+
+

पोखरीजस्तो भयो बुटवलको मुख्य सडक (फोटो फिचर )

टोपराज शर्मा टोपराज शर्मा
२०७९ साउन ५ गते १४:१२

५ साउन, बुटवल । ३० असारमै निर्माण पूरा हुनुपर्ने बुटवलको मुख्य बजार क्षेत्रको सडकका खाल्डाखुल्डीमा पानी जमेर पोखरीजस्तो बनेको छ ।

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक विस्तार निर्माण व्यवसायीले बेलैमा नसकेका कारण वर्षा हुनेवित्तिकै सडक वारपार गर्न कठिन हुने गरेको छ । सडकको सबैभन्दा दुर्दशा लुम्बिनी प्रादेशिक अस्पतालको मुख्य गेट अगाडि भएको छ । जहाँ अलि ठूलो वर्षा हुने वित्तिकै सडक तालजस्तो बन्छ ।

यस्तै पुष्पलालचोक, ट्राफिकचोक, आदर्शनगर चोक, गोलपार्क र चौराहा पनि ठूला ठूला खाल्डाका कारण मोटरसाइकलमा यात्रा गर्नेहरु दुर्घटनाको जोखिममा पर्छन् । सडक जीर्ण हुँदा अस्पताल आउने बिरामी पनि प्रभावित भएका छन् ।

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो । तर अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिएको छ ।ठेक्का पाएको कन्चनजंघा÷बिरुवा जेभीका व्यवसायी सुवित श्रेष्ठलाई रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको जोडबलमा २०७८ असार १८ गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर २०७९ असार मसान्तसम्म काम सक्ने लिखित प्रतिवद्धता गराइएको थियो । तर त्यसपछि पनि ठेकेदारले गतिका साथ नियमित काम नगर्दा सडकको दुर्दशा भएको हो ।

असार मसान्तसम्म करिब २६ प्रतिशत मात्रै भौतिक प्रगति भएको बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक झाले बताए । सडक निर्माण पूरा नहुंदा वर्षायाममा हिलाम्य र हिउदमा धुलाम्य भएर सडक प्रयोगकर्ताले सास्ती ब्यहोर्न वाध्य छन् । सडक भत्केका कारण व्यवसायीहरु पनि मारमा परेका उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे बताउँछन् ।

४७ करोड २७ लाख रुपैयाँमा सडक निर्माणको सम्झौता भएकामा पछि लागत बढाएर ५३ करोड ९८ लाख रुपैयाँमा सम्झौता गरिएको छ । दोस्रोपटक थपिएको म्याद पनि सकिएपछि पुनः म्याद थपका लागि निर्माण व्यवसायीले चलखेल गरिरहेका छन् । केही राजनीतिक दल र नागरिक समाजले उक्त कम्पनीको ठेक्का रद्द गरी कारवाही गर्नुपर्ने माग गरिरहेका छन् ।

ठेकेदार कम्पनीले करिब १४ करोड रुपैयाँ भुक्तानी लगिसकेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?