+
+
Shares

रास्वपाबाट सुमनाको विद्रोह

'जेनजी आन्दोलनका उपलब्धी संस्थागत गर्न लाग्नेछु, पछिको कुरा अहिले सोचिसकेको छैन'

रवि लामिछानेविरुद्धको आरोपमा सिंगो पार्टी नै बचाउमा उत्रियो । यस्तो प्रवृत्तिविरुद्ध आवाज उठाउनेलाई लामिछाने र उनका समर्थकले उल्टै निशानामा पार्न थाले । त्यसैले सुमना श्रेष्ठले रास्वपाभित्र हुर्किएको निरंकुशतन्त्र र नेतृत्वको देवत्वकरणविरुद्ध विद्रोह गरेकी छन् । यो विद्रोहको लहरो अझै तानिन सक्छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८२ भदौ २९ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गर्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरिन्।
  • सुमना श्रेष्ठले पार्टीभित्र आलोचना गर्दा मिडिया ट्रायल भएको र गल्ती नस्वीकार्ने नेतृत्वप्रति प्रश्न उठाएकी छन्।
  • सुमना श्रेष्ठले जेन–जी आन्दोलनका उपलब्धी संस्थागत गर्न लाग्ने र सरकारमा जाने कुरा निराधार भएको बताइन्।

२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद एवं पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले परित्याग गरेको घोषणा गर्दै पार्टीबाट अलग भएकी छन् ।

उनले आईतबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पार्टी छाडेको घोषणा गरेकी हुन् । उनले लेखेकी छन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छोडेँ ।’

उनले स्पष्ट रुपमा पार्टी नेतृत्व अर्थात रास्वपा सभापति रवि लामिछानेप्रति संकेत गर्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ’ उनले लेखेकी छन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन ।’

उनले नाम र पद नतोकी पार्टी नेतृत्वप्रति संकेत गर्दै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीले बोकिदिनुपर्ने भन्दै प्रश्न उठाएकी छन् । पार्टीभित्र आलोचना गर्नेमाथि मिडिया ट्रायल भएको भन्दै त्यसप्रति आक्रोश पोखेकी हुन् ।

आफ्नो पार्टी नेतृत्वमाथि प्रश्न उठाएकी उनले कांग्रेस एमाले लगायतका नेताहरुमाथि पनि सन्देश दिएकी छन् ।

‘कांग्रेस/एमाले लगायतका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी नेतृत्वको ब्योहोराले हो’ उनले सामाजिक सञ्जालको पोष्टमा लेखेकी छन्, ‘किन त्यो बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’

पार्टीभन्दा माथि व्यक्ति

सहकारी ठगीको आरोपमा मुछिएका रवि लामिछाने सर्वोच्च अदालत समेतको आदेशका कारण थुनामा छन् । लामिछाने सहकारी ठगीको आरोपमा लागेदेखि नै रास्वपाले संस्थागत रुपमा नै उनको बचाउ गरेको थियो ।

संसद्मा प्रश्न उठ्दादेखि सहकारी छानबिन विशेष समिति गठन र अनुसन्धानमा समेत रास्वपा उनीमाथिको व्यक्तिगत आरोपलाई पार्टीमाथिकै आरोपको रुपमा व्यवहार गर्दै प्रतिवाद गरिरह्यो ।

अदालतले थुनामा पठाएपछि समेत रास्वपाले लामिछानेको न्यायका लागि भन्दै देशव्यापी रुपमा हस्ताक्षर संकलन गर्‍यो । रास्वपा स्रोतका अनुसार, ‘ती सबै क्रियाकलापमा उनको कुनै न कुनै असन्तुष्टि थियो ।’

पछिल्लो एक वर्षयता सुमना श्रेष्ठले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर सांसदको भूमिकामा केन्द्रित हुन चाहेकी थिइन । पटकपटक राजीनामा दिन चाहेकी उनलाई कहिले रवि लामिछानेको पक्राउ कहिले उनीविरुद्धको मुद्दाले व्यवधान गरेको थियो ।

पार्टीमा बुझाइएको राजीनामाबारे कुनै निर्णय नगरी अन्यत्र चुहाइएको भन्दै उनले ४ वैशाख, २०८२ मा पार्टी सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसक्रममा उनीमाथि सामाजिक सञ्जाल र अन्यत्र कैयौं व्यक्तिगत लाञ्छना र अन्य आरोपहरु सार्वजनिक भएको थियो, जसलाई उनले ‘मिडिया ट्रायल’ भनी संकेत गरेकी छन् ।

सहकारीदेखि कारागारसम्म

लामिछानेविरुद्धको मुद्दा, उनको थुनादेखि उनको कारागार सरुवा जस्ता प्राविधिक विषयलाई समेत रास्वपाले आफ्नो मुद्दा बनाएको थियो । गत सोमबार देशव्यापी फैलिएको जेन–जी आन्दोलनपछि प्रदर्शनकारीहरुको एक समूहले ललितपुर नख्खुस्थित कारागारमा समेत आक्रमण गरेको थियो ।

त्यसपछि रवि लामिछाने थुनाबाट निस्किए । त्यसक्रममा लामिछानेले एक पत्र सार्वजनिक गरेका थिए । पत्रमा रवि लामिछानेमाथिको राजनीतिक मुद्दामा गृहसचिवको निर्देशन भन्दै उनलाई रिहा गरिएको उल्लेख थियो ।

मिति केरमेट गरिएको, बोधार्थमा अर्कै व्यक्तिको नाम रहेको र अदालतको आदेशबाट थुनिएका व्यक्तिलाई गृहसचिवले रिहा गर्न आदेश दिएको ब्योहोरा आफैंमा अस्वाभाविक थियो । त्यसमाथि कारागार प्रशासनले ‘हाम्रो औपचारिक पत्र र आदेशबाट कोही पनि व्यक्ति थुनामुक्त नभएको’ भन्दै बाहिर निस्किएका सबै कैदीबन्दीहरुलाई फर्कन पत्र पठाएको थियो ।

रवि लामिछाने रिहा भएपछि देशभरका कैयौं कैदीबन्दीहरुले कारागारभित्र हुलदंगा र आगजनी गरेका थिए । त्यस्ता झडपमा १० जनाको ज्यान गयो भने १३ हजार कैद बाहिर निस्किए । लामिछानेले देखाएको गलत बाटोका कारण संगीन अपराधमा संलग्नहरु पनि थुनामुक्त भएको भन्दै सार्वजनिक आलोचना भएको थियो ।

‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला ।’

त्यसबारे समेत रास्वपा मौन थियो, कतिपय नेताले भने रविको बचाउ गरिरहेका थिए । चौतर्फी आलोचनाका साथै नख्खु कारागारले जेलबाट निस्किएका कैदीबन्दीलाई फर्किन आग्रह गरेपछि शनिबार साँझ लामिछाने कारागारमा फर्किएका हुन् ।

लामिछानेले नख्खु कारागार जानुअघि जारी गरेको भिडियो सन्देशमा व्यंग्यात्मक रुपमा भनेका थिए, ‘पार्टीका तल्ला तहसम्मका साथीहरुलाई यत्ति भन्दछु, पार्टी कब्जा गर्न होइन पार्टी बनाउन तिर लाग्यो भने हामी सबै अटाउँछौं ।’

घटनाको विस्तृत विवरण नखुलाएपनि रास्वपा नेता सुमना श्रेष्ठले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेता राख्न थालेको भन्ने पोष्टले लामिछानेको क्रियाकलापमाथि संकेत गरेको छ ।

आफूले पार्टीभित्र बारम्बार प्रश्न उठाउँदा र आलोचना गर्दा समेत सुनुवाई नभएको भनी उनले पछिल्लो पोष्ट गरेकी हुन् । सांकेतिक रुपमा मात्रै आफ्नो मानमर्दन हुने गरेको भन्दै उनले अब खुला रुपमा प्रस्तुत हुन चुनौती दिएकी हुन् । उनले पोष्टमा लेखेकी छन्, ‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला ।’

‘उपलब्धी जोगाउन लाग्छु’

अनलाइनखबरसँगको संक्षिप्त प्रतिक्रियामा निवर्तमान सांसद श्रेष्ठले यसअघि उल्लेख गरे झैं आफू सरकार जाने हल्ला निराधार भएको बताइन् ।

‘मैले जे लेखेको छु, अहिलेलाई त्यति नै हो । सरकारमा जाने कुरा बिल्कुल निराधार हो’ उनले भनिन्, ‘जेन–जी आन्दोलनको यत्रो जनमत थियो । त्यसको संस्थागत विकास गर्नुछ । घाइते र मृतकका परिवारहरुको बिचल्ली छ, जति सकिन्छ, म आन्दोलनका उपलब्धी संस्थागत गर्ने काममै लाग्नेछु ।’

‘मैले जे लेखेको छु, अहिलेलाई त्यति नै हो । सरकारमा जाने कुरा विल्कुल निराधार हो’ उनले भनिन्, ‘जेन–जी आन्दोलनले यत्रो जनमत थियो । त्यसको संस्थागत विकास गर्नुछ । घाइते र मृतकका परिवारहरुको बिचल्ली छ, जति सकिन्छ, म आन्दोलनका उपलब्धी संस्थागत गर्ने काममै लाग्नेछु ।’

‘जेन–जी आन्दोलनले यत्रो जनमत थियो । त्यसको संस्थागत विकास गर्नुछ । घाइते र मृतकका परिवारहरुको बिचल्ली छ, जति सकिन्छ, म आन्दोलनका उपलब्धी संस्थागत गर्ने काममै लाग्नेछु ।’

रास्वपा छाडिसकेकी सुमनाले सरकार वा प्रधानमन्त्रीको टिममा प्रत्यक्ष नरहेपनि आन्दोलनका उपलब्धी संस्थागत गर्न सक्रिय हुने संकेत गरिन् । कतिपयले उनी अब नयाँ दल गठन गर्ने वा जेन–जी आन्दोलनमा सक्रिय बालेन वा त्यस्तै अर्को कुनै समूहसँगको सहकार्यमा नयाँ दल खोल्नसक्ने अनुमान पनि गरेका छन् ।

तर उनले भोलिको विषय आफूले नसोचेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मैले आज पार्टी छाडें, अहिलेलाई आन्दोलनका उपलब्धी संस्थागत गर्न लाग्नेछु । पछिको कुरा अहिले सोचिसकेको छैन ।’

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?