+
+

जनसम्पर्क समिति दक्षिण कोरियामा विवाद, असन्तुष्ट पक्षको छुट्टै भेला

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १९:३९

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियामा विवाद चर्किको छ । समितिको संस्थापन पक्षले पार्टीको केन्द्रीय विधानविपरीत १० जुलाईमा विधान अधिवेशन गरेको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएको हो ।

६ महिनाअघि निर्विरोध निर्वाचित अध्यक्ष भजिन्द्र क्षेत्रीले एकलौटी ढंगबाट विधानमा उल्लेख नै नभएको विधान अधिवेशन गरेकाले उक्त संशोधित विधान खारेजीको माग गरिएको निवर्तमान प्रवक्ता सिताराम तिमल्सिनाले जानकारी दिए ।

असन्तुष्ट पक्षले जुलाई २४ का दिन कोरियाको राजधानी सिओलमा छुट्टै भेलाको आयोजना गरेर दबाबलाई थप ससक्त पार्ने जनाएको छ । १० गते गरिएको विधान अधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिविनै गैरकांग्रेसीहरू सहभागी गराएर विधान संशोधन गरिएको असन्तुष्ट पक्षको आरोप छ ।

२४ जुलाईका दिन छुट्टै भेलाको आयोजना गरेको उक्त पक्षले आफ्नो माग सुनुवाइ नभए केन्द्रमा निवेदन दिने तयारी गरेको तिमल्सिनाले बताए ।

यता समिति सभापति भजिन्द्र क्षेत्रीले ६ महिना पहिले अधिवेशन हलबाटै पारित गरिनुपर्ने संशोधित विधान विवादका कारण रोकिंदै आएकोमा अहिले पारित गरिएको बताए ।

उनले जनसम्पर्क समिति कोरियामा १५९ महाधिवेशन प्रतिनिधि रहेकामा जुम र प्रत्यक्ष गरी १०० जना प्रतिनिधिको उपस्थिति र  सहमतिमा विधान पारित गरिएको दाबी गरे ।

केन्द्रले प्रवास संगठनका लागि विधानमा तोकेका विषय र कोरियाको समितिको विधानमा रहेका विषय बाझिएकाले विधानमा एकरुपता ल्याउन विधान संसोधन गर्नुपरेको क्षेत्रीको भनाइ छ ।

केन्द्रको विधानमा प्रवास संगठनको कार्यकाल तीन वर्ष तोकिएको तर कोरियाको विधानमा दुई वर्षमात्र रहेको लगायत अन्य विषय पनि संसोधन गर्नु अपरिहार्य रहेकाले गरिएको अध्यक्ष क्षेत्रीले बताए । उनले  आफूले केन्द्रका नेताहरूको सल्लाह र सहमति मै उक्त अधिवेशन सम्पन्न गरेको बताए ।

समितिले विज्ञप्ति प्रकाशित गर्दै कोरियामा जनसम्पर्क समिति एउटामात्र भएकाले अन्य समूहले संस्थाको लागो प्रयोग गरी भेला गरेको पाइए कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?