+
+

वीरगञ्ज चिनी मिलको पशुपति मन्दिर व्यवस्थित गर्न माग

डीपीआर बनाएर काम गर्ने मेयर सिंहको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते २०:२८

२ साउन, वीरगञ्ज । वीरगञ्जको अलखिया मठ, वीरगञ्ज चिनी कारखानास्थित पशुपतिनाथ मन्दिरलगायत शिव मन्दिरको व्‍यवस्थापन गर्न व्यवस्थापन समितिले माग गरेको छ ।

सोमबार चिनी कारखाना परिसरको पशुपतिनाथ मन्दिरमा साउने सोमबारको पूजा गर्न पुगेका वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसँग पशुपति मन्दिर वीरगञ्ज चिनी कारखाना व्यवस्थापन समितिले यस्तो आग्रह गरेका हुन् ।

समितिले त्रिभुवन राजपथदेखि मन्दिरसम्म जाने र मन्दिर परिसर बाहिरबाट परिक्रमा गर्ने सडक कालोपत्रे गर्न, मन्दिर जाने बाटोमा पर्ने गेटको मर्मत गर्न, मन्दिर परिसरमा बत्ती हाल्न, नियमित सरसफाइ र सुरक्षित वातावरण बनाइ दिन आग्रह गरेको छ । मन्दिर अगाडिको खाली जमिनमा पोखरी खन्ने हो भने छठ पर्व मनाउन समेत सहज हुने स्थानीयबासिन्दाको माग छ ।

माधवराज भण्डारी चिनी कारखानाको अध्यक्ष तथा महाप्रबन्धक रहँदा २०४२ सालमा १४ कठ्ठा जमिन पशुपतिनाथ मन्दिरका लागि छुट्याइएको थियो । सञ्चालनमा रहँदासम्म मन्दिरको व्यवस्थापन कारखानाले नै गर्दै आएको थियो भने अहिले अव्यवस्थित बनेको छ ।

‘पशुपतिनाथ मन्दिर पहिला निकै आकर्षक थियो, पानीको फोहोरा चल्थ्यो, मन्दिर परिसरमा विभिन्न प्रजातिको फुलहरु फुलेका हुन्थे, चिनी कारखाना बन्द भएपछि बेवारिसे जस्तै बनेको छ’, वीरगञ्ज–१४ पिप्राका जयनाथ महतोले भने, ‘बिहान मर्निङ वाक गर्न मानिसहरु आउँछन, तर दिउँसो लागुपदार्थ सेवन गर्नेहरुको अड्डा बनेको छ ।’

यस्तै समितिका अध्यक्ष शम्भुप्रसाद चौरसियाले समितिसँग बजेट नभएका कारण सोचे अनुसार काम गर्न नसकेको बताए ।

महानगरका मेयर राजेशमान सिंहले मन्दिरमा व्यवस्थापन समिति भएको जस्तो नदेखिएको बताए । ‘मन्दिरको वरपर जता हेर्‍यो उतै समस्या नै समस्या मात्रै देखिन्छ । व्यवस्थापन समिति भएको जस्तो देखिन्न’, उनले भने ‘पूजापाठ गरेर मात्रै भएन, यसको संरक्षण पनि हुनुपर्छ ।’

समितिले प्रस्ताव लिएर आएको खण्डमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाएर मन्दिर क्षेत्रको विकास र सौन्दर्यकरणको काम गर्ने प्रतिबद्धता उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?