
४ साउन, काठमाडौं । स्वीडिस स्टार जाल्टन इब्राहिमोभिच उमेरले ४० कटिसके । सन् १९९९ मा उनीसँगै क्लब फुटबलमा खेल्न लागेका खेलाडी अहिले मैदानमा भेटिँदैनन् ।
तर उनले भने इटालियन क्लब एसी मिलानमा एक वर्षको सम्झौता नवीकरण गरेका छन् । यसको अर्थ उनी जर्सी नम्बर ११ मा २०२३ जुन ३० सम्म एसी मिलानमै रहनेछन् ।
मिलानले जाल्टनसँग सम्झौता नवीकरणको स्टेटमेन्ट सार्वजनिक गर्दा एसी मिलान र इब्राहिमोभिच : कथा निरन्तर भनेर राखेको छ ।
मिलानमा दोस्रो स्पेल बिताइरहेका इब्राहिमोभिचले गत सिजन क्लबलाई ११ वर्षपछि पहिलो पटक लिग उपाधि जिताउन मद्दत गरे । यसलाई उनले आफूले गरेको वाचा पूरा भएको रुपमा बताएका छन् । र त्यसका लागि आफूले धेरै संघर्ष गरेको उनको भनाइ छ । लिग जितेपछि उनले घुँडाको शल्यक्रिया पनि गराए । उनले आफू ६ महिना बिरलै सुतेको बताएका थिए । उनले लिग जितेपछि गर्व लागेको भन्दै आफूले गुडबाइ नभन्ने बताएका थिए ।
अहिले पनि उनी पूर्ण रुपमा ठिक भइसकेका छैनन् । मे मा शल्यक्रिया गराएका इब्राहिमोभिच ८ महिना मैदान बाहिर बस्नुपर्ने बुझेर पनि मिलानले सम्झौता नवीकरण गरेर उनीप्रति सम्मान देखाएको हुन सक्छ ।
गत सिजन लिग जित्दा इब्राहिमोभिचले ८ गोल गरेका थिए । ११ वर्षअघि मिलानले लिग जित्दा पनि उनी एसी मिलानमै थिए । जतिखेर उनी बार्सिलोनाबाट लोनमा मिलान पुगेका थिए ।
गज्जबको अनुभव
सन् १९९९ मा माल्मोबाट सिनियर क्लब करियर सुरु गरेका इब्राहिमोभिचको बायोडाटाको अनुभवमा विश्वकै उत्कृष्ट क्लबको सूची छ ।
उनले नेदरल्याण्ड्सको अयाक्स, इटलीको युभेन्ट्स, इन्टर र एसी मिलान, स्पेनको बार्सिलोना, फ्रान्सको पेरिस सेन्ट जर्मेन, इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेड र अमेरिकाको मेजर लिग सकरमा एलए ग्यालेक्सी जस्ता विश्व चर्चित क्लबबाट खेलिसकेका छन् ।
उनले नेदरल्याण्ड्स, इटली, स्पेन र फ्रान्समा लिग पनि जितेका छन् । यस्तै इटलीको तीन फरक क्लबबाट लिग जितेका छन् ।
इब्राहिमोभिच स्वीडेनको पनि सर्वाधिक गोलकर्ता हुन् । उनले देशका लागि १२१ खेल खेल्दै ६२ गोल गरेका छन् ।
कसरी छन् फिट ?
व्यावसायिक फुटबल खेल्ने खेलाडी ४० को आसपासमै खेलाडीबाट प्रशिक्षक बनिसकेका हुन्छन् । तर इब्राहिमोभिच अझै पनि व्यावसायिक खेलमा उत्तिकै जमिरहेका छन् ।
त्यसका लागि आफूलाई तयारी अवस्थामा राख्न उनले फिटनेस र खानपानलाई विशेष ध्यान दिएका छन् । कडा वर्क आउट गर्छन् । इब्राहिमोभिच तेक्वान्दोका ब्ल्याकबेल्ट पनि हुन् । मैदानमा उनी कुम्फु स्टाइलमा समेत गोल गर्ने क्षमता राख्छन् ।
यो उमेरमा पनि आफूलाई फिट राख्न सक्नु उनको न्युट्रिसन प्लान नै हो । उनी के खाने के नखानेदेखि कुन टाइममा कति खाने भन्ने विषयमा निकै सजग छन् । उनले आफ्नो खानपिन योजनाका लागि पर्सनल सेफ राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4