+
+

प्रकाशमानको आग्रह– दम्पतीको डिभोर्स रोकें, पढाइलेखाइ समस्या परे पनि भन्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १०:२७
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह । फाइल तस्वीर

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने आश्वासन दिएका छन् ।

एक दम्पत्तिको छोडपत्र हुनै लागेको समस्या पनि समाधान गरिदिएको भन्दै उनले कुनै पनि समस्या परे जानकारी दिन आग्रह गरे ।

आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सन्तानको पढाइलेखाइ वा छात्रवृत्तिमा समस्या आए पनि भन्न आग्रह गरे ।

समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधि सभाका सबै तहका जनप्रतिनिधिहरु मिलेर समाधान गर्न तत्पर रहेको बताउँदै उनले भने, ‘तपाईंहरुको समस्या हामीलाई भन्नुपर्यो । हामीसँगै बसेर प्रबलमलाई सल्भ गर्छौं ।’

उनले भने, ‘यही वडाको क्षेत्रको लोग्ने–स्वास्नीको एकदमै डिभोर्स हुन लागेको थियो । केटीका बुवा–आमाले मसँग भन्नुभयो, तपाईं जनप्रतिनिधि यसो कुरा गर्दिनुपर्यो भनेर । मैले पनि कुरा गरें । कुरा गरेपछि समाधान भयो ।’

उनले थपे, ‘खाली पोलिटिकल, पूर्वाधार विकास, ढलको समस्या मात्र होइन, तपाईंहरुको घरमा, छोरीको पढाइलेखाइमा, स्कलरसिपको बारेमा भन्नुपर्यो । भनेपछि न हामीलाई थाहा हुन्छ । घरैपिच्छे के प्रबलम छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन नि त । तर तपाईंहरुले जनप्रतिनिधिहरुलाई विश्वास गरेर भन्नुपर्यो ।’

काठमाडौंमा रहेको बेला बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा शुक्रबार र सोमबार आफू पुग्ने गरेको भन्दै कुनै समस्या आए आफूलाई जानकारी दिन आग्रह गरे ।

अर्को एक प्रसंगमा उनले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकीर गरे । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ ।

उनले भने, ‘संसद विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौं भनेर सब प्रोग्राम बनाएँ । पैसा पनि छुट्याएँ, एक्स्पर्टहरु लगाएँ, डिजाइन पनि गरें । पछि कुरा उठेछ, यस्तो राम्रो काम गर्यो भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन ।’ यसबाट आफूले मात्र राम्रो काम गर्छु भन्दैमा जनताले त्यसमा समर्थन नगरेमा नहुँदो रहेछ भन्ने अनुभव हासिल गरेकोसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?