
३१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने भएको छ । महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले महानगरले आगामी आर्थिक वर्षदेखि कक्षा ८ सम्म दिवा खाजा विस्तार गर्ने जानकारी दिएका छन् ।
बाल कक्षादेखि ५ कक्षासम्म दिँदै आएको दिवा खाजा केन्द्र सरकारले कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य लिएर कक्षा ६ सम्म विस्तार गरेको छ । तर, काठमाडौं महानगरपालिकाले भने आगामी आर्थिक वर्षदेखि नै कक्षा ८ सम्म खाजा विस्तार गर्ने निर्णय गरेको छ ।
दिवा खाजा कार्यक्रमले विद्यार्थी भर्नादर बढाएको, बालबालिकाको स्वास्थ्य सुधार भएको अध्ययनले देखाएपछि विस्तार गर्ने निर्णय गरिएको अधिकृत सुवेदीले बताए । उनले भने ‘रिसर्चले दिवा खाजा कार्यक्रम अत्यन्तै प्रभावकारी भएको आयो । अर्को न्यून आयस्रोत भएका बच्चाहरुको हातमै पुग्ने भएकाले उदार भएरै महानगरले नै खर्च गर्ने हिसाबले बजेट राखेको छ ।’
केन्द्र सरकारले कक्षा ६ सम्म दिने प्रतिविद्यार्थी १५ रुपैयाँमा महानगरपालिकाले १० रुपैयाँ वृद्धि गरेर २५ पुर्याएको छ भने कक्षा ७ र ८ लाई पनि सोही अनुसार प्रतिविद्यार्थी २५ रुपैयाँ छुट्याएको शाखा अधिकृत सुवेदीले जानकारी दिए । शाखा अधिकृत सुवेदीको अनुसार दिवा खाजाको लागि मात्रै महानगरपालिकाले ९ करोड भन्दा बढी रकम बिनियोजन गरेको छ ।
तीन नयाँ कार्यक्रम परिक्षणको रुपमा अघि बढाउने
काठमाडौं महानगरपालिकाले तीन नयाँ परिक्षणको रुपमा अघि बढाउने तयारी गरेको छ । आगामी वर्ष महानगरपालिकाले बालबालिकालाई स्वरोजगार बनाउने उद्धेश्यले प्राविधिक शिक्षा तालिम, डिजिटल शिक्षा र विद्यालयमा नै विद्यार्थीको लकर बनाउने कार्यक्रम परीक्षणको रुपमा केही विद्यालयमा लागू गर्ने अधिकृत सुवेदीले जानकारी दिए ।
उनको भनाई अनुसार विद्यालय व्यवस्था सुधार, विद्यालय गुणस्तर सुधार तथा भौतिक पूर्वाधार निर्माणका लागि १० करोड बढी छुट्याएको छ । आगामी वर्षभित्र सबै विद्यालयमा आधारभूत पूर्वाधार निर्माण पुरा गर्ने लक्ष्य लिएर कार्यक्रम तय गरिएको अधिकृत सुवेदीले जानकारी दिए ।
शिक्षाको लागि मात्रै ७५ करोड बढी बजेट बिनियोजन भएको उनले जानकारी दिए । उनले भने ‘शिक्षा विभागकै लागि कम्ति भए पनि यो वर्ष महानगरको विद्यालय शिक्षामा ७५ करोड बढी लगानी हुन्छ ।’ शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने उद्देश्यले अहिलेसम्मकै ठूलो बजेट बिनियोजन गरिएको अधिकृत सुवेदीले जिकिर गरे ।
उनले भने ‘हामी शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने तहबाट गइरहेका छौं । लागू कत्ति गर्न सक्छौं, हेरौं ।’ बाँकी सञ्चालन भइरहेका कार्यक्रमहरु पनि निरन्तरता दिने महानगरको योजना रहेको छ ।
प्रतिक्रिया 4