News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा १७ देखि २१ कात्तिकसम्म चौथो तिहार फ्लोरा एक्स्पो–२०८३ हुने भएको छ ।
- मेलामा ७३ स्टल रहने र करिब ३५ हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
- आयोजकले स्वदेशी उत्पादन बढाउन र नर्सरीजन्य वस्तुको परनिर्भरता घटाउन ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारा तय गरेको छ ।
१३ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको तिहार लक्षित गर्दै काठमाडौं भृकुटीमण्डपमा ‘चौथो तिहार फ्लोरा एक्स्पो–२०८३’ हुने भएको छ ।
नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा १७ देखि २१ कात्तिकसम्म पाँच दिने राष्ट्रियस्तरको पुष्प प्रदर्शनी तथा मेला हुन लागेको हो ।
स्वदेशी उत्पादनलाई बढावा दिने र नर्सरीजन्य वस्तुको परनिर्भरता कम गर्ने उद्देश्यसाथ यस वर्ष ‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ भन्ने मूल नारा तय गरिएको छ ।
मेला संयोजक तथा नर्सरी व्यवसायी संघ नेपालकी उपाध्यक्ष लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलङ्कारिक बिरुवा, कृषि, वन, जडीबुटी र फलफूल नर्सरीबाट उत्पादित बोटबिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने छ ।
यसका साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, औजार, उपकरण र प्रविधिका स्टलसमेत रहनेछन् ।
७३ स्टल रहने, ३५ हजारले अवलोकन गर्ने
मेलामा ६३ वटा व्यावसायिक स्टल, वनस्पति विभाग र पुष्प विकास केन्द्रसहित ६ वटा अफिसियल स्टल र प्रतिस्पर्धाका ४ वटा स्टल गरी कुल ७३ स्टल रहने आयोजकले जनाएको छ ।
मेलालाई करिब ३५ हजार दर्शकले अवलोकन गर्ने र १ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
मेलामा सहभागी व्यवसायीको क्षमता विकास र हौसला बढाउन स्वच्छ प्रतिस्पर्धा गराइ उत्कृष्टलाई शिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।
प्रतिस्पर्धाको मूल्यांकन गर्न कृषि बागवानी विज्ञ, वनस्पति विज्ञ र पुष्प विकास केन्द्रका प्रमुख सहित ३ सदस्यीय समिति गठन गरिएको छ ।
यस एक्स्पोको प्रवर्द्धकमा वनस्पति विभाग र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड छन् । त्यसैगरी बागमती प्रदेश सरकार (कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय), कृषि विभाग, पुष्प विकास केन्द्र र राष्ट्रिय फलफूल विकास केन्द्र सहआयोजकका रूपमा छन् ।
मेलालाई सेवा म्यानुफ्याक्चरिङ, ग्रिस्मा नर्सरी, उदय गार्डेन, सलोभ एग्रिकल्चर, कुमारी एग्रो र फ्लोरिकल्चर सहकारी लिमिटेड लगायतले विशेष सहयोग गरेका छन् ।
देशमा विद्यमान राजनीतिक अस्थिरता र आर्थिक मन्दीका कारण खस्किएको उद्यमी–व्यवसायीको मनोबल बढाउन र कृषि क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्नेतर्फ नयाँ पुस्ता आकर्षित गर्न यस मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।
प्रतिक्रिया 4