनि गर्न सकिने उनको भनाइ छ ।

कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको भनाइ थियो । उनले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि दानाको मूल्यअनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?