+
+
अन्तर्वार्ता :

‘वाम गठबन्धनको ढोका खुला छ, प्रचण्ड र माधव नेपाल तयार हुनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते २१:३५

५ असार, काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराई आगामी चुनावमा वाम शक्तिहरुबीच तालमेल हुनुपर्ने पक्षमा छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अलग हुनासाथ वाम शक्तिहरुबीच तालमेल र एकताको ढोका खुल्ने उनी बताउँछन् ।

‘माधव नेपाल, प्रचण्ड लगायत वामपन्थी शक्तिले कांग्रेसको पुच्छर र टेको भएर हिंड्न हुँदैन । त्यहाँबाट बाहिर आउनुपर्छ र लेफ्ट अलायन्सका निम्ति तयार हुनुपर्छ’, भट्टराई भन्छन् ।

देशको राजनीतिलाई सही दिशामा हिँडाउन र राजनीतिक उपलब्धिको रक्षा गर्न पनि वाम शक्तिहरु एकठाउँ उभिनुपर्ने उनी तर्क गर्छन् । ‘विगतको समीक्षा गर्दै गरौंला । अहिले वर्तमान र भविष्य हेरौं । देश र जनता हेरेर अगाडि बढौं,’ उनी भन्छन्, ‘केपी ओली, प्रचण्ड र माधव नेपाल लगायतले इतिहासतर्फ भन्दा वर्तमान र भविश्य हेर्नुपर्यो । देश र जनता सम्झेर समझदारी गर्नुपर्‍यो ।’

प्रस्तुत छ, एमाले नेता भट्टराईसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय चुनावको नतिजाबारे एमालेको निर्णय बाझिएको छ । एकातिर प्रमुख शक्तिका रुपमा अनुमोदन भएको र अर्कातिर दोस्रो हुनु पर्नाको कारणबारे अध्ययन गर्ने निर्णय गरेको छ । एमाले ह्याप्पी कि स्याड मूडमा छ ?

नेकपा एमाले जनशक्तिका हिसाबले सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि सबैभन्दा ठूलो दल हो । प्रदेशहरुमा पनि एमाले नै ठूलो दल हो । पालिकामा प्रमुख र उपप्रमुखमा प्राविधिक कारणले अधिकांश स्थान अरुले जितेपनि एमाले शक्तिशाली छ । त्यसैले एमालेले मन खुम्च्याउनुपर्ने र हिनताबोध पालेर हिँड्नुपर्छ भन्ने ठान्दैन । ठान्न पनि हुँदैन ।

स्थानीय चुनावमा हामीले सोचेजस्तो परिणाम नआउनुमा मुलतः तीन कारण रहे । पहिलो, गठबन्धन । गठबन्धनको उद्देश्य एमालेलाई हराउने मात्रै रह्यो । त्यसैअनुसार तारतम्य मिलाउने काम गरे । दोस्रो, पार्टीभित्रको आन्तरिक समस्या । तेस्रो, सत्ताको चरम दुरुपयोग गरियो । तर पनि अहिलेको परिणाम हात पार्न सफल भयौं ।

जुनसुकै तर्क गरेर पनि कार्यकर्तालाई पार्टी कमजोर भएको छैन भन्ने सन्देश दिन त विरोधाभासपूर्ण निष्कर्ष निकाल्नु भएको होला नि ?

एमाले कार्यकर्ता त्यति कमजोर छैन । लामो संघर्ष, अध्ययन, अभ्यास र अनुभव हामीसँग छ । त्यसकारण हाम्रा कार्यकर्ता आफैंले बुझिहाल्छन् । अहिलेको सत्ता गठबन्धन कसरी भयो भन्ने कार्यकर्ता पंक्तिले राम्रै बुझेका छन् ।

अनुभवी कार्यकर्ताले पार्टी विभाजनको कारणले पनि एमाले दोस्रो शक्ति बन्यो भन्ने पनि बुझेको होला नि ?

विभाजनको असर सानो अंशमा होला, मूल होइन । तर यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ । एमाले पंक्ति त्यही रुपले अगाडि बढेको छ । केन्द्रदेखि स्थानीय कमिटी चुनावको तयारीमा जुटेको छ । स्थानीय चुनावमा देखिएका कमजोरी, चुनौती र आन्तरिक समस्या समाधान गरेर सुसंगठित अगाडि बढेका छौं । आगामी चुनावमा एमालेलाई विजय गराउने गरी तयारी भइरहेको छ ।

पाँच वर्ष अगाडि एमालेको लोकप्रियता बढ्दो थियो । अन्य पार्टीहरु एमालेमा विलय हुनेदेखि तालमेल गर्दै थिए । अहिले ठीक उल्टो अवस्था छ । एमाले एक्लिएको छ, कसरी जित्ला ?

सही शक्ति कहिलेकाहीँ एक्लो बन्न पनि सक्छ, तर त्यो पार्टीले हरेश खाँदैन । अझ एमालेसँग जनताको समर्थन छ । त्यसकारण एमाले पंक्तिले हरेश र निराश हुनुपर्दैन ।

यो त मन बुझाउने कुरा भयो । किनभने अस्ति स्थानीय चुनावमै नेपाल परिवार दलदेखि राप्रपासँग गठबन्धन गर्नु भएको होइन ?

कसैले सँगै हिँड्न चाहन्छौं भन्यो भने हामीसँग हिँड्न पाउँदैनौं भन्ने कुरा भएन । किनकि एमाले देशको ठूलो शक्ति हो । तर एमालेलाई हिँड्न लौरो र उभिन टेको चाहिने अवस्था छैन ।

त्यसो भए एमालेले कसैसँग तालमेल गर्दैन, आउने चुनाव एक्लै लड्छ ?

जनतालाई विश्वास गरेर अगाडि बढेको पार्टी भएकाले एमाले एक्लै हुन्छ भन्ने पनि नहुन सक्छ । किनकि हिजो पनि माओवादीसँग तालमेल भएकै दिन मात्रै थाहा भयो । फेरि तालमेल हुनै सक्दैन भन्ने होइन ।

यदि देशको राजनीतिलाई सही दिशामा हिँडाउने हो र नेताहरु इमान्दार हुनुहुन्छ भने माओवादीको सिंगो पंक्ति, प्रचण्ड र माधव नेपाल लगायतले सोच्ने बेला आयो । हामीले जुन परिवर्तन गरेका छौं, त्यो परिवर्तन संस्थागत गरेर लैजाने हो भने देशमा दक्षिणपन्थको बाटो हिँड्न हुन्न । त्यसले राजनीतिक उपलब्धिमा खतरा उत्पन्न हुन सक्छ । उपलब्धिको रक्षा र संस्थागत विकास गर्न कमजोरी स्वीकारेर वामहरु एकठाउँ हुनुपर्छ । यो जनताको चाहना हो ।

एमालेले पनि सोच्नुपर्ने बेला आयो होला नि !

एमालेले वाम शक्तिहरु एक हुने ढोका कहिल्यै बन्द गरेको छैन । कम्युनिष्ट आन्दोलनलाई मात्रै होइन, लोकतान्त्रिक आन्दोलनलाई समेत संगठित गरेर लैजानुपर्छ भन्ने प्रयास एमालेले गरेकै छ ।

हामी सरकारमा हुँदा राष्ट्रियताको मुद्दामा देशलाई एकताबद्ध गर्ने एमाले नै हो । कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयमा देशले गर्नुपर्ने निर्णयमा कम्युनिष्टहरुसँगै, सिंगो राजनीतिक शक्तिहरुलाई एकताबद्ध गरेर हिँडाउने शक्ति हो, एमाले । त्यसकारण तालमेल र एकताको ढोका एमालेले कहिल्यै बन्द गर्दैन ।

प्रचण्ड, माधव नेपाल र वामदेव गौतमहरुले त एकता प्रयत्न गर्न बैठक नै बस्नुभयो, समस्या त एमालेमै देखियो नि, होइन ?

उहाँहरु एकता गरेरै हिँड्नुभयो भने पनि केही भएन । आपत्ति जनाउनुपर्ने विषय होइन । तर देशलाई धोका नदिनुहोस्, जनतालाई धोका नदिनुहोस् । मुद्दामा राजनीति गर्नुहोस्, स्वार्थमा नगर्नुहोस् । निजी हितका निम्ति मात्रै नसोंच्नुहोस् । देशलाई शीरमा राखेर हिँड्नुहोस् । परिवर्तनको उपलब्धि जोगाउने गरी र देशको राजनीतिलाई सही ट्र्याकमा लैजाने गरी हिँड्नुहोस् ।

कांग्रेसलाई शीरमा राखेर परिवर्तन सुरक्षित हुँदैन । देशको राजनीतिले सही दिशा लिन सक्दैन । समाजवादको आधार तयार पार्ने काम पनि हुन सक्दैन । बितेको वर्षदिनमै त्यो देखियो । गठबन्धन सरकार अयोग्य, असफल र असक्षम भयोे ।

कांग्रेस नेतृत्वको गठबन्धनबाट अलग बनाएर प्रचण्ड र माधव नेपाललाई विचल्ली पार्न खोजेको भन्नेहरु पनि छन् नि ?

धोकाको राजनीति एमालेले कहिल्यै गर्दैन । अध्यक्ष केपी शर्मा ओलीले सही भन्नुभएको छ– आजको राजनीतिको केन्द्रीय कार्यभार भनेको संविधानको सही कार्यान्वयन हो । विकास र समृद्धिमा केन्द्रित राजनीति हो ।

राष्ट्रियता र स्वाधीनताको अभियानलाई बलियो बनाउने राजनीति हो । कांग्रेसको पछि लागेर केन्द्रीय कार्यभार पूरा हुन सक्दैन । तपाईंहरुले (प्रचण्ड र माधव नेपालले) ढिला नगरीकन गलत बाटो छोडिदिनुहोस् । कांग्रेसको पछि लागेर वामपन्थी हुन सकिँदैन । देशको राजनीतिलाई सही दिशामा हिँडाउन सकिँदैन, त्यसैले तपाईंहरु वापन्थी हुनुहोस् ।

त्यसो भए वाम तालमेल र एकताका लागि एमाले खुला छ ?

सतप्रतिशत खुला छ । आजको आवश्यकता पनि त्यही हो ।

तर माधव नेपालका निम्ति एमालेको ढोका कहिल्यै खुल्दैन भनेर केपी ओलीले घोषणा गर्नुभएको छ । यस्तो पृष्ठभूमिबीच तालमेल र एकता सजिलो होला र ?

पार्टी विभाजन गरेर हिँडेको, अर्को पार्टी बनाएको बेलाको बोली र अब मिल्नुपर्छ भनेको बेलाको बोली फरक होला नि ! विवाद भएको बेला उहाँहरुले के भन्नुभयो, हाम्रो अध्यक्षले के भन्नुभयो, हामीले के भन्यौं भन्ने कुरा महत्वपूर्ण होइन ।

परिस्थिति बदलियो, त्यसैले अब अध्यक्ष केपी ओली वाम तालमेलको पक्षमा हुनुभयो भन्न खोज्नुभएको हो ?

कांग्रेसको पछाडि लाग्दा केही मान्छे मन्त्री होलान्, केही मान्छे नियुक्त होलान् । तर राष्ट्र निर्माणको बाटो त्यो होइन । कांग्रेसले आजको २१औं शताब्दीको नेपालको नेतृत्व गर्न सक्दैन, राष्ट्रिय कार्यभार पूरा गर्न सक्दैन । त्यसैले हामी कम्युनिष्टहरुले सोच्नुपर्छ । एमाले देश, वामपन्थी आन्दोलन र लोकतान्त्रिक आन्दोलनको नेता हो, एमालेले त्यसरी सोंच्छ ।

तर प्रचण्ड–माधव नेपालले वाम आन्दोलनमा केपी ओली समस्या हुन् भनिरहेका छन् ।

प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गर्नु संविधान मास्नु हो ? चुनाव भनेको प्रतिगमन हो ?

त्यसको व्याख्या इतिहासमा होला । तर, प्रतिनिधिसभा विघटन गलत हो भनेर केपी ओलीले स्वीकार्नुपर्छ भन्ने बटमलाइन त प्रचण्ड र माधव नेपालले छोड्नु भएको छैन ?

हो, इतिहासको समीक्षा गर्दै गरौंला । अहिले वर्तमान र भविश्य हेरौं । देश र जनतालाई हेरेर अगाडि बढौं । केपी ओली, प्रचण्ड र माधव नेपाल लगायतले इतिहासतर्फ भन्दा वर्तमान र भविष्य हेर्नुपर्यो । देश र जनता सम्झेर समझदारी गर्नुपर्यो ।

आजको आवश्यकता वाम तालमेल हो भन्नेबारेमा एमाले सचेत छ ?

सचेत छ । देशको कार्यभार अगाडि बढाउने कुरामा एमाले जिम्मेवार छ । प्रमुख शक्ति भएकाले एमालेले जिम्मेवारीपूर्वक सोचिरहेको छ ।

माधव नेपाल, प्रचण्ड लगायत वामपन्थी शक्तिहरु कांग्रेसको पुच्छर र टेको भएर हिँड्न हुँदैन । त्यहाँबाट बाहिर आउनुपर्छ र लेफ्ट अलायन्सका निम्ति तयार हुनुपर्छ । त्यसो हुँदा तालमेल गरेर पनि जान सक्छौं ।

भनेपछि राजनीतिक एजेण्डाबाट धर्मराएको एमाले ट्र्याकमा फर्कियो ?

एमाले जनतामा आधारित पार्टी भएकाले खुट्टा लुलो बनाउनुपर्ने, धर्मराउनुपर्ने आवश्यकता छैन । त्यस्तो स्थिति पनि होइन । तर देशको राजनीति सही दिशामा हिँडाउन सकेसम्म धेरै शक्तिहरु एकताबद्ध भएर जानुपर्ने हुन्छ । राष्ट्रिय कार्यभार सही ढंगले कार्यान्वयन गर्न धेरै भन्दा धेरै राजनीतिक शक्तिलाई सुधारेर लैजानुपर्ने छ । उनीहरुलाई गलत बाटोमा हिँड्न दिनु हुँदैन ।

त्यसैले देशका लागि कति लचकता अपनाउनुपर्छ, एमाले तयार छ । तर एमालेलाई डराएको, धर्मराएको, चुनावमा हारिन्छ कि भनेर उपायको खोजी गरेको रुपमा नबुझ्नुहोस् ।

तर संविधान र व्यवस्था जोगाउन बनेको वाम–लोकतान्त्रिक गठबन्धन आउने २० वर्षसम्म टिकाउँछौं भनेर प्रचण्डले भनिसक्नुभयो र सरकारले तदनुरुप काम गरेको दाबी गर्नुभएको छ नि ?

परमादेशबाट गठबन्धन सरकार बनाइसकेपछि के गर्नुभयो ? विकास निर्माणको काम ठप्प छ, विकास खर्च ५७ प्रतिशत मात्र छ । असारे खर्च कटाउँदा ४५ प्रतिशत हुन्छ । राष्ट्रिय गौरवका आयोजनाहरु ठप्प छ ।

काम अगाडि बढेको छैन, महँगी बढिरहेको छ, वैदेशिक मुद्रा सञ्चितिको अवस्था दयनीय बनिरहेको छ, उद्योगधन्दा बन्दै हुँदै गएका छन् । अर्थतन्त्रको स्थिति डमाडोल छ । प्रदेश सरकारको अवस्था उस्तै खराब छ । कुनै पनि राजनीतिका अंगहरु सही ढंगले परिचालन भएको छैन । जनतामा निराशा, असन्तुष्टि र आक्रोश छ ।

वाम–लोकतान्त्रिक गठबन्धन सरकार ठीक छैन ?

यो अभिशप्त सरकारले देशलाई दिशा दिन सक्दैन । देशको नेतृत्व लिन सक्दैन । मुद्दा मामला गरेर अहिले नेतृत्व लिएको छ । तर देशलाई सही दिशा दिन सकिरहेको छैन । फेरि जनता भ्रमित गरेर त्यस्तो अवस्था आउन दिन हुन्न ।

भ्रमित गरेर त नभन्ने कि ! गठबन्धन भएपछि एमालेले जित्ने सम्भावना नै कम हुन्न र ?

हुँदैन । गठबन्धन हुनासाथ जनता त्यतैतिर लाग्छन् भन्ने हुँदैन ।

०७४ मा एमाले र माओवादीको गठबन्धनलाई त जनताले साथ दिए नि ?

हामीले सही ढंगले काम गरेका थियौं । यो गठबन्धन सरकारले के राम्रो काम गरेको छ र मत दिनलाई !

मतदाताको निर्णय त्यसैबेला देखिएला । तर चुनावी मैदानमा वाम शक्तिहरु मिलेर उभिन्छन् कि एमाले एक्लै हुन्छ भन्ने लाग्छ ?

के हुन्छ होइन, के हुनुपर्छ भन्ने कुरा गर्छु । माधव नेपाल, प्रचण्ड लगायत वामपन्थी शक्तिहरु कांग्रेसको पुच्छर र टेको भएर हिँड्न हुँदैन । त्यहाँबाट बाहिर आउनुपर्छ र लेफ्ट अलायन्सका निम्ति तयार हुनुपर्छ । त्यसो हुँदा तालमेल गरेर पनि जान सक्छौं ।

यदि त्यसो भएन भने देशको कार्यभार एमाले बाहेकले पूरा गर्न सक्दैन । व्यक्तिगत रुपमा केपी ओलीलाई प्रधानमन्त्री बनाउने गरी जनताले सोच्दछन् भन्ने ठान्छु ।

वाम गठबन्धन वा एमाले एक्लै लड्ने मध्ये कुन चाहिँ प्राथमिकतामा राख्नु हुन्छ ?

लेफ्ट अलायन्स भएर जाँदा सहज हुन्छ, स्वाभाविक हुन्छ । फेरि उहाँहरुले जुन सपना देख्नुभएको थियो, त्यो पूरा भएन । कांग्रेसलाई नेतृत्व दिएर देशको राजनीतिलाई दिशा दिने कुरा गर्नुभयो, सफल भएन । भोलि पनि हुनेवाला छैन ।

कांग्रेसले त केन्द्रीय समितिबाट आगामी चुनावपछि पनि सरकारको नेतृत्व लिने निर्णय गरिसक्यो । कांग्रेसकै निर्णय अनुमोदन हुनेगरी जाने कुराले देशको अभिभारा पूरा हुन सक्दैन । कांग्रेसले आजको नेपालको नेतृत्व लिन सक्दैन ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?