+
+

बुद्धिचाल संघले भन्यो : कार्यसमिति निर्वाचन ऐन विपरीत छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १७:१६

२८ असार, काठमाडौं । नेपाल बुद्धिचाल संघले मंगलबार सम्पन्न भएको निर्वाचनको कुनै पनि प्रक्रिया खेलकुद ऐन विपरीत नभएको प्रष्ट पारेको छ ।

नवनिर्वाचित कार्यसमितिले मंगलबार गरेको पहिलो पत्रकार सम्मेलनमा निर्विरोध चयन भएका अध्यक्ष विदुर गौतमले संघको विधान, राष्ट्रिय खेलकुद ऐनको मर्म र देशभरका प्रतिनिधिको चाहनाअनुसार सौहाद्र्धपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए ।

‘हिजोसम्म हामीसँगै रहेका केहि साथीहरुले यो प्रक्रियाका बारेमा प्रश्न उठाइरहनुभएको छ । तर, उहाँहरु निर्वाचनको प्रक्रियामा नसमेटिएपछि भएको असन्तुष्टिका रुपमा बुझेका छौं,’ अध्यक्ष गौतमले भने, ‘यो निर्वाचन दुई वर्षअघि नै घोषणा गरिएको थियो । कोरोना महामारीका कारण जिल्ला र प्रदेशका प्रतिनिधिले केन्द्रीय चुनावमा मताधिकार प्रयोग गर्न पाएका थिएनन् । यसपल्ट उहाँहरुलाई नै अवसर दिइएको हो ।’

सोमबार संघका निवर्तमान महासचिव हेराकाजी महर्जनले कार्यसमिति निर्वाचन प्रक्रिया नयाँ खेलकुद ऐनको विधानअनुकुल नभएको भन्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिवलाई निवेदन दिएका थिए । यसबारे अहिलेसम्म राखेपबाट औपचारिक प्रतिक्रिया आएको छैन ।

यस्ता छन् नवनिर्वाचित कार्यसमितिका चारवर्षे योजना

संघको नयाँ कार्यसमितिले आगामी चार वर्षका लागि नयाँ योजनाहरु सार्वजनिक गरेको छ । अध्यक्षका उम्मेदवार हुँदै गौतमले घोषणा गरेका अधिकांश एजेण्डा समावेश गरिएको छ । अहिलेसम्म आफ्नै कार्यालय नभएको संघलाई झोलाबाट कार्यालयमा सार्ने प्रक्रिया एक महिनाभित्र सम्पन्न गरिने संघले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

नेपालमा अहिलेसम्म ग्राण्ड मास्टर (जीएम) र इन्टरनेशनल मास्टर (आईएम) खेलाडी उत्पादन भएका छैनन् । फिडे मास्टर र क्यान्डिडेट मास्टरबाट बढुवा गरी चार वर्षभित्र आईएम खेलाडी उत्पादन गर्ने लक्ष्य नयाँ कार्यसमितिको छ । अध्यक्ष गौतम आाफैंले यो लक्ष्यलाई महत्वाकांक्षी भनेका छन् ।

संघले फिडे अफिसियल प्रतियोगितालाई नियमित सञ्चालन गर्ने र वार्षिक क्यालेन्डर निर्माण गर्ने कामलाई प्राथमिकता दिने भएको छ ।

एक साताभित्र संघको वेवसाइट सञ्चालन गर्ने, खेलाडी संरक्षण अक्षयकोष स्थापना गर्ने, खेलाडी, आर्विटर, ट्रेनर र प्रतियोगिता आयोजकलाई अभिमुखीकरण कार्यक्रम सन्चालन गर्ने, देशभर सबै जिल्लामा बुद्धिचाल संघ गठन गर्नेलगायतका योजना सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?