२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विवादमा पार्टीकै नेताहरु जिम्मेवार रहेको निष्कर्ष निकालेको छ ।
अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा पूर्व अध्यक्षहरु रत्न ढकाल र नरेन्द्र न्यौपाने रहेको अध्ययन कार्यदलले पार्टीकै नेताहरुका कारण विद्यार्थी संगठनमा विवाद भएको निष्कर्ष निकालेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
अखिल क्रान्तिकारीमा विवाद बढ्दै गएपछि असन्तुष्ट नेता पवन कार्कीले १९ असारमा आफ्नै नेतृत्वमा १९९ जनाको राष्ट्रिय सम्मेलन आयोजक समिति घोषणा गरेका थिए ।
२५ असारमा बसेको माओवादी केन्द्रको स्थायी समितिले विद्यार्थी संगठनको विवाद अध्ययनका लागि ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलका एक सदस्यले पार्टीकै नेताहरुले विद्यार्थी नेतालाई उचालेकाले समस्या निम्तिएको अनलाइनखबरलाई बताए। ‘विद्यार्थीहरु आफैं उचालिएका होइनन्,’ उनले भने, ‘उचाल्नेले उचालेका हुन् । समस्या भनेको विद्यार्थीको मात्रै होइन । नेताहरुले उचालिरहेका छन्, त्यही भएर यस्तो समस्या भएको हो ।’
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह नेता जनार्दन शर्मा र महासचिव दिपेश पुन वर्षमान पुन निकट मानिन्छन् । समानान्तर गतिविधि संचालन गरिरहेका कार्की वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् ।
गत भदौमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदा पदाधिकारीको आकांक्षी नेताहरुको ‘इगो’का कारण पनि विवाद भएको कार्यदलका सदस्यहरु बताउँछन् ।
कार्यदलका संयोजक रमेश मल्लले आफूहरुले विद्यार्थीहरुलाई मिलाउन कोसिस गरिरहेको बताए । ‘हाम्रो उद्देश्य काउन्सिलिङ गरेर विद्यार्थीलाई मिलाउने हो’, उनले अनलाइनखबरसँग भने, ‘जति सक्यो साथीहरुलाई मिलाउने कोशिस गर्छौं । हामीले अध्ययन सकेर पार्टीमा रिपोर्ट गर्छौं ।’
प्रतिवेदन बुझाउने तयारी
संयोजक मल्लले विवाद गरिरहेका विद्यार्थीसँग दुई चरणमा छुट्टाछुट्टै छलफल गरेर प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार पारेको र फेरि छलफल गरेर टुंग्याउने बताए । ‘अध्ययनको प्रारम्भिक मस्यौदा बनिसकेको छ’, उनले भने, ‘एक दुई चरण छुट्टाछुट्टै छलफल भयो । अब आज सामूहिकरुपमा बसेर टुंग्याउँछौं ।’
समानान्तर गतिविधि सञ्चालन गरिरहेका कार्कीले कार्यदलले आफूहरुसँग एक–दुई चरण छलफल गरेको र सोमबार पनि छलफल गर्ने कुरा भएको बताए । तर, छिट्टै राष्ट्रिय भेलामा जानुपर्ने आफ्नो ‘बटमलाइन’ भएको बताए ।
‘हाम्रो बटमलाइन भनेको चाहिँ छिटो राष्ट्रिय भेला, सम्मेलनमा जानुपर्छ भन्ने छ । हाम्रो स्पष्ट कुरा छ । त्यो हामीले लिखित रुपमा कार्यदललाई पनि बुझाउँछौं’ उनले भने ।
अलिख क्रान्तिकारीमा महासचिव दिपेश पुनले कार्की पक्षले कनिष्ठहरुलाई पनि केन्द्रीय समितिमा ल्याउन खोज्दा समस्या भएको बताए । ‘राष्ट्रिय सम्मेलनदेखि केन्द्रीय समिति, पदाधिकारीसम्म पार्टीले अनुमोदन गरिसकेको हो’, पुनले भने, ‘त्यो अनुमोदनपछि उहाँसँग जोडिएका केही पदाधिकारी थप्नुपर्छ भनेर उहाँले भन्नुभएको छ ।’
कार्कीले नाम दिएका विद्यार्थी नेतालाई केन्द्रीय सदस्य बनाउने हो भने त्यही तहका अरु १ सय ५० जनालाई के गर्ने भन्ने समस्या रहेको पुनले बताए । ‘नमिलेको विषय भनेको चाहिँ उहाँसँग जोडिएका केन्द्रीय सदस्य साथीहरु हुनुहुन्थ्यो’, पुनले भने, ‘उहाँले भनेका ८, १० जना साथीलाई बनाउँदा त्यही तहका १५० जना कसाथीहरुलाई के गर्ने भन्ने कुरा पनि आउँछ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4