+
+

संसदमा खनालको चिया चर्चा : ‘अक्सन सेन्टर’ बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते २०:१२

५ साउन, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसदमा विशेष समय लिएरै चियाको चर्चा गरेका छन् । उनको जिल्ला इलाम चियाका लागि प्रख्यात छ ।

सुरुमा एसपीपीबारे अमेरिकालाई पत्र लेख्ने विषय कार्यान्वयन नभएकोमा प्रश्न उठाएका खनालले बाँकी समयमा चियाकै बारेमा कुरा राखे ।

आफ्नो लामो सम्बोधनमा खनालले चिया नेपालीको जीवन शैलीसँग जोडिएकोदेखि आफूले जनप्रतिनिधि भएर गरेको काम, चिया उत्पादनको नेपाली र विश्व इतिहास, यसको बजार बारे बताए ।

खनालले आफ्नो दल समेत सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम तथा बजेटमा यसबारे चर्चा समेत नभएको भन्दै दुःख व्यक्त गरे । ‘सरकारको नीति तथा कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यता जाला कि भन्ने मैले सोचेको थिएँ,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले अघि सार्नु भएको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट आयो तर चियाको उच्चारण कतै हुन सकेन ।’

उनले आफ्नो सम्बोधनमा ‘टि अक्सन सेन्टर’ बनाउनुपर्ने माग पनि गरे । ‘हामीले एउटा टि अक्सन केन्द्रसम्म पनि बनाउन सकेका छैनौं, जसले गर्दा चिया उत्पादक, विक्रेताले ठिक ढंगले व्यापार गर्न पाएका छैनन्,’ उनले भने, ‘अक्सन गर्नका लागि पनि भारतमा धाउनुपर्ने अवस्था छ । हामीले आफ्नै देशका अक्सन सेन्टर बनाउन किन नसकेको ? कल्ले रोक्छ यो कुरालाई । किन राज्यले ध्यान दिन सक्दैन । सम्बन्धित मन्त्रालयले किन यो कुरालाई ध्यान दिन सक्दैन ?’

रुलिङको मागसहित उनले अगाडि भने, ‘अक्सन सेन्टर अत्यन्त महत्वपूर्ण छ । यसका लागि म सभामुख महोदयलाई रुलिङ गर्न पनि आग्रह गर्न चाहान्छु । चिया अक्सन सेन्टर तुरन्तका तु नेपालमा बनाउनुपर्‍यो । र, चिया किसानको हितका लागि हामी काम गर्न सक्नुपर्‍यो ।’

खनालको भनाइ उनकै शब्दमा :

सभामुख महोदय, हामी बिहानै उठ्ने बित्तिकै खानपिनको काम चिया पिउनेबाट गर्छौं । कोही मान्छे घरमा आयो भने सबैभन्दा पहिले हामी चिया बनाएर स्वागत गर्छौं । कसैले टेलिफोन गर्‍यो भने चिया पिउनुभयो भन्ने पहिलो प्रश्न हुन्छ । अरुलाई पनि बिहानै टेलिफोन गर्‍यौं भने चिया पिउनुभयो भन्छौं । हाम्रो देशमा यो चिया बढो लोकप्रिय पेय पदार्थका रुपमा विकसित भएको छ ।

हामीले नेपाल चिया निगम बनाएर चिया खेतिको विकास गर्ने कोसिस गरेका थियौं । म २०४८ सालमा इलामबाट जनताको प्रतिनिधि भएँ । त्यसबेलासम्म आम नेपाली किसान चिया रोपणमा सहभागी भएका थिएनन् । हामीसँग खाली चिया निगम थियो, त्यसअन्तर्गत खाली ६–७ वटा चिया बगान थिए । तर, त्यसदेखि यता म आफैं नै प्रतिनिधि भएर इलाम र इलामको क्षेत्र नम्बर १ मा मैले व्यापक अभियान नै चलाएँ । धेरै किसानले चिया रोप्ने काम गरेका छन् । तपाईंहरु पुग्नु भएको छैन भने इलाम पुग्नुहोस् । इलामको १ नम्बर क्षेत्र झण्डै झण्डै चिया बगनामा रुपान्तरित भइसकेको छ । अझै मान्छेले त्यहाँ रोपन बढाउँदै गएका छन् । देशमा पनि चिया फैलिँदै गइरहेको छ ।

राज्यले, सरकारले भने विल्कुलै बेवास्ता गरिरहेको छ । सरकारको नीति तथा कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यता जाला कि भन्ने मैले सोचेको थिएँ । तर, प्रधानमन्त्रीले अघि सार्नु भएको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट आयो तर चियाको उच्चारण कतै हुन सकेन ।

अर्थमन्त्रीबाट आउँदा त पक्कै पनि यो आउँछ होला । बजेटमा त यो आउँछ होला भन्नेमा थिएँ । यो हाम्रो देशको मह्वपूर्ण कमोडिटीको रुपमा रहेको छ । विदेशी मुद्रा आर्जन गर्न पनि सहयोग गरेको छ । यो फैलिदै छ । त्यसकारण उहाँको ध्यान पक्कै पनि ध्यानाकर्षण होला भन्ने लागेको थियो । तर, कतै चियाको चर्चा हुन पाएन ।

यद्यपि उहाँले बजेट लिएर आउनुभन्दा पक्कै चिया पिएर आउनुभयो । हामी सांसद पनि अलिकति संसदमा फुर्सद भयो कि चिया पिउन जान्छौं । यो संसदको जुन ढंगले ध्यानाकर्षण हुनुपर्ने हो अहिलेसम्म हुन सकेको छैन् । यो बडो दुःखको कुरा हो, सभामुख महोदय ।

विश्वभरी नै अहिले चिया अत्यन्त महत्वपूर्ण पेय पदार्थको रुपमा रहेको छ । हामी पानी त धेरै पिउँछौं। पानी पछि कोकाकोला लगायत अनेक पेय पदार्थ संसारमा बनेका छन् । तर, सबैभन्दा धेरै पिउने पेय पदार्थ कुनै छ भने त्यो हो चिया । संसारमै, पाँचै महद्विपमा हामी चिया पिउने गर्छौं । संसारमै लोकप्रिय चिया पदार्थका बारेमा हामी आफैंले दिनुपर्ने जति ध्यान दिएका छैनौं सभामुख माहोदय । चियालाई क्यामेलिए सेन्सेसी भन्ने पदार्थबाट बनाउन सकिँदो रहेछ ।

जंगबहादुरको शासन सुरु भएपछि जंगबहादुरका ज्वाइँ इलामको बडा हाकिम भएर गएको बेलामा उनी दार्जिलिङमा गएछन् । दार्जिलिङमा गएको बेला उनले चिया लगाएको देखेर अर्थोडक्स चिया उनले चाखेपछि यो त इलामा हुँदो हो भन्ने ठाने । त्यसपछि इलाममा चिया बगान बन्यो । यसरी नेपालमा चिया रोपणको सुरुवात भएको देखिन्छ ।

इलामको कन्यामस्थित चियाबारी ।

सन् १९६६ मा पुगेपछि बल्ल पञ्चायती शासनले चार, पाँच वटा जिल्लालाई चिया रोपण क्षेत्र भनेर घोषणा गरियो । त्यही क्रममा चिया निगम पनि स्थापना गरियो । राज्यले अलिकति चिया विकास गर्ने कुरामा ध्यान दिएको हामी देख्छौं ।

तर १९९० को परिवर्तनपछि राज्य फेरि यस्ता कुरातर्फ विमुख हुन थाल्यो । निष्क्रिय हुन थाल्यो । राज्यका अनेकन उद्योगलाई निजीकरण गर्ने क्रम चल्यो । त्यही बेलामा चिया निगमलाई पनि कौडीको मुल्यमा बेचियो । इलामको आभुषण थियो, त्यसलाई कौडीको मुल्यमा लिजमा दिने काम भयो । जुन कुराले सम्पूर्ण इलाम मात्रै होइन, चिया लगाउने सम्पूर्ण जनता दुःखी छन् । सरकारले अत्यन्त गलत काम गर्‍यो भनेर अहिले पनि जनता दुःखी छन् ।

निजीकरण गरे पनि निजी क्षेत्रबाट चिया बिस्तार गर्ने काम रोकिएन । तर, राज्यले कतै पनि प्रोत्साहित गर्न सकेको छैन । चिया उत्पादन ‘ट्रपिकल र सब ट्रफिक’ल हावापानी भएको क्षेत्रमा हुने गर्द छ । सिंगो नेपाल चिया क्षेत्रमा रुपान्तरण गर्न सकिन्छ । अहिले १६ भन्दा बढी हेक्टरमा चिया फैलिएको छ।

अहिलेको अवस्थामा उत्पादनको कुरा मात्रै गर्ने हो भने सीटीसी मात्रै १ करोड ५६ लाख ४१ केजी उत्पादन हुँदो रहेछ । अर्थोडक्स ७१ लाख ६८ लखा २ सय ५५ केजी उत्पादन हुने रहेछ । झण्डै अढाइ करोड केजी भन्दा बढी चिया उत्पादन भइरहेको छ ।

अर्थोडक्स चियाको बजार मुलत भारत मात्रै छ । अहिलेसम्म पनि हामीले यसको बजार खोज्न सकेका छैनौं । युरोप, रुस, चीन जस्ता ठाउँमा पठाउन सकिने सम्भावना छ । अलिअलि त्यो क्षेत्रमा गएको पनि छ ।

अझैं पनि राज्यले चिया बजार खोज्न सकेको छैन । किसान आफैं बजार खोज्ने अवस्थामा छैनन् । राज्यले चियाको बजार नखोज्ने हो भने भोलि हाम्रा किसान चिया उखेलेर फाल्ने ठाउँमा नपुग्लान भन्न सकिंदैन । अहिले पनि उनीहरुले चियाका निम्ति उचित मुल्य पाउन सकेका छैनन् । कोभिडको क्लाइमेक्स भएको बेलामा पनि हामीले अर्थोडक्स चिया निर्यात गर्‍यौं । त्यसबाट मात्रै पनि ४ अर्ब विदेशी मुद्रा आर्जन गरेका छौं । यो ठूलो मुद्रा हो ।

हामीले त्यही चियालाई चिनको बजारमा पुर्‍याउन सक्ने हो भने हामी तीन सय प्रतिशत बढी मुल्य पाउन सक्ने रहेछौं । संसारमा उत्पादित भएको अर्थोडक्स चियामा हाम्रो चिया नम्बर १ छ ।

हामीले एउटा टि अक्सन केन्द्रसम्म पनि बनाउन सकेका छैनौं । जसले गर्दा चिया उत्पादक, विक्रेताले ठिक ढंगले व्यापार गर्न पाएका छैनन् । अक्सन गर्नका लािग पनि भारतमा धाउनुपर्ने अबस्था छ । हामीले आफ्नै देशका अक्सन सेन्टर बनाउन किन नसकेको ? कल्ले रोक्छ यो कुरालाई । किन राज्यले ध्यान दिन सक्दैन । सम्बन्धित मन्त्रालयले किन यो कुरालाई ध्यान दिन सक्दैन ?

अक्सन सेन्टर अत्यन्त महत्वपूर्ण छ । यसका लागि म सभामुख महोदयलाई रुलिङ गर्न पनि आग्रह गर्न चाहान्छु । चिया अक्सन सेन्टर तुरन्तका तु नेपालमा बनाउनुपर्‍यो । र, चिया किसानको हितका लागि हामी काम गर्न सक्नुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?