+
+

एसईई नतिजामा ढिलाइ, अब साउन १० को भाखा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते २०:१९

६ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न ढिलाइ भएको छ । राष्ट्रिय परीक्षाा बोर्डले असार अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने बताए पनि साउन पहिलो हप्तासम्म नतिजा दिन नसकेको हो ।

माध्यमिक शिक्षा परीक्षाका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले साउन १० गतेभित्र नतिजा प्रकाशन गर्ने बताए । ‘अहिले हामी विद्यार्थीको नतिजालाई फिनिसिङ गर्ने काम गरिरहेका छौं’ उनले अनलाइनखबरसँग भने ।

बोर्डले ३० वैशाखको स्थानीय तह निर्वाचनमा शिक्षक र कर्मचारी व्यस्त हुँदा उत्तरपुस्तिका परीक्षणमा १० दिन ढिला भएको बताएको छ ।

बोर्डले यो वर्ष प्रदेशस्तरमा परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रको मापदण्ड निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण र अंक चढाउने काम समेत गरेको थियो ।

त्यही अनुसार विद्यार्थीको प्राप्तांकलाई परीक्षा नियन्त्रण कार्यालयले रुजु गरेर नतिजा प्रकाशनको तयारी गरेको हो । प्रदेशबाट विद्यार्थीको प्राप्ताङ्क अपडेट गर्नको लागि सफ्टवेयर जडान हुन नसकेकोले केन्द्रबाटै अपडेट गर्नुपर्ने भएकोले नतिजा सार्वजनिक गर्न ढिला भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

उनी भन्छन्, ‘यस्ता विविध प्राविधिक कारणले ढिलाइ भइरहेको छ । हामीले विद्यार्थीलाई ढाँट्न खोजेका होइनौं । अब दोस्रो हप्ता कट्दैन ।’

अध्यक्ष महाश्रम शर्माले एकीकृत र प्रदेशगत दुबै तरिकाले नतिजा सार्वजनिक हुने जानकारी दिए । उनले भने ‘एकीकृत पनि हुन्छ र प्रदेशगत पनि नतिजा सार्वजनिक गर्ने हाम्रो तयारी छ । प्राविधिक समस्या नहुने हो भने दुबै तरिकाले हुन्छ ।’

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?