+
+

सीसीटीभी फुटेजबारे जानकारी लिन संसदीय विशेष समिति पुग्यो अर्थ मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १९:०१

२९ असार, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।

बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो ।

त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

समितिका सदस्यहरुलाई अर्थ मन्त्रालयका प्राविधिकहरुले त्यसबारे जानकारी गराएको पनि बताए । ‘समितिका सदस्यहरु, सचिवालयका कर्मचारीहरुसहित अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गर्‍यौं । र, मूलतः त्यहाँको लेआउटको सन्दर्भमा निरीक्षण थियो ।सीसीटीभी क्यामेरा कसरी जडान भएका छन । कुन–कुन कार्यकक्षमा कसरी त्यसको संरचना बनाइएको छ ? र, त्यसको कन्ट्रोल मकानिज्म के छ ? प्राविधिक क्षेत्रका साथीहरुले त्यसबारे जानकारी गराउनुभयो । दोहोरो संवाद भएन ।’

समितिले सो घटनाको सम्बन्धमा आवश्यक कागजात बिहीबार (भोलि) दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको छ । सो सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरु समितिलाई उपलब्ध गराउन बुधबार बिहान १० बजे अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि सचिव अर्यालले जानकारी दिए ।

निवर्तमान अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।

सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन सो संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिमा एमालेबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा सदस्य छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा माओवादी केन्द्र बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?