+
+

निर्वाचन खर्च विवरण पेश गर्न अटेर

महेश न्यौपाने महेश न्यौपाने
२०७९ साउन ३ गते ११:३३

३ साउन, रोल्पा । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा भाग लिएका मध्ये रोल्पाका अधिकांश उम्मेदवारले तोकिएको समय भित्र खर्च विवरण पेश गरेका छैनन् । मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको समग्र विवरण बुझाउनु पर्ने प्रावधान रहे पनि रोल्पाका अधिकांश जनप्रतिनिधिले उक्त प्रावधान लत्याएका छन् ।

जिल्लाको दश स्थानीय तहमा उम्मेदवार बनेका १ हजार २३३ मध्ये ५७४ जनाले मात्रै निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको नगरप्रमुखमा ५ र उपप्रमुखमा ४ जनाको उम्मेदवारी परेकोमा दुवै पदका चार/चार जनाले खर्च विवरण पेश गरेका छन् । नगर उपप्रमुखमा सबै उम्मेदवारले खर्च विवरण पेश गरे पनि नगरप्रमुखमा भने १ जनाले खर्च विवरण पेश गरेका छैनन् ।

यसैगरी ९ गाउँपालिका अध्यक्षका लागि ३६ जनाको उम्मेदवारी परेकोमा १३ जनाले मात्रै खर्च विवरण पेश गरेका छन् । उपाध्यक्षको प्रतिस्पर्धामा ३३ जना रहेकोमा खर्च विवरण वुझाउनेको संख्या ९ मात्रै रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ । अध्यक्षका २३ र उपाध्यक्षका २४ उमेदवारले खर्च विवरण पेश गरेका छैनन् ।

७२ वडाध्यक्षका लागि प्रतिस्पर्धा गरेका २४७ उम्मेदवार मध्ये ७० जनाले मात्रै खर्च विवरण पेश गरेका छन् । वडाध्यक्षमा प्रतिस्पर्धा गरेर खर्च विवरण पेश नगर्नेको उम्मेदवारको संख्या १७७ रहेको छ ।

१४४ वडासदस्य पदमा प्रतिस्पर्धा गरेका ४४१ मध्ये १२५ जनाले मात्रै खर्च विवरण पेश गरेका छन् । वडासदस्यमा प्रतिस्पर्धा गरेका ३१६ जनाले खर्च विवरण पेश गरेका छैनन् ।

७२ महिला सदस्य पदमा प्रतिस्प्र्धा गरेका २१२ मध्ये ६३ जना र ७२ दलित महिला वडा सदस्यमा प्रतिस्पर्धा गर्ने १८७ मध्ये ५५ जनाले खर्च विवरण पेश गरेका छन् । महिला सदस्यमा १४९ र दलित महिला वडा सदस्यका उम्मेदवार मध्ये १३२ जनाले खर्च विवरण पेश गरेका छैनन् ।

रोल्पामा विभिन्न तीन स्थानीय तहमा ३ जना दलित महिला सदस्य निर्विरोध भएका थिए । जिल्लाका सबै स्थानीय तहबाट मनोनित ६९ कार्यपालिका सदस्यमध्ये ७ जनाले मात्रै खर्च विवरण पेश गरेका छन् ।

तोकिएको समय भित्र निर्वाचन खर्च विवरण नबुझाए निर्वाचन आयोगले कानून अनुसार कार्वाही गर्ने व्यवस्था गरिएको छ ।

स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका सबै उम्मेदवार तथा कार्यपालिका सदस्यका उम्मेदवारले समेत निर्वाचन आयोगले तोकेको ढाँचामा बिल भपाई पेश गर्नुपर्छ । ‘उम्मेदवार स्वयं उपस्थित भएर वा प्रतिनिधि मार्फत पनि जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने व्यवस्था छ,’ जिल्ला निर्वाचन कार्यालय रोल्पाका सूचना अधिकारी लभलाइट वलीले भने ।

निर्वाचन आचारसंहिता, २०७८ अनुसार उम्मेदवारको खर्च सीमा निर्धारण गरेको छ । त्यसरी निर्धारण गरेको सीमा नाघेका केही खर्च विवरण सिष्टमले स्वीकार गर्न नमानेको वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?