+
+

रविले कुन राजनीतिक सिद्धान्त बोक्ने हुन् ?

स्वतन्त्रताभित्र पनि अनुशासनहरू हुन्छन् । दुर्भाग्य नेपालमा स्वतन्त्र हुनुको अर्थ अनुशासनविहीन हुने भन्ने बुझिएको छ । यदि उनले मुलुकलाई स्वतन्त्रता र अनुशासनको अर्थ बुझाएर पार्टीलाई अनुशासित बनाउन सके भने सफलता पाउने सम्भावना नकार्न मिल्दैन ।

शशि पौडेल शशि पौडेल
२०७९ साउन ५ गते १७:१०

रवि लामिछानेले पार्टी दर्ता गरेको एक महिना हुन लाग्यो । यी चार हप्तामा उनको राजनीतिक गतिविधि सञ्चारमाध्यममा प्रायः नगन्य देखियो । उनले पार्टी खोल्दै गर्दा अर्थात् पार्टी घोषणा कार्यक्रममा आफू बाहेक अरू कसैले नेपालमा स्थायित्व ल्याउन नसक्ने बताए ।

त्यति मात्रै भनेनन् कि उनले प्रधानमन्त्रीको निक्र्योल गरेर चुनाव लड्ने अर्थात् प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क पनि गरे । उनका यस्ता अभिव्यक्तिका कारण उनलाई चितवनको पुडासैनी घटनादेखि साथ दिंदै आएका केही युवाले साथ छोडेका छन् । रविले त्यो घोषणा कार्यक्रममा यस्तो दम्भ प्रस्तुत नगर्नुपर्थ्यो ।

रविले त्यो बेला अर्थात् चितवन घटनामा प्रशस्त युवाबाट समर्थन पाए । उनलाई सार्वजनिक रूपमै राजनीतिमा आउन आग्रह पनि गरे । रविको ध्यान त्यो बेला त्यतातिर गएन । उनलाई सायद त्यो बेला पारिवारिक समस्या थिए । सायद चन्दाबाट रकम संकलन गरिसकेका थिएनन् । सायद रवि रकम जम्मा गर्नेतिर लागे । अथवा कुनै राजनीतिक आड लाग्ने बाटो अर्थात् थाँक्रो भेट्टाउनतिर लागे । दिनहरू बिते, रविमा आत्मविश्वास बढ्दै गइरहेको थियो ।

संयोगवश स्थानीय निर्वाचन भयो र त्यसमा केही स्वतन्त्र व्यक्तिहरू निर्वाचित भए । यिनीहरूमध्ये काठमाडौंको मेयर बालेन शाह थिए । रविले केही रकम जम्मा गरिसकेको अनि बालेन साहको निर्वाचनले उनलाई हौस्यायो । बालेनले त चुनाव जित्छन् भनें म त यति लामो समयदेखि पत्रकारिता गरेको र यति धेरै समर्थक र श्रोता भएको मान्छेले एक चुट्कीको भरमा चुनाव जित्छु भन्ने हौसला आयो । रविले भारतको राजनीति पनि बुझ्दै आएका छन्, जहाँ केजरीवालले भारतीय राजधानीमा राज्य गर्न सक्छन् भने मैले नेपालमा किन राज्य गर्न नसक्ने भन्ने उनीमा आँट पलाएको हुनुपर्छ ।

हर व्यक्तिलाई आफूले गरिरहेको कामबाट अर्को काममा छलाङ हान्न तीन प्रकारको मोटिभेसनको जरूरी पर्छ ।

१. आन्तरिक मोटिभेसन (प्रेरणा), यो मैले माथि नै लेखिसकें । २. बाह्य मोटिभेसन, उनले कहाँबाट बाह्य मोटिभेसन ल्याएका छन् त्यो कसैलाई थाहा छैन । उनी पत्रकारिता क्रममा कुन कुन शक्तिसँगको सम्पर्कमा थिए त्यो कुरामा भर पर्छ । सामान्यतया नेपालको राजनीतिलाई हेर्दा प्रायः राजनीतिक पार्टीहरूले विदेशीको आडमा मुलुक तवाह पारेका छन् । ३. वातावरणीय मोटिभेसन, यो उनलाई आजभन्दा ५/६ वर्ष अघि बरु वातावरणले साथ दिएको थियो ।

जुन वातावरण त्यो बेला थियो त्यस्तो अहिले छैन । किनभने त्यो बेला उनलाई राजनीतिमा आउन आग्रह गरेका थुप्रै युवा अहिले कतिपय विदेशिइसकेका छन् भने कतिपयले आफ्नो राजनैतिक घर बसाइसकेका छन् र कतिपय युवाहरू उनको पार्टी घोषणासभामा पुगे र उनको दोधारे नीति देखेर उनको समर्थनबाट भाग्न चाहे ।

यो ठीक हो कि उनको वाक्पटुता, सीधा प्रश्न गर्न नडराउने, सीधै विषयवस्तुमा जाने र समस्यालाई खोतलेर अगाडि बढ्ने बानीले केही मान्छेबाट उनले अवश्य प्रशंसा बटुले । तर त्यसरी बटुलेको प्रशंसा र समर्थन चुनावमा भोट लिन पर्याप्त हुँदैन । उनको सीधा, प्रष्ट र दमदार तिखो बोलीले बटुल्ने प्रशंसा र निर्वाचनमा भोट लिने कुरा दुईजोर जुत्ता जस्तै हो जुन एकैचोटि खप्टेर लगाउन सकिंदैन अर्थात् मिल्दैन ।

नेपालमा बहुदलीय व्यवस्थाभित्र निर्वाचन हुन थालेको तीनदशक नाघ्यो । अहिले नेपालको डेमोग्राफिक तथ्यांकको कुरा गर्ने हो भने बहुसंख्यक भोट हाल्नेहरूको संख्या त्यो बेला पञ्चायतका विरुद्ध लडेका, लड्न सघाएका र लडेको देखेकाहरूको पुस्ता छ ।

त्यतिबेलाका बालसुलभहरू अर्थात् २०३०, ४० र ५० को दशकमा जन्मिएका पुस्ता या त विदेशतिरै लागिसके या त विद्यार्थी संगठन वा राजनीतिक पार्टीहरूबाट प्रतिबद्ध भइसकेका छन् । रविका लागि कति ठूलो युवाहरूको संख्या बाँकी रह्यो होला सायद उनले यसबारे चिन्तन गरेका छैनन् । रवीन्द्र मिश्रले यही तथ्यलाई बुझ्न र राजनीतिको प्रष्ट धार दिन ढिलो गरेकाले उनका लागि अहिलेको अवस्था आएको नकार्न सकिन्न ।

हाम्रो मुलुकको राजनीतिमा एउटा भ्याकुम छ । त्यो के भने हाम्रा विद्यमान पार्टीहरूमा वामपन्थ अनि मध्यदक्षिणपन्थ एवं राजतन्त्र अर्थात् दक्षिणपन्थको प्रतिनिधित्व छ । तर स्वतन्त्र लिवरल चिन्तनको भ्याकुम अझैसम्म बाँकी छ । रविले वामपन्थ रोज्दैनन् भन्ने मेरो अनुमान हो किनभने उनी त्यो चरित्रबाट हुर्केका व्यक्ति होइनन् ।

राजतन्त्रतर्फ उनको मोहभंग भइसकेको बुझिन्छ । नेपाली कांग्रेस मध्यदक्षिणपन्थी हो यसले न त दक्षिणपन्थको प्रतिनिधित्व गर्छ न वामपन्थको नै वा लिवरल डेमोक्र्याटको । बीपीको प्रजातान्त्रिक समाजवाद शेरबहादुर देउवासम्म आइपुग्दा इतिहासको गर्भमा लुकिसक्यो ।

विकसित मुलुकहरूमा स्वतन्त्र पार्टीहरू स्थापित छन् । जर्मनीमा एफडीपी फ्री डेमोक्रेटिक पार्टी केन्द्रीय सरकारको क्वालिसनमा छ । त्यस्तै बेलायतमा लिवरल डेमोक्र्याटहरूले आफूलाई स्वतन्त्र पार्टी मान्छन् । अष्ट्रेलियामा १९०४ मै स्वतन्त्रबाट जर्ज रिड प्रधानमन्त्री भएका थिए त्यस्तै दोस्रो विश्वयुद्ध सकिनासाथ स्वतन्त्र लिवरलहरूबाट गठन भएको सरकारले बीचमा १/२ पिरियडको ग्याप भए पनि ८० को दशकको सुरुसम्म सरकारमा बसेका थिए ।

स्वतन्त्रताभित्र पनि अनुशासनहरू हुन्छन् । दुर्भाग्य नेपालमा स्वतन्त्र हुनुको अर्थ अनुशासनविहीन हुने भन्ने बुझिएको छ । जस्तै लोकतन्त्रको नाममा १९९० देखि मनपरी तन्त्र चलेको छ । यस अर्थमा स्वतन्त्र पार्टी खोल्यो भनेर रविलाई आएको आलोचना तुकहीन छ । यदि उनले मुलुकलाई स्वतन्त्रता र अनुशासनको अर्थ बुझाएर पार्टीलाई अनुशासित बनाउन सके भने सफलता पाउने सम्भावना नकार्न मिल्दैन ।

होइन आलोचना तुकहीन छ भनेर ढुक्क परेर जसरी यो महिना निदाएको भान परेको छ त्यसरी नेपाली जनतामा निदाएको भान पारे भने हामीमा परिवर्तन हुनेछैन, नेपाली जनता र नेपालमा पनि कुनै परिवर्तन हुने छैन । यदि उनले मध्यमार्गी भएर विकल्प दिन सके र राजनीतिको त्यो भ्याकुम भर्न सके भने अवश्य थाक्नुपर्ने छैन ।

एडुवार्ड बर्नस्टाइन नामक एक दार्शनिकले मार्क्सवादलाई सुधार गर्नुपर्छ भन्ने चिन्तन सार्वजनिक गरे । बर्नस्टाइन सामाजिक प्रजातान्त्रिकवादका मुख्य चिन्तक थिए ।

कार्लमार्क्सका अनुसार आर्थिक संकटका कारण पूँजीवाद एवं मध्यम वर्ग संकटमा फस्दै जान्छन् र मजदूर वर्ग निर्धन र दुःखी हुँदै जान्छन् जसका कारण उनीहरूमा एकता बढ्छ र क्रान्तिकारी संगठनको निर्माण हुँदै जान्छ । यसरी निर्माण भएको क्रान्तिकारी संगठनद्वारा निर्देशित क्रान्तिले समाजवादको बाटो हुँदै साम्यवादसम्म पुग्न सक्षम गराउँछ र साम्यवाद दीर्घजीवी रहन्छ भन्ने थियो । तर विश्वमा क्रान्तिको अवस्था उनले गरेको व्याख्या भन्दा अलि फरक ढंगले विकास भयो अर्थात् अलग्गै रह्यो ।

बर्नस्टाइनले अघि सारेको चिन्तन सामाजिक प्रजातान्त्रिकवाद जर्मनी र विश्व पूँजीवादीहरूले जर्मनी कम्युनिस्ट आन्दोलनमा मात्र नभई विश्व कम्युनिस्ट आन्दोलनका विकल्पका रूपमा प्रयोग गरे । बर्नस्टाइनले क्रान्तिकारी वर्ग संघर्षको सट्टा तात्कालिक समाज सुधार र समाजको आमूल परिवर्तनका निम्ति वर्ग संघर्षको स्थानमा आपसी सहयोग एवं संसदीय संवैधानिक बाटोतर्फ जोड दिए ।

बर्नस्टाइनको उक्त विचारलाई पुनरावृत्तिवाद भनेर चिनिन्छ । पश्चिमेली मुलुकहरूमा अझ विशेष गरी जर्मनीमा पुनरावृत्तिवाद हाबी हुँदै गयो एकातिर भने अर्कोतिर पूर्वी जर्मनी लगायत कम्युनिस्ट मुलुकमा सत्तामा आसीन व्यक्तिहरूले मार्क्सवाद, लेनिनवादको मुख्य सन्देश जनसमक्ष पुर्‍याउन असफल भए ।

उनीहरूले मार्क्सवाद लेनिनवादलाई मानव समाजको आवश्यकता एवं जीवन दर्शनका रूपमा प्रस्तुत नगरी जबर्जस्ती अर्थात् तानाशाहीका रूपमा अगाडि बढाए । जनतालाई विचार, वाक् र छलफल गर्न पाउने स्वतन्त्रता जस्ता न्यूनतम आवश्यकताबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भयो ।

समाज परिवर्तनशील छ भन्ने बुझ्दा बुझ्दै पनि परिवर्तित परिस्थिति, परिवर्तित पूर्वाधार, परिवर्तित प्रविधि र परिवर्तित संचार प्रक्रियालाई कम्युनिस्ट राज्यहरूले स्वीकार गर्न र त्यस अनुसार आफूलाई ढाल्न सकेनन् । अर्कोतिर सर्वसाधारण जनतामा बर्नस्टाइनको उक्त विचार पुनरावृत्तिवादले प्रभाव पर्नु स्वाभाविकै थियो ।

राज्य जडसूत्रवादी भई कार्ल मार्क्सले व्याख्या गरेको निषेधको निषेध सिद्धान्तलाई आत्मसात् गर्ने नाममा पानी जमेर वरफ बन्छ र वरफ पग्लेर पुनः पानी बन्छ भन्ने वैज्ञानिक सिद्धान्त बुझ्न सकेनन् । यद्यपि यसलाई बुझ्नु वा स्वीकार गर्नु कार्ल मार्क्सले व्याख्या गरेको निषेधको निषेध सिद्धान्तलाई स्वीकार नगर्नु भन्ने थिएन । समाजवादलाई देश, काल र परिस्थिति अनुसार मानव समाजको विकास सँगसँगै विकास गर्दै लैजानुपर्ने आवश्यकतालाई व्यवहारमा उतार्न सकेनन् ।

मैले यहाँ रविलाई यही बाटो लिउन् भनेर यो दृष्टान्त दिएको होइन ताकि उनले नेपालको वर्तमान अवस्थाको मूल्यांकन गरेर एउटा कुनै सिद्धान्त अंगीकार अवश्य गर्नेछन् र नेपालको भूराजनीति र जनताको आवश्यकतालाई बुझेर आफ्नो राजनीति अगाडि बढाउने छन् ।

अथवा उनले ब्रिटिश दार्शनिक एवं राजनीतिज्ञ जोन एडुवार्ड मिलले प्रतिपादन गरेको उदारवाद एवं स्वतन्त्र भएर पनि अनुशासित राजनीति हुन्छ भन्ने सिद्धान्तलाई अँगाल्ने हुन् यो चाहिं उनीमा भर पर्छ । यदि उनले यसो गरे भने खासगरी नेपाली कांग्रेस र राप्रपाहरूलाई कुनातिर धकेल्दै जानेछन् र उनको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्नेछ ।

र उनका प्रमुख प्रतिद्वन्द्वी नेकपा एमाले लगायत वामपन्थीहरू हुनेछन् । माओवादी पार्टीहरू युरोपका अहिलेका पार्टीहरू जस्तै साना साना खुम्चिएर बस्नेछन् भने नेकपा एस या त एमालेमा फर्किनुपर्ने हुनेछ या त बर्नस्टाइनको विचार पुनरावृत्तिवादलाई अँगाल्नुपर्ने हुनेछ ।

विचार गरौं हामी कुनै बाटो अगाडि हिंडिरहेका छौं, जाँदा जाँदै यदि एउटा विन्दुमा पुगेपछि बाटो टुंगिन्छ अर्थात् अगाडि अजंगको पर्खाल छ भने यतिखेर हाम्रा अगाडि दुईवटा विकल्प रहन्छन् । प्रथम र सजिलो विकल्प त्यहाँबाट फर्किने र दोस्रो अनि अलि कष्टकर विकल्प पर्खाल फोडेर पारि जाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?