+
+

आगामी गठबन्धनको परिदृश्य र सम्भावित परिणामको आकलन

कांग्रेस बाहेकका सत्ताधारी दलहरूले वैकल्पिक समाजवादी गठबन्धन निर्माण गरेर आफ्नो राजनीतिमा तात्कालिक फाइदा प्राप्त गर्न सक्छन् । यसबाट दीर्घकालीन रूपमा उनीहरूले कांग्रेस र एमालेको विकल्पको शक्तिको रूपमा आफूलाई उभ्याउन सक्छन् ।

डा. मिनेन्द्र रिजाल डा. मिनेन्द्र रिजाल
२०७९ असार ३० गते २०:३४

आगामी संघीय र प्रादेशिक निर्वाचनमा आवश्यकता, औचित्य, सुविधा, मौकापरस्त सोचका आधारमा बन्न सक्ने गठबन्धन र सम्भावित निर्वाचन प्रणालीको आकलन गर्नु यो लेखको उद्देश्य रहेको छ । निर्वाचनबारे अन्यत्र प्रकाशित एउटा र अनलाइनखबरमा प्रकाशित तीन वटा लेखपछि यो चौथो लेख यस शृंखलाको अन्तिम लेख हो ।

‘संघीय चुनावको ऐनामा देखिने संघ र प्रदेशको परिणाम’ शीर्षकको लेखमा वडाध्यक्ष पदमा दलहरूले प्राप्त गरेको मतलाई निर्वाचनको बेला बनेको गठबन्धनको प्रकृतिका आधारमा परिमार्जन गरेर संघ र प्रदेशको निर्वाचन परिणाम प्रक्षेपण गर्न सकिने कुरा उल्लेख गरिएको थियो । अझ साँचो अर्थमा त्यस्तो प्रक्षेपणमा संघ र प्रदेशको सम्भावित परिणाम ऐनामा झैं प्रष्ट देखापर्ने पुष्टि गरिएको थियो । यही पृष्ठभूमिमा यो लेखमा आगामी निर्वाचनमा बन्न सक्ने विभिन्न गठबन्धनको परिदृश्य र सम्भावित परिणामको आकलन गर्ने कोसिस गर्नेछु ।

यसो गर्नुभन्दा पहिले भर्खरै सम्पन्न स्थानीय निर्वाचनलाई आधार मानी आगामी संघ र प्रदेशको निर्वाचनमा दलहरू अलग–अलग नै रहेर प्रतिस्पर्धा गरेमा आउनसक्ने परिणाम हेरौं ।

संघीय चुनावको सम्भावित परिणाम चार्ट १

प्रादिशक चुनावको सम्भावित परिणाम चार्ट २

दलहरूले यस्तो सम्भावित निर्वाचन परिणामलाई ध्यानमा राखेर गठबन्धन निर्माण गर्नुु स्वाभाविक छ । साथै यो सम्भावित परिणामलाई अलि सूक्ष्म ढंगले विश्लेषण गर्ने हो भने प्रष्ट हुन्छ कि सिद्धान्तनिष्ठ, सुविधामुखी वा मौकापरस्त जस्तो जे देखिए पनि आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर सहभागी हुनु बाध्यकारी झैं हुन पुगेको छ ।

प्रश्न फगत यति मात्र हो कि गठबन्धन देशव्यापी, प्रादेशिक वा निर्वाचन क्षेत्रको वस्तुगत परिस्थितिलाई ध्यानमा राखेर बन्छ ? गठबन्धनका कारण हुने लाभको न्यायिक वितरण गर्न यसमा आवद्ध भएका दलहरूलाई कति सहज वा असहज हुन्छ ? गठबन्धन बनेको भूगोलमा गठबन्धनको निर्वाचन अभियान व्यवस्थापन परिणाममुखी हुन कति सफल हुन्छ ?

गठबन्धनको आवश्यकता र औचित्य अध्ययन गर्न फेरि पहिलेको लेखमा प्रस्तुत गरिएको सामग्रीको पुनः चर्चाबाट सुरु गरौं । त्यसका लागि संघ र प्रदेशको निर्वाचन २०७४ दलहरू अलग–अलग प्रतिस्पर्धामा सामेल भएको भए परिणाम सम्भवतः चार्ट–३ र ४ अनुसार हुनेथियो ।

संघीय चुनावको सम्भावित परिणाम चार्ट ३

संघीय चुनावको सम्भावित परिणाम चार्ट ४

तर निर्वाचन परिणामको यो सम्भावनालाई ध्यानमा राखेर अझ साँच्चै भन्दा अन्य वैकल्पिक गठबन्धन निर्माण हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर तीन कम्युनिस्ट पार्टीहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा (राजमो) मिलेर वाम गठबन्धन र मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम (संसफो) मिलेर मधेशी गठबन्धन निर्माण गरी निर्वाचनमा सहभागी भए । यसरी बनेको गठबन्धनका कारण हुनसक्ने क्षतिलाई ध्यानमा राख्दै कांग्रेस र कांग्रेस पृष्ठभूमिबाटै निर्माण भएको नेपाल लोकतान्त्रिक फोरम (नेलोफो) एकीकृत भई केही–केही निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक (राप्रपा, प्रजातान्त्रिक) सँग तालमेल गरेर निर्वाचनमा सहभागी भए ।

स्वाभाविक र अपेक्षित रूपमा वाम गठबन्धन र मधेशी गठबन्धनलाई अत्यन्त ठूलो सफलता प्राप्त भयो । प्राप्त परिणामलाई दलगत आधारमा चार्ट ५ र ६ मा प्रस्तुत गरिएको छ ।

संघीय चुनावको सम्भावित परिणाम चार्ट ५

संघीय चुनावको सम्भावित परिणाम चार्ट ६

अनुपातको भाव कायम रहोस् भन्ने उद्देश्यले सोही निर्वाचनमा अलिक पृथक् प्रकृतिको गठबन्धन बनेको भए सम्भावित परिणाम के हुन सक्नेथियो भन्ने कल्पना गरिएको एक परिदृश्यको सम्भावित परिणाम हेरौं ।

यस परिदृश्यमा पहिलो गठबन्धनमा एमाले, राजमो र राप्रपा, दोस्रोमा तत्कालीन सत्तारुढ दलहरू कांग्रेस, माओवादी, नेलोफो र राप्रपा (प्रजातान्त्रिक) र तेस्रो गठबन्धनमा राजपा र संसफो रहेको भए आउनसक्ने सम्भावित निर्वाचन परिणाम तल दिइएको छ ।

अर्थात् संघीय र प्रादेशिक निर्वाचनमा जसले सहजतापूर्वक आफ्नो अनुकूल गठबन्धन निर्माण गर्‍यो, उसको जित सुनिश्चित छ । तर यहाँ एउटा तर्क उठ्न सक्छ– वामपन्थी दलहरू वाम गठबन्धनमा, मधेशकेन्द्रित दलहरू मधेशी गठबन्धनमा र पुरानो कांग्रेस पृष्ठभूमिको दल कांग्रेसमा आवद्ध हुनु स्वाभाविक र सैद्धान्तिक तवरले पनि युक्तिसंगत हो । यस अनुसार २०७४ सालको संघीय र प्रादेशिक निर्वाचनका लागि गठबन्धन र एकीकरण पनि भयो । तर विगत साढे ४ वर्षको राजनीतिक घटनाक्रमले वाम र मधेशी दुवै गठबन्धन सिद्धान्त होइन, सुविधाको गठबन्धन भएको प्रष्ट भइसकेको छ ।

यही पृष्ठभूमिमा आगामी संघीय र प्रादेशिक निर्वाचनमा बन्न सक्ने विभिन्न गठबन्धनको परिदृश्य र सम्भावित परिणामको आकलन गरौं । यसको प्रारम्भ स्थानीय तह निर्वाचन २०७९ मा बनेको गठबन्धन कायम रहन्छ भन्ने अनुमान गर्नु उपयुक्त हुन्छ । त्यसो भएको अवस्थामा हुनसक्ने परिणाम तलको चार्टमा दिइएको छ ।

प्रष्ट छ, बेग्लाबेग्लै चुनाव लड्दा संघीय संसदमा ९० सिटमा सफलता प्राप्त गर्ने दलहरूले गठबन्धनमा आवद्ध भए १५४ स्थानमा विजयी हुनेछन् । तर यसरी प्राप्त हुने ६४ सिटको बाँडफाँट वा अघिल्लो पटकको निर्वाचनमा पृथक् गठबन्धन भएका कारण प्राप्त सफलतालाई अहिलेको गठबन्धनले कसरी समायोजन गर्ने लगायत विषय र निर्वाचन अभियानको व्यवस्थापन जुटाउन गर्नुपर्ने गृहकार्यका सहजता राजनीतिक कौशलका विषय हुन् ।

एमाले नेतृत्वले अघिल्लो पटकको निर्वाचनमा अलग–अलग प्रतिस्पर्धा गर्दा संघमा ८४ स्थान र प्रदेशमा १६६ स्थानमा जित हासिल गरेको थियो । तर पनि वैकल्पिक रूपमा त्यसबेला सत्तामा रहेका दलहरूको गठबन्धन बनेको अवस्थामा संघमा २२ सिट र प्रदेशमा ४६ सिटमा संकुचित हुनुपर्ने स्थितिलाई ध्यानमा राख्दै उदारतापूर्वक गठबन्धनमा सिटको बाँडफाँट गर्‍यो । यसबाट उसले संघमा ८० र प्रदेशमा १६८ स्थानमा सफलता हासिल गर्न सक्यो । यो एमाले नेतृत्वले तत्कालीन रूपमा देखाएको कुशाग्रताको प्रमाण हो ।

तथापि समयको अन्तरालमा सो गठबन्धन कायम राख्न नसक्दा मुलुकको राजनीतिले नयाँ बाटो समात्यो । तर पछिल्लो कुरा यो लेखको विषयवस्तु नभएकाले त्यस विषयमा यहाँ धेरै टिप्पणी गर्नु उपयुक्त र आवश्यक छैन । तर यी दुवै विषय सत्ता गठबन्धन कायम रहन नसकेर अघिल्लो निर्वाचनमा झैं संघ र प्रदेशको आगामी निर्वाचनमा पनि वाम गठबन्धन निर्माण हुन पुगे सम्भावित परिणाम यस्तो हुनेछ ।

यो सम्भावित परिणाम कांग्रेस नेतृत्वको दृष्टिमा पक्कै परेको नै होला । यी दुई चरम विन्दुका सम्भावना हुन् । तथापि कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा छ नै । त्यस्तो प्रतिस्पर्धामा सफलता प्राप्त गर्न दुवै दलको नेतृत्वमा दबाव छ । परिणामस्वरूप सिर्जना हुनसक्ने मौकापरस्त व्यवहार र निर्णयको व्याख्या फरक हुनसक्छन् ।

साथै यी दुवै प्रकारका चरम गठबन्धनबाट मधेशकेन्द्रित दलहरूको राजनीति पनि प्रभावित हुने प्रष्ट छ । अझ सत्ता गठबन्धन कायम रहेमा त्यस्तो गठबन्धनमा मधेशकेन्द्रित एउटा दल जसपा पनि आवद्ध भएका कारण लोसपाको राजनीति अत्यन्त जोखिम र द्विविधाग्रस्त स्थितिमा हुनु स्वाभाविक हो । लोसपाको विषयमा फेरि अलि पछि फर्कौंला । अहिलेलाई अर्को सम्भावित गठबन्धनको चर्चा गरौं ।

सत्ता गठबन्धनमा रहेका बाँकी दलहरूले कांग्रेसप्रति गरेको आलोचना सार्वजनिक नै छ । यस्तो आलोचना सत्ता गटबन्धन कायम रहेमा कांग्रेससँग ठूलो भाग लिन गरिएको चलाखीपूर्ण राजनीति मात्र हुनसक्छ । अन्यथा ती दलहरूले गठबन्धनको डुंगामा चढेर प्राप्त गरेको सफलता तात्कालिक मात्र हुनसक्छ । त्यसपछि पनि आ–आफ्नो राजनीतिक दलमा संगठन निर्माणको चुनौती कायम नै रहने कुरालाई हृदयंगम गर्दै नयाँ दल निर्माणका लागि वैकल्पिक राजनीतिको सुरुवात गर्ने दिशामा गम्भीरतापूर्वक सोच्न थालेको संकेत पनि हुनसक्छ ।

कुरा जे–सुकै भए पनि सत्तामा रहेका कांग्रेस बाहेकका दलहरू माओवादी, जसपा, एकीकृत समाजवादी र राजमोको समाजवादी गठबन्धन निर्माण गरेर कांग्रेस र एमालेसँग प्रतिस्पर्धा गर्ने सोच विकसित भएमा हुनसक्ने परिणाम पनि आकलन गर्नु सम्भावनाको राजनीतिको अर्को वैकल्पिक सम्भावना परीक्षणकै विषय हो । यदि त्यस्तो गठबन्धन निर्माण भए हुनसक्ने परिणाम यस्तो हुनेछ ।

समाजवादी गठबन्धन निर्माण भएको खण्डमा मधेश प्रदेशमा एमाले त प्रतिस्पर्धा बाहिर पुग्छ, तर आ–आफ्नो मधेश प्रदेशको राजनीति जोगाउनका लागि कांग्रेस र लोसपा एकजुट भएर प्रस्तुत हुनसक्ने मानी त्यसअनुसार सम्भावित परिणाम प्रस्तुत गरिएको छ ।

कांग्रेस लोसपा गठबन्धन निर्माण भएको खण्डमा संघीय निर्वाचन परिणाममा सीमान्त प्रभाव परे पनि मधेश प्रदेशमा दुई दलले १२ (कांग्रेसले १२ र लोसपाले १) बाट आफ्नो उपस्थिति बढाएर २८ सिटमा विस्तार गर्न सक्छन् । साथै लोसपा नेतृत्वमा लोकतान्त्रिक पृष्ठभूमिका नेताहरूको बाहुल्य पनि रहेकाले मधेश प्रदेशमा यस्तो गठबन्धनको सम्भावनालाई अस्वीकार गर्न सकिंदैन ।

यसरी विभिन्न प्रकृतिका गठबन्धनको सम्भावना र त्यस्तो गठबन्धन देशव्यापी नभएर प्रादेशिक तथा निर्वाचन क्षेत्र तहको वस्तुगत परिस्थितिका आधारमा पनि हुनसक्ने सम्भावनालाई संकेत गर्दछ । यी सम्भावनाको बावजुद समर्थनको आधार सानै भए पनि कांग्रेस बाहेकका सत्ताधारी दलहरूले वैकल्पिक समाजवादी गठबन्धन निर्माण गरेर आफ्नो राजनीतिमा तात्कालिक फाइदा प्राप्त गर्न सक्छन् । यसबाट उनीहरूलाई तत्कालीन फाइदा मात्र नभएर दीर्घकालीन रूपमा कांग्रेस र एमालेको विकल्पको शक्तिको रूपमा आफूलाई उभ्याउन सक्ने सम्भावना पनि प्रष्ट छ ।

समग्रमा गठबन्धन निर्माणको राजनीति विज्ञान होइन, कला हो । यसले नेतृत्वको व्यवहारवाद सँगसँगै दीर्घकालीन सोच रहे-नरहेको परीक्षण गर्छ भन्दा अतिशयोक्ति नहोला । आगे राजनीतिक नेतृत्वको कुशाग्रताको परीक्षण नै हो ।

लेखकको बारेमा
डा. मिनेन्द्र रिजाल

पूर्वमन्त्री समेत रहेका डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?