+
+

तिलोत्तमामा नगरसभा स्थगित गरेको विरोधमा एमालेको नाराबाजी

नगर सभा बैठकमा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले  हाजिर गर्न नदिई रजिस्टर कब्जा गरेर बैठक स्थगित गरेको एमालेको आरोप छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०७९ साउन १ गते १४:५५

१ साउन, बुटवल । नगरसभा बैठक स्थगित गरेको बिरोधमा तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको नगर सभा बैठक स्थगित भएको जानकारी गराएपछि  एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका हुन् । उनीहरुले नाराबाजी गरेपछि तिलोत्तमाको नगर कार्यपालिका कार्यालयबाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नगर सभा बैठकमा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले  हाजिर गर्न नदिई रजिस्टर कब्जा गरेर बैठक स्थगित गरेको एमालेको आरोप छ । एमाले जनप्रतिनिधिहरूले ज्ञवालीविरुद्ध नाराबाजी गर्दै उनको राजीनामा मागेका छ्न् ।

एमाले  जनप्रतिनिधिले गणपूरक संख्या पुग्दा पुग्दै बैठक स्थगित गर्नु गैर कानुनी काम भन्दै बैठक सञ्चालन गर्न माग गरेका छन् । एमालेबाट निर्वाचित वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेलले नगर प्रमुख रामकृष्ण खाँणले विधि, पद्धति र कानुन विपरीत बैठक स्थगित गराएको आरोप लगाए ।

नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ८ का वडाध्यक्ष ध्रुव न्यौपानेले एमाले जनप्रतिनिधि ढिला उपस्थित भएको बताए । ‘एमाले जनप्रतिनिधिहरु बैठक सुरु भएपछि मात्र उपस्थित भएकाले गणपूरक संख्या नपुगेको भनेर नगरप्रमुखले नगर सभा स्थगित गर्नुभएको हो’ उनले भने । तर एमालेबाट निर्वाचित जनप्रतिनिधि सुरेन्द्र श्री भने आफूहरु बैठक हुने समय १ बजे भन्दा अगाडि नै उपस्थित भएको दावी गर्छन् ।

तिलोत्तमामा नगर प्रमुख र १७ मध्ये ९ वडाध्यक्ष जितेको काङ्ग्रेस नगर कार्यपालिका र नगर सभामा अल्पमतमा छ । एमाले उपमेयर र ८ वडा अध्यक्षसहित नगरसभाको ४८ पद जितेर बहुमतमा छ ।

पटक पटक विवादका कारण नगर सभा स्थगित हुँदा तिलोत्तमाको बजेट पारित हुन सकेको छैन ।  नेपाली  काङ्ग्रेसका जनप्रतिनिधिले एमालेले न्यायिक समिति सदस्यहरू एमालेका मात्रै राख्न खोज्दा विवाद भएको बताएका छन् । न्यायिक समितिको संयोजक उपमेयर हुने व्यवस्था छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?