+
+

संगीतबाट छाउपडीविरुद्ध सन्देश : छाउ बस्दा बलात्कृत हुनुको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:०३

काठमाडौं । सन् २०१८ को अगस्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरे पनि अझै पनि छाउपडी प्रथा हट्न सकेको छैन ।

मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरेको छ । कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।

तर कानुनले अझै पनि छाउपडी प्रथालाई रोक्न सकेको देखिंदैन । सुदूरपश्चिमका जिल्लामा अहिले पनि छाउपडी प्रथा देखिएकै कारण गीतसंगीतको तर्फबाट भए पनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एलपी शर्मा र गौरव गिरीको टिमले छाउपडीकै विषयमा गीत बनाउने निर्णय गर्‍यो र बन्यो ‘लिलु’ ।

‘लिलु’ अछामसहित सुदूरपश्चिम र कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको कथा बोकेको देउडा गीत हो । जसमा गीतकी मुख्य पात्र लिलुले पहिलो पटक आफू छाउ भएको सपना देख्छिन् ।

दोस्रो दिन उनी स्कुल जाँदा आफ्नो साथीलाई सो कुरा सुनाउँछिन् । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुकी साथीले छाउको समयमा मन्दिरमा ढोग्न हुँदैन भन्छिन् । लिलुले आफूलाई गास, कपास दिए पनि बास नदिएको कुरा गीतमा व्यक्त गर्छिन् ।

एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै बिलौना गीतमा पोख्छिन् । तर उनकी आमाले वर्ष, महिना त गयो चार दिन त यत्तिकै जान्छ, तँलाई केही हुँदैन भन्दै सम्झाउन खोज्छिन् । तर ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन् । उनको मृत्यु हुन्छ ।

गीतमा शर्मा र गौरव गिरीको शब्द छ भने पूजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर छ । संगीत रोहित देउवाको छ । एचबीएन किस्मतले एरेञ्ज गरेको गीत वानडिबी स्टुडियोमा विमल चिनालले रेकर्ड गरेका हुन् ।

गीतमा रोशनी कार्की, पूजा देवकोटा, लक्ष्मीप्रसाद शर्मा, भद्रजंग कुँवर, मुकेश सुनार, ईब्सु सञ्ज्याल र पशुपति कुँवरको अभिनय छ । म्युजिक भिडियोको निर्देशन गौरव गिरीले नै गरेका हुन् ।

आइतबार काठमाडौंको मोजो बुटिक एण्ड रेस्टुरेन्टमा एक कार्यक्रमका बीच सार्वजनिक ‘लिलु’ गीतबारे प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छाउपडी प्रथा अन्त्यका लागि सरकारी तवरबाटै जोड दिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?