+
+

सुदूरपश्चिमको प्रदेशसभा बहिष्कार गर्ने समाजवादीकी सांसद जोशी भन्छिन्- गलत प्रवृत्तिविरुद्ध उभिएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १०:००

३० असार, धनगढी । सुदूरपश्चिम प्रदेशको बुधबार बसेको दोस्रो प्रदेशभा बैठकबाट अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरे पनि सत्तारुढ दलभित्रको असन्तुष्टि भने साम्य भएको छैन । बजेट संशोधनको माग गर्दै आएका सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्य पूर्णा जोशी र तारा लामा तामाङले प्रदेशसभाको बैठक नै बहिष्कार गरेका छन् ।

बजेटमाथि छलफल गर्न बुधबार पौने ४ बजे बसेको प्रदेशसभाको पहिलो बैठकमा सहभागी भएपनि पूर्वमन्त्री समेत रहेका उनीहरू दुवै जनाले छलफलमा भाग लिएनन् । बैठक सुरु भएको केहीबेरमै दुवै जना बैठक कक्षबाट बाहिरिएका थिए ।

तर बजेट पास गर्न बसेको प्रदेशसभाको दोस्रो बैठक भने बहिष्कार गर्दै उनीहरुले भाग नै लिएनन् । ‘यथास्थितिमा बजेट पारित गर्नु हुँदैन भनेर मैले विगत एक महिनादेखि फरक मत राख्दै आएको कुरा सर्वविदितै छ । सिङ्गो सुदूरपश्चिमले बजेट गलत छ भनेका बेला म कसरी सही छ भन्ने सक्थें,’ जोशीले अनलाइनखबरसँग भनिन्, ‘हाम्रो पार्टीको प्रदेश कमिटी बैठकमा ९ जिल्लाकै नेतृत्वमा बसेका साथीहरुले बजेट गलत भएकाले सच्याउनुपर्छ भन्नुभएको छ । गलत प्रवृत्तिका विरुद्ध हिजो पनि थिएँ आज पनि छु ।’

उनले पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारले ल्याएको बजेटका विषयमा सुदूरपश्चिमबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने नेता र प्रदेशसभा सदस्यहरुसँग भने राति १२ बजेसम्म छलफल गरेर कुरा सुनेको बताउँदै त्रुटी सच्याउन सरकार तयार नभएको बताइन् ।

प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलसँग गरिएको १४ बुँदे सहमति जनताको आँखामा छारो हाल्ने कुरा मात्रै भएको टिप्पणी गरिन् । ‘त्यो १४ बुँदे भनिएको सहमतिमा कुनै कुरा नयाँ छैन । यो प्रदेशवासीको आँखामा छारो हाल्ने काम मात्र भएको छ । लम्पसार पार्ने कुरा मात्रै हो,’ जोशीले भनिन् ।

बजेटमाथि असन्तुष्टि जनाउँदै प्रदेशसभाको बैठक बहिष्कार गरेका एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङले भने सार्वजनिक रुपमा अहिले कुनै प्रतिक्रिया नदिने बताएका छन् । प्रदेशसभा बहिष्कार गरेकी जोशी पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हुन् भने तामाङ पूर्व आर्थिक मामिला मन्त्री हुन् । उनीहरु दुवै जना नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका थिए ।

बजेट छलफल गर्न बसेको एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकमा समेत जोशी र तामाङसहितका बहुमत प्रदेशसभा सदस्यले यथास्थितीमा बजेट पारित गर्न नसकिने अडान लिएपछि कुनै निर्णय गर्न सकेको थिएन । उनीहरुले बजेटमाथि असहमति जनाउँदै प्रदेशसभा बैठक बहिष्कार गरेको विषयमा समाजवादीको प्रदेश संसदीय दलले कुनै प्रतिक्रिया जनाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?