+
+

काठमाडौं-३० का वडाध्यक्षको आक्रोश : औषधि पाएको भए २५ सय कुकुर मार्थें

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ साउन २ गते १९:४१

काठमाडौं । आइतबार काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठकमा सामुदायिक कुकुरको विषयले प्रवेश पायो । सामुदायिक कुकुरलाई कसरी व्यवस्थापन गर्न सकिएला ? जनप्रतिनिधिहरुले यसमा सवालजवाफ गरे । यसै सिलसिलामा काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्की झोक्किएँ, ‘मैले त औषधि खोजिरहेको थिएँ तर बजारमा पाइनँ । नत्र भने एकै दिन २५ सय कुकुर मार्ने थिएँ ।’

कुकुर वा कुनै पनि अवोध पशुलाई नियोजित ढंगले मार्नु अमानवीय कृत्य मात्र होइन, कानुनी हिसाबले दण्डनीय पनि ।

‘कुकुरलाई मार्छु भन्नु पनि गैरजिम्मेवार भाषा हो । जनप्रतिनिधि जस्तो मान्छेले यस्तो भाषा प्रयोग गर्नु आफैंमा लाजमर्दो छ,’ वातावरण कानुनविज्ञ अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्छन्, ‘वडाध्यक्षलाई कुकुर मार्ने अधिकार छैन ।’ कुकुरको कारण कुनै समस्या भएको छ भने त्यसको व्यवस्थापन वा समाधानको अरु थुप्रै विकल्प छन् ।

काठमाडौंमा करिब २२ हजार सामुदायिक कुकुर छन्, बेवारिसे अवस्थाका । अधिकांश कुकुरले भरपेट खान पाउँदैनन् । उनीहरुको स्याहारसुसार र औषधि उपचार त परको कुरा । सहरवासीले थुप्रो बनाएको फोहोरको डंगुरमा भेटिएका खानेकुराबाटै सडक कुकुरहरु जेनतेन बाँचिरहेका छन् । यिनीहरुलाई न आराम छ, न सुरक्षा । गाडीले कुल्चिएर, तातोपानीले छ्यापेर, ढुंगाले हानेर, खुकुरीले काटेर धेरैजसो सडक कुकुर अंगभंग छन् ।

विजोग अवस्थामा रहेका यी कुकुरहरुलाई कसरी व्यवस्थापन गर्ने ? नगरपालिका एवं सम्बन्धित निकायसँग ठोस योजना छैन । अनियन्त्रित रुपमा बढ्दै गएको कुकुरको अब महानगरको ‘टाउको दुखाइ’ बन्दैछ । यही कुरालाई यसपालि महानगरको नगरसभामा उठाइएपछि वडाध्यक्ष कार्कीले ‘पहिले नै कुकुर मारिसकेको र अब पनि कुकुर मार्ने’ धम्की दिएका हुन् ।

सडक कुकुरका कारण स्कुटर दुर्घटना हुने स्थिति आइसकेको बताउँदै उनले भने, ‘हाम्रो वडामा राति कुकुरले मान्छेलाई लखेट्ने, गाडी, स्कुटर, मोटरसाइकललाई घेरा हालेर एक्सिडेन्टको स्थिति बनाउने भइरहेको सन्दर्भमा एउटा कार्यक्रम अन्तर्गत हामीले महानगरपालिकासँग सम्पर्क गर्‍र्यौं । त्यो कुकुरहरू संरक्षण गर्ने भन्ने कुरा भएको थियो । महानगरबाट हामी आउँछौं त्यो कुकुरहरू देखाउनुपर्‍र्यौं भन्ने कुरा आयो । हामीले ती कुकुरहरू देखायौं जसले मानिसहरूलाई बाटो हिंड्दा टोक्ने, झम्टिने गर्छन् ।’

उनले अगाडि भने, ‘महानगरबाट त्यो कुकुरलाई समातेर सुरक्षाका साथ पाल्ने भनेर लगियो  । तर केही महिला दिदीबहिनीहरूले रुवाबासी गर्नुभयो । महानगरमा घेराउ पनि गर्नुभयो रे, हामीलाई मुद्दा हाल्ने धम्की दिएर गएका छन् ।’

उनले बोलेका यी कुराको भिडियो अहिले बाहिरिएको छ । उनको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा विरोध भइहेको छ ।

कुकुरमाथि हिंसा गर्दा सजाय हुन्छ

वातावरण कानुनविज्ञ पदमबहादुर श्रेष्ठ भन्छन्, ‘कुकुरले दुःख दिएको छ भने उनीहरूलाई मार्ने भन्दा पनि व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ ।’

नगरसभामा काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष  कार्कीले  बोलेको कुरा एकदमै गलत भएको उनले बताए । कुकुरलाई मार्न विष खोजिरहेको छु भनेर सार्वजनिक स्थलमा सार्वजनिक पद धारणा गरेको व्यक्तिले त्यस्तो कुरा गर्नु भनेको गैरकानुनी हुने उनको भनाइ छ ।

कुकुरहरूले मानिसलाई झम्टेर टोकेर दुःख दिएको छ भने त्यस्ता कुकुरलाई व्यवस्थापन गर्ने  दायित्व चाहिं वडा कार्यालयको हो । ‘पहिले पनि कुकुर मारेको छु भन्नु भएको छ त्यसको प्रमाण छैन । अहिले मार्छु भनेर धम्की दिनु भएको छ त्यसको पनि केही सजाय छैन,’ श्रेष्ठ भन्छन्, ‘तर उहाँले धम्की दिए बमोजिम नै कुकुरहरूलाई मार्नुभयो भने तीन महिनासम्म जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय पाउने कानुनी व्यवस्था छ ।’

वडाध्यक्ष कार्की भन्छन्- कुकुरलाई मार्नुपर्छ

कुकुरले मान्छेलाई टोक्यो भने कि त व्यवस्थापन गर्नु पर्‍यो कि मार्नुपर्‍यो ।

केही वर्षअघि छाडा कुकुरहरूलाई  बन्ध्याकरण गर्ने, रेबिज खोप लगाउने र जहाँबाट लगेको हो त्यही लगेर छोडिदिने गरेको थियो । त्यसो गर्दा कुकुरहरूको संख्या नियन्त्रण भएको थियो । तर पाँच महिनाअघिदेखि भने मैतीदेवी क्षेत्रमा केही कुकुरहरूले आतंक नै मच्चाएको वडाध्यक्ष कार्की बताउँछन् ।

महानगरपालिकाले एउटा नीति ल्याएको छ । अति उद्दण्ड कुकुर जसले मान्छेलाई टोक्छ तिनीहरूलाई समातेर महानगरले सेल्टरमा राख्ने भन्ने व्यवस्था छ । त्यसैले वडा नम्बर ३० ले पनि कुकुर व्यवस्थापनको लागि महानगरमा पठाएको कार्कीले बताए । तर भोलिपल्ट १० देखि १२ जना महिला आएर वडा र नगरपालिका नै घेरा हाले । त्यो लगिएको कुकुरहरूलाई त्यही ल्याएर छाड्नुपर्छ भनेर दबाब दिए । त्यो कुकुरहरूलाई कारबाही गरेको खण्डमा मलाई नै जेलमा हाल्ने धम्की दिए ।

हाम्रो वडामा बसोबास गर्ने डा. सुन्दरलाल श्रेष्ठले एउटा आइसोलेटेड कुकुर पाल्नु भएको छ । त्यो  कुकुरले भुकेर रातभरि सुत्न दिंदैन भनेर उजुरी गरेका छन् । हामीले त्यो कुकुरको मालिक र छिमेकीलाई राखेर छलफल गरायौं । कुकुर मालिक मेरो घरमा पालेको कुकुर तिमीहरूलाई के वास्ता भन्छन् । अनि स्थानीय जनता वडा र पुलिसकहाँ जान्छन् । अनि वडाले के गर्ने त उनी प्रश्न गर्छन् ?

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?