+
+

प्राथमिकता भुलेर ‘सालिक मोह’

अमृत चिमरिया अमृत चिमरिया
२०७९ साउन १ गते ८:३९
हेटौंडा निर्माणाधीन दिव्य बाल उद्यानमा तोडफोड भएको मदन भण्डारीको सालिक । उद्यानमा दलका नेताको सालिक नराख्न स्थानीयवासीले माग गर्दै आएका थिए ।

१ साउन, काठमाडौं । हेटौंडा उपमहानगरपालिका-९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा राखिएको नेकपा (एमाले)का नेताहरू मदन भण्डारी र जीवराज आश्रतिको सालिक ८ वैशाख २०७९ मा तोडफोड भयो ।

नेताद्वयको सालिक कसले, किन तोडफोड गर्‍यो खुल्न सकेन, तर त्यसअघि बाल उद्यानमा दलका नेताहरूको सालिक नराख्न माग भएको स्थानीय बताउँछन् ।

हेटौंडाकै हुप्रचौरमा बनाइएको राजा वीरेन्द्रको सालिक पनि बेवारिसे छ । २०६२/६३ को आन्दोलनपछि बेवास्तामा परेको सालिकलाई झाडीले छोप्दै लगेको छ ।

उता बाग्लुङको मालढुङ्गामा शहीद स्मृति उद्यानका सालिकहरूको अवस्थाले आँखा बिझाउँछ । लाग्छ, शहीदप्रति सम्मान नभई उपहास गर्न यी सालिक राखिएका हुन् !

पूर्वमा झापाको भद्रपुर नगरपालिका-६ मा २०२४ सालमा बनाइएको आदिकवि भानुभक्त आचार्यको अर्धकदको सालिक सडकभन्दा तीन फिट मुनि पुगिसक्यो । हुलाकी सडक बनाउँदा सालिकसँगै सानो पार्क त जोगाइयो, तर संरक्षण गरिएन ।

यी केही उदाहरण मात्र हुन्, जसले देशभर सालिक राख्ने जोडबल र राखिसकेपछिको अवस्था देखाउँछन् । यो अवस्थामा पनि स्थानीय सरकारहरूले सालिक राख्ने होडबाजी जारी राखेका छन् । देशभर व्यक्ति विशेषदेखि रूख, फलफूल र तरकारीसम्मका ‘सालिक’को संख्या बढ्दो छ ।

२०६२-६३ सालपछि चलेको ‘सालिक लहर’ले कतिपय ठाउँमा झण्डै-झण्डै साम्प्रदायिक द्वन्द्वको अवस्था समेत निम्त्यायो । त्यस्तो द्वन्द्वको एउटा ज्वलन्त उदाहरण पोखरा हो ।

पोखराको पृथ्वीचोकमा रहेको राजा पृथ्वीनारायण शाहको सालिक विरोध हुँदाहुँदै जबर्जस्ती हटाएर प्रथम शहीद लखन थापाको सालिक राखियो । पछि आएर फेरि शहीदको सालिक हटाएर राजाको सालिक राख्न पृथ्वीचोकमा रातारात डोजर चलाउने काम भयो ।

चर्को विरोध भएपछि तत्कालीन मेयर मानबहादुर जिसीको त्यो प्रयास असफल भयो । अहिले चोकमा लखन थापाकै सालिक छ । जनजिब्रोमा भने ‘पृथ्वीचोक’ नै बसेको छ । लखन थापाको सालिक भएको चोकलाई मानिसहरू ‘पृथ्वीचोक’ भन्छन् ।

जिसीपछि पोखरा महानगरको मेयर बनेका धनराज आचार्यले चिप्लेढुंगामा बीपी कोइराला र शान्तिनगरमा पुष्पलाल श्रेष्ठकोे मैलाधैला सालिकमा माल्र्यापण गरेर पदबहाली गरे । पोखरामा झारपातले ढाकेका यस्ता मैलाधैला सालिक धेरै छन् ।

नेपालगञ्जको वीरेन्द्र चोकमा पनि पोखराकै जस्तो घटना भयो । गत २१ जेठमा स्वर्गीय राजा वीरेन्द्रको सालिक आफूखुसी पुनस्र्थापना गर्न त्यहाँ पुगेको समूहले प्रतिरोध भएपछि शहीद सेतु बिक चोक गएर सालिक भञ्जन गरे । त्यहाँ शाही शासनकालमा राखिएको तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिमा हटाएर शहीद बिकको सालिक राखिएको थियो ।

उपयुक्त ठाउँमा उपयुक्त पात्रको सालिक बनाएर उनीप्रति सम्मान जनाउनु सभ्यताको प्रतीक हो । तर, सालिक बनाएर उचित सम्भार-संरक्षण नगर्दा सम्मान नभई अपहेलना हुने त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका शिक्षक दिपेश बताउँछन् ।

‘तर, समकालीन नेपालमा त्यस्तो छैन’ उनी भन्छन्, ‘ठाउँ, कुठाउँ फोहोरमा ठड्याइएका सालिक आफैं विक्षिप्त भएर बसेजस्तो देखिन्छन् । यस्तो अपहेलनामा यत्रो लगानी किन गरिएको हो, बुझिन्न ।’

नेपालमा आफ्नो ‘आइडल’को सालिक ठड्याइहाल्ने अरूको भत्काइहाल्ने विल्कुलै गलत प्रवृत्ति हावी भएको केसी बताउँछन् । उनका अनुसार, जस्तासुकै पृष्ठभूमिका व्यक्तित्वको पनि बनिसकेको सालिक भञ्जन गर्नुहँुदैन बरु संरक्षण गर्नुपर्छ ।

‘जर्मनी, फ्रान्सलगायत विकसित देशका संग्रहालयहरूमा पछिल्लो समय-सन्दर्भमा अस्वीकृत शासक वा सामन्तहरूको सालिक जतन गरेर राखिएको भेटिन्छ’ उनी भन्छन्, ‘त्यसले भावी पुस्तालाई इतिहास बुझाउन सघाउँछ ।’

जारी छ सालिक लहर

२०७८ सालको स्थानीय तह निर्वाचनबाट उदाएका देशभरका स्थानीय सरकार प्रमुुखहरूमध्ये सबभन्दा चर्चित हुन्, बालेन्द्र (बालेन) साह । उनी नेपालको राजधानी समेत रहेको काठमाडौं महानगरपालिकामा कसैले नसोचेको लोकपि्रय मतसहित मेयर निर्वाचित भए ।

अस्तव्यस्त र बेथितिको थुप्रो हटाउन दलहरूको विकल्पमा अत्यधिक मत पाएका उनै मेयर साहले र्‍यापर यमबुद्धको सालिक निर्माणलाई आफ्नो कार्यसूचीमा राखेका छन् । भलै, यो योजनाका लागि सामाजिक सञ्जालमा उनको आलोचना पनि भएको छ ।

उनलाई सोधिएको छ- व्यक्तिगत खर्चमै भए पनि सार्वजनिक ठाउँमा सालिक बनाउँदा हुने लाभ के हो ? यमबुद्धको नाममा सालिकको सट्टा उत्पादनमूलक र सामाजिक कार्य गर्दा हुन्न र ?’

उता, मधेश प्रदेश सरकारलाई यस्तो प्रश्न कसले गर्ने ? जहाँ आगामी वर्ष सालिक र पार्क बनाउन साढे सात करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७८/७९ मा पार्क र सालिकहरू बनाउन गण्डकी प्रदेशले पनि बजेट विनियोजन गरेको छ ।

संघ, प्रदेश र स्थानीय सरकारहरूले सालिक निर्माणलाई विकासको रूपमा अथ्र्याउन खोजेका छन् । उनीहरूले स्वास्थ्य र शिक्षालाई भन्दा बढी महत्व सालिक, पार्क र भ्यूटावरलाई दिएको देखिन्छ ।

‘प्राथमिकता चिनौं’

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई भने देशभर मौलाएको ‘सालिक मोह’ देखेर चित्त बुझेको छैन । पालिकाहरूले आधारभूत आवश्यकता पूरा गरेर मात्र सालिक, गेट जस्ता कुरामा लगानी गर्नुपर्ने उनी बताउँछन् ।

‘यसका लागि सबभन्दा पहिला योजनाको प्राथमिकीकरण हुन पर्‍यो’, उनी भन्छन्, ‘सालिक, गेट जस्ता अनुत्पादक कुरालाई विकासको डालोमा राखेर लगानी गर्न मिल्दैन । सालिक बनाएपछि पर्यटन प्रवर्द्धन नै हुन्छ भने बेग्लै कुरा होला ।’

फेरि, कुनै व्यक्तिको सम्मानको लागि सालिक निर्विकल्प नहुने गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘सम्मान दर्शाउने दिगो र प्रतिफलमुखी विधिहरू पनि छन्’ उनी भन्छन्, ‘सबैले रचनात्मक ढंगले सोच्न जरूरी छ ।’

पूर्वाधारविज्ञ आशिष गजुरेल सरकार र जनप्रतिनिधिहरू जनताको आवश्यकताभन्दा व्यक्तिगत तुष्टिबाट अभिप्रेरित हुँदा अनुत्पादक क्षेत्रमा लगानी बढेको बताउँछन् ।

‘मूर्तिले जनतालाई फाइदा हुन्छ भने चोक-चोकमा ठड्याउँदा भयो, तर त्यसका लागि पहिला त फाइदा-बेफाइदाको अध्ययन गर्नुपर्‍यो’ उनी भन्छन्, ‘जनतालाई राम्रो सडक, गुणस्तरीय विद्यालय, विशेषज्ञसहितको स्वास्थ्य सेवा चाहिएको बेला सालिक, गेट वा भ्यूटावरमा लगानी खन्याउँदा व्यक्तिगत तुष्टि बाहेक अरू के फाइदा होला र !’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?