+
+

कांग्रेसको प्राथमिकतामै परेन नीति महाधिवेशन

लिलु डुम्रे लिलु डुम्रे
२०७९ साउन १ गते १९:२७

१ साउन, काठमाडौं । ‘नीति निर्माण तथा विधान पारित गर्न फरक फरक महाधिवेशन गर्न सकिनेछ । सो को लागि केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्ने व्यवस्था छ ।’

नेपाली कांग्रेसको विधानको धारा १७ (५) को यो व्यवस्था कार्यान्वयनको अवसर गत सोमबारदेखि जारी केन्द्रीय समिति बैठकलाई छ । तर, बैठकको एजेण्डामा नीति महाधिवेशनको विषय परेन भने धेरै केन्द्रीय सदस्यहरुले यो विषय उठाएनन् ।

नीति महाधिवेशनको विषयमा बैठकमा बोल्नेहरु नगन्य रहेको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् । नेता डा. शेखर कोइरालाले पनि आफ्नो १२ बुँदे लिखित धारणामा नीति महाधिवेशनको विषय उल्लेख गरेनन् ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र केही केन्द्रीय सदस्यले नीति महाधिवेशन गर्न नेतृत्वलाई दबाव दिए, तर सोमबार बस्ने केन्द्रीय समिति बैठकले यो विषयमा निर्णय गर्ने वा नगर्ने टुंगो छैन ।

गत मंसिरमा भएको १४ औं कांग्रेस महाधिवेशनले केन्द्रीय कार्यसमिति चयन गरेको थियो । नीति निर्माणका विषयमा छुट्टै नीति महाधिवेशन गर्ने निर्णय भने कांग्रेसले महाधिवेशनअघि नै गत कात्तिकमा गरेको थियो ।

कांग्रेसको महाधिवेशनमा नेतृत्व चयन प्राथमिकतामा पर्दा नीतिगत छलफल ओझेलमा परेको आवाज विगतदेखि नै उठ्दै आएको थियो । त्यसैले नीतिमाथि बहस गर्नका लागि छुट्टै महाधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको थियो ।

नीति महाधिवेशनको विधि तथा समय निश्चित गर्ने अधिकार केन्द्रीय समितिलाई छ । महाधिवेशनबाट पारित नीति हालको कार्यसमितिले कार्यान्वयन गर्नुपर्छ । नीति महाधिवेशन नहुँदा वर्तमान केन्द्रीय समितिको नीतिगत मार्गदर्शनसमेत प्रष्ट छैन ।

पहिलो पटक नीति महाधिवेशन गर्न लागिएकाले कुन विधि अबलम्बन गर्ने भन्नेमा कांग्रेस अन्योलमै छ । नीति महाधिवेशनमा महाधिवेशन प्रतिनिधिलाई नै सहभागी गराउने कि संख्या घटाउने बारेमा समेत कुनै विधि तय भएको छैन । पार्टीका तल्ला संरचनामा नीतिमाथिको बहस गर्ने पद्धति समेत निक्र्यौल हुन सकेको छैन । यो विषय टुंग्याउने थलो केन्द्रीय समिति नै हो ।

केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले भदौ दोस्रो सातासम्ममा नीति महाधिवेशन गर्न सकिने बताए । उनले त्यसके विधि, मिति र स्थान तय गर्न शर्माले केन्द्रीय समितिलाई सुझाव दिएका थिए ।

नीति महाधिवेशनको तयारीका लागि सभापति शेरबहादुर देउवाले पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । तर उक्त प्रतिष्ठानमा अरु सदस्यहरु तोकिएको छैन । पार्टीले तय गर्नुपर्ने नीतिका विषयमा प्रतिष्ठानले कार्यकर्तासँग छलफल, बहस, अन्तक्र्रिया मार्फत सुझाव संकलन गरेपछि त्यसैको आधारमा नीति महाधिवेशनको बाटो खुल्ने कांग्रेस नेताहरु बताउँछन् ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे भने सोमबारको केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनका विषयमा केही निर्णय गर्ने बताउँछन् । ‘नीति महाधिवेशनको मिति नै तोकिएको निर्णय हुँदैन । कुन विधिबाट गर्ने केही न केही निर्णय आउँछ’ उनले भने ।

बहस चलाउने निकायमा मूल नेतृत्व मात्रै

केन्द्रीय समितिले नीति महाधिवेशनको विधि तय गरेपछि त्यसको कार्यान्वयन गर्ने निकाय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान हो । विधान अनुसार उपसभापति उक्त प्रतिष्ठानको प्रमुख हुने र बढीमा ५१ जना सदस्य हुने व्यवस्था छ ।

प्रतिष्ठानका प्रमुखले सभापतिको सल्लाहमा वर्तमान वा पूर्व केन्द्रीय सदस्यमध्येबाट उपप्रमुख चयन गर्न सक्नेछन् । त्यस्तै सम्बन्धित विषयको जानकारलाई विज्ञ र निर्देशक तोक्न सक्ने अधिकार प्रतिष्ठानका प्रमुखलाई विधानले दिएको छ ।

‘पार्टीले अख्तियार गरेका र गर्नुपर्ने नीति तथा कार्यक्रम, मूलुकको समग्र हितका लागि पार्टीले लिनुपर्ने नीति, पार्टी संगठन सुदृढीकरण विस्तारका लागि आवश्यक अध्ययन, अनुसन्धान गर्ने÷गराउने’ प्रतिष्ठानको जिम्मेवारीबारे कांग्रेस विधानमा भनिएको छ ।

क्रियाशील सदस्य नवीकरण गर्नुपूर्व कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । तर, क्रियाशील सदस्यता अघि प्रशिक्षित गरिएको परम्परा भने छैन । देशव्यापी प्रशिक्षण गर्ने, कार्यकर्ता प्रशिक्षित गर्न पाठ्यक्रमको विकास गर्ने कामसमेत यसै प्रतिष्ठानको जिम्मेवारीमा छ ।

केन्द्रीय समितिबाट विधि टुंगो नलाग्ने र नीति प्रतिष्ठानले पूर्णता नपाउँदा कांग्रेसमा नीति महाधिवेशनबारे अन्योल कायमै छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल मूल नेतृत्वले महत्व नदिएकाले चुनावअघि नीति महाधिवेशन हुने सम्भावना कम रहेको बताउँछन् ।

‘चुनाव अघि हुने सम्भावना देखिन्न । नीति महाधिवेशनका बारेमा पार्टीभित्र कुनै छलफलको एजेण्डा समेत आएको प्रवेश पाएको छैन’, पोखरेलले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?