+
+

लोकतन्त्र जीवित राख्न बेलायतले सिकाएको पाठ

के भाजपाका ३०० भन्दा बढी सांसदमध्ये कसैसँग पनि पार्टीको बैठकमा प्रधानमन्त्रीले गरेका नोटबन्दी र प्रि-कोभिड लकडाउन जस्ता घातक नीतिहरूको आलोचना गर्ने साहस वा स्वतन्त्रता छ ?

रामचन्द्र गुहा रामचन्द्र गुहा
२०७९ साउन २ गते १७:०५

हार्वर्ड विश्विद्यालयका दुईजना प्राध्यापकले सन् २०१८ मा ‘हाउ डेमोक्रेसीज डाइ’ शीर्षकमा एउटा पुस्तक प्रकाशित गरे । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आश्चर्यजनक आरोहणबाट प्रेरित भएको उक्त पुस्तकले स्थापित पुरानो लोकतन्त्रले पनि आफ्नो राजनीतिक प्रणालीको निरन्तरतालाई सामान्य रूपमा लिन नहुने तर्क गरेको छ । मतदाताको मूल प्रवृत्तिलाई उक्साउने र संस्थाहरूको स्वतन्त्रतालाई बेवास्ता गर्ने कार्यले लोकतान्त्रिक प्रणालीलाई तुरुन्तै कमजोर बनाउन सक्छ ।

बेलायतका वर्तमान घटनाक्रमहरूमा आधारित रहेर ‘हाउ डेमोक्रेसीज सर्भाइभ’ अर्थात, लोकतन्त्र कसरी बाँच्छ शीर्षकमा त्यही पुस्तकको वैचारिक सिक्वेल लेखिनुपर्छ भन्ने विचारलाई प्रेरित गर्छ । जहाँ आफू सम्मिलित कन्जरभेटिभ पार्टीलाई आम निर्वाचनमा जित दिलाएका प्रधानमन्त्री बोरिस जोन्सनले साढे दुई वर्षपछि राजीनामा दिनुपरेको छ । 

बेलायतको आमनिर्वाचनमा दुई वा दुईभन्दा बढी दलहरू एक अर्काविरुद्ध मैदानमा उत्रिन्छन् । कन्जरभेटिभ पार्टीले डिसेम्बर २०१९ को चुनाव बोरिस जोनसनको करिश्मा र लोकप्रियताको आधारमा जित्यो । रमाइला वक्ता बाेरिसको कपाल र अनौपचारिक पोशाकले उनलाई ब्रिटिश मतदातासामु लोकप्रिय बनायो । उक्त चुनावमा उनको पार्टीले सन् १९८७ यता सबैभन्दा बढी सिट र १९७९ पछि सबैभन्दा बढी मत प्राप्त गरेको थियो । प्रमुख प्रतिपक्षी लेबर पार्टीले २०२ सिट मात्र जितेको थियो, जुन सन् १९३५ पछिको सबैभन्दा कम सिट हो ।

चुनावको सफलताले बोरिस जोनसनलाई आफ्नै पार्टीमा प्रभावशाली बनायो । पहिलोपटक विजयी जोनसन सांसदहरूबीच लोकप्रिय अगुवा बने । यसले नेतृत्वलाई आलोचनाभन्दा माथि बनायो । जोनसन स्पष्टरूपमा ट्रम्पको सफलताबाट प्रभावित थिए । उनको राजनीति केही हदसम्म उत्तेजक स्वभावका अमेरिकी नेताबाट प्रेरित थियो । उनले पार्टी संयन्त्रलाई बेवास्ता गर्दै जनतालाई प्रत्यक्ष अपील गरेका थिए । उनी आफ्नै क्याबिनेटका मन्त्रीभन्दा गैर-निर्वाचित सल्लाहकारहरूमा भर पर्थे । उनले ट्रम्पले जस्तै बेलायतलाई फेरि महान् बनाउने हल्ला गरेका थिए ।

सन् २०१९ को चुनावमा आफ्नो पार्टीलाई विजय गराउने नेतृत्व गरिरहँदा बोरिस जोनसन ५५ वर्षका थिए । तुलनात्मक हिसाबले उनी भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री हुँदाको उमेरभन्दा ८ वर्ष र अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदाको उमेरभन्दा १५ वर्ष कान्छा थिए ।

ग्लास्गो, स्कटल्याण्डमा २०२१ मा नरेन्द्र मोदी र बोरिस जोनसन

त्यो चुनावका बेलामा जोनसन आफू दुई वा तीन कार्यकाल सत्तामा रहने कल्पना गरिरहेका थिए होलान् । पार्टी र मतदाता युवा उमेरका जोनसोनको नियन्त्रणमा थिए । र, त्यो बेलामा प्रमुख प्रतिपक्षी लेबर पार्टी अस्तव्यस्त थियो । यसका बावजुद पनि बदनाम बनेका बोरिस जोनसनले आधा कार्यकाल सकिएलगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्‍यो । यो कसरी भयो ?

किनभने बेलायत अझै पनि आफ्ना विभिन्न लोकतन्त्रिक अंगहरूमार्फत् काम गरिरहेको छ । तीनले लोकतन्त्रको अस्तित्व रक्षाका लागि जवाफदेही बनाइरहेका हुन्छन । त्यसको एउटा उदाहरण, प्रेस हो । राजनीतिमा प्रवेश गर्नुअघि जोनसन ट्रम्प जस्ता थिएनन् । उनी सत्य लुकाउन माहिर थिए ।

लन्डनको मेयर हुँदा वा विदेश मन्त्री हुँदा उनको भड्काव प्रवृत्तिले खासै फरक पारेन । तर, प्रधानमन्त्रीको रूपमा उनी स्वतन्त्र मिडियाको कडा निगरानीबाट बच्न सकेनन् । जसले उनलाई कठघरामा उभ्यायो । त्यही भएर प्रधानमन्त्रीले महामारीमा जनताका लागि लकडाउन घोषणा गरेर आफू भने कर्मचारीसँग भोज गरेर नियम अतिक्रमण गरेको विषयले पत्रपत्रिका र टेलिभिजनमा व्यापक ठाउँ पायो । 

तुलनात्मक हिसाबले कमजोर लोकतन्त्रमा (जस्तै भारतको) भए प्रधानमन्त्रीको झूट र छललाई पत्रपत्रिका, रेडियो र टेलिभिजनले निगरानी गर्ने थिएनन् । बेलायतमा लेबर पार्टी र टोरीतर्फ केही पत्रिका झुकेका छन् । तर, सौभाग्यवश त्यहाँ सत्तारुढ राजनीतिज्ञबाट निर्देशन लिने ‘गोदी मिडिया’ छैनन् ।

मुद्दाहरू ठूला हुन् वा साना, ब्रिटिश संसदमा बहस हुन्छ । यो भारतीय संसदको भन्दा विपरित अभ्यास हो । यहाँ त महत्त्वपूर्ण विधेयकहरू समेत केही मिनेटमा पारित हुन्छन् भने प्रधानमन्त्रीले विपक्षीबाट उठेका प्रश्नहरूको जवाफ समेत दिनुपर्दैन ।

अर्कोतर्फ, बेलायतमा प्रधानमन्त्रीलाई प्रश्न गर्ने परम्पराकै कारण लेबर पार्टीका नेता केर स्टाररले बोरिस जोनसनलाई बारम्बार प्रश्न गरे । जसलाई आफ्नो प्रतिरक्षाको मौका पनि दिइएको थियो, यद्यपि उनका जवाफहरू न सन्तोषजनक थिए न त विश्वास गर्न लायक नै ।

लगातार दुई चुनावमा हारपछि कर्बिनलाई नेतृत्वबाट हटाउने र पार्टीलाई पुनः एकपटक प्रतिस्पर्धी बनाउने लेबर पार्टीको निर्णय विशेषाधिकारप्राप्त तर असक्षम ‘परिवार’ बाट मुक्ति पाउन नसकेको भारतको प्रमुख प्रतिपक्षी दलको अकर्मण्यताको भन्दा ठीक उल्टो छ ।

राहुल गान्धी मतलाई आकर्षण गर्न सक्दैनन् भन्ने प्रमाणित भइसकेको छ (आफ्नै परिवारको पकेट क्षेत्र मानिने ठाउँमा पुनर्निर्वाचित हुनसमेत उनी सफल भएनन्) । यद्यपि, उनी विगत करिब तीन वर्षदेखि ‘अन्तरिम’ पार्टी अध्यक्ष रहेकी आफ्नै आमाले निर्णय गर्नासाथ पुनः काङ्ग्रेसको अध्यक्ष हुने तयारीमा छन् । 

बेलायतमा ढिलै भए पनि लेबर पार्टीले जेरेमि कर्बिनको नेतृत्व रहुन्जेल कन्जर्भेटिभलाई मात्र लाभ हुने बुझिसकेको छ । तर, काङ्ग्रेसले कहिल्यै पनि पार्टीको नेतृत्व राहुल गान्धीको हातमा हुनु नरेन्द्र मोदी र भारतीय जनता पार्टीका लागि महानतम उपहार हो भन्ने बुझ्ने छैन । (यो लेख लेख्ने समयमा राहुल गान्धी फेरि बिदा मनाउन युरोप गएको खबर छ । यसले उनी भाजपाका लागि सबैभन्दा विश्वसनीय राजनीतिक सहयोगी हुन् भन्ने प्रमाणित गर्छ ।)

बेलायती प्रेसमा प्रधानमन्त्रीका यौन दुर्व्यवहारको पर्दाफास भएपछि संसदमा उनीमाथि आधिकारिक छानबिन गर्नुपर्ने बाध्यता थियो । ब्रिटिश प्रहरी र प्रशासनले  कुशलताका साथ यो अनुसन्धान सञ्चालन गरे । उनीहरूले सत्ता पक्षकै राजनीतिज्ञहरूको गल्ती औंल्याउन पछि परेनन् ।

यसले भारतसँग तुलना गरेर सोच्न बाध्य बनायो । सुशासनमा भएका कमजोरीबारे आधिकारिक छानबिनको त कुरै छाडौं, मोदी सरकारले महत्वपूर्ण विधेयकहरू समेत  संसदीय समितिमा पठाएन । पठाएकै भए पनि मोदीको नेतृत्वमा भारतीय प्रशासन यति डरपोक बनेको छ कि प्रधानमन्त्रीलाई खराब चित्रित गर्ने विषयलाई कहिल्यै पनि औपचारिक रूपमा अगाडि बढाउँदैनन् । 

संसदमा यस्तो अनुसन्धान र बहस चलिरहेका बेला बोरिस जोनसनले आफूलाई विश्वमा बेलायतको छवि उकास्ने राजनेताको रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक प्रक्रियालाई बाइपास गर्न खोजेका थिए । युक्रेनमा भएको रुसी आक्रमणको आडमा उनले कुटिल ढंगबाट आफू उत्पीडितहरूको साथमा रहेको दाबी गर्दै कीभको यात्रा गरे । मोदी जोनसनलाई ‘खास दोस्त’ मान्छन् ।  उनै मोदीसँग व्यापार सम्झौता गर्ने सिलसिलामा जोनसोन भारत पनि आएका थिए।

बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको वरिपरि आफ्नो छवि त्यसरी नै निर्माण गर्ने प्रयास गरे जसरी ट्रम्प र रिपब्लिकन एवम् मोदी र भाजपाले गरेका थिए । तर, उल्टो उनी सफल भएनन् । किनभने, बेलायतीहरूले नायकको पूजा गर्दैनन् । जसले दोस्रो विश्वयुद्धपछि विन्स्टन चर्चिललाई पनि अस्वीकार गरे । कन्जरभेटिभ पार्टीका सांसदहरू जोनसन उनीहरूको पार्टी नेता वा प्रधानमन्त्रीको हुन अयोग्य थिए भनेर औंल्याउन चाहन्थे ।

फेरि पनि भारतमा यसको ठीक उल्टो छ । के भाजपाका ३०० भन्दा बढी सांसदमध्ये कसैसँग पनि पार्टीको बैठकमा प्रधानमन्त्रीले गरेका नोटबन्दी र प्रि-कोभिड लकडाउन जस्ता घातक नीतिहरूको आलोचना गर्ने साहस वा स्वतन्त्रता छ ?

बोरिस जोनसनको पतन बेलायती लोकतन्त्रसँग जोडिएका संस्थाहरू प्रतिको सम्मान हो । मिडिया, संसद, प्रशासन, विपक्षी दल र सत्तारुढ दलले आफूले चाहेअनुसार काम गरेर बेलायती राजनीतिक प्रणालीलाई जीवन्त राख्दै त्यसलाई नवीकरण गर्न मद्दत गरेका छन् । अर्कोतिर भारतमा यी पाँच संस्थाहरू ध्वस्त छन् र सम्झौतापरस्त छन् । त्यसैले हामी अंग्रेजहरूलाई उनीहरूको साम्राज्यवादी विगतका लागि जति पनि गाली र दण्ड दिन सक्छौं । यससँगै, उनीहरूले आफ्नो लोकतान्त्रिक वर्तमानलाई कसरी सञ्चालन गरिरहेका छन् भन्ने शिक्षा पनि लिन सक्छौं ।  

(द टेलिग्राफइन्डियामा प्रकाशित आलेखको भावानुवाद ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?