+
+
खगेन्द्र र मलिकासँग ‘पानीफोटो’ संवाद :

‘हाम्रो कथा हामीले नै भन्नुपर्छ, कुनै विदेशी आएर भनिदिंदैनन्’

विष्णु शर्मा विष्णु शर्मा
२०७९ साउन ८ गते १९:१९

काठमाडौं । अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले फिल्म ‘पानीफोटो’ले संक्रमणकालीन न्यायलाई टुंग्याउन सरकारलाई दबाब दिने आशा राखेका छन् । सशस्त्र द्वन्द्वको त्रासदीलाई बुझ्न युवापुस्ताले फिल्म हेर्नुपर्ने उनको सुझाव छ ।

अनलाइनखबरसँग फिल्मबारे संवाद गर्दै उनले भने, ‘फिल्म हेरिसकेपछि मान्छेलाई यी कुरा मिलेर टुंग्याउनुपर्छ भन्ने महसुस हुनसक्छ । दर्शकले आवाज उठाउन सक्छन् ।’

शान्ति प्रक्रियाको १५ वर्ष बितिसक्दा समेत संक्रमणकालीन न्याय अलपत्र परेको भन्दै उनले बेपत्ता भएकाका परिवार र आफन्त न्यायको खोजीमा प्रतीक्षारत रहेको समेत बताए । वर्तमान राजनीतिसँग यो फिल्म अझै सान्दर्भिक हुने लामिछाने बताउँछन् ।

यो ‘इस्यु’मा बच्चैदेखि आफ्नो स्मृति पनि जोडिएको किस्सा सुनाउँदै उनले युद्धले समाजमा कस्तो असर पारेको छ भन्ने थाहा पाउन पनि फिल्म हेर्नुपर्ने बताए ।

‘यो कथासँग बच्चैदेखिको मेरो स्मृति र बेपत्ता परिएकाका परिवारको संवेदना पनि जोडिएको छ । मेरो मामा पनि हराउनुभएको छ रे । मैले त कहिल्यै देखिनँ, तर मैले पनि मामालाई कुरिराखेको छु । उहाँ आउनुभयो भने तीनवटा मामा हुन्छन् । हराएका मान्छेहरु पुस्ता पुस्ताको स्मृति बसिराखेका हुन्छन्,’ लामिछाने सुनिए ।

‘कथा भनेको सधैं रमाइलो र हास्यरसले भरिपूर्ण पनि हुँदैन । त्यो चीजलाई अहिले महसुस गर्न र त्यसले समाजमा कस्तो असर गरिराख्या छ भन्ने कुरा थाहा पाउन पनि यो फिल्म आवश्यक छ,’ उनी भन्छन् ।

फिल्ममा अभिनेत्री मलिका महत राधा नामक चरित्रमा देखिएकी छन् । ट्रेलर हेर्दा उनको अभिनयको प्रशंसा समेत भएको छ । उनी कसरी चरित्रमा डुबिन् ? यसबारे भन्छिन्, ‘कसरी–कसरी म पात्रसँग जोडिएँ । म सानैदेखि सुखको कुरा सेयर गर्छु होला, तर दुःखको कुरा हत्तपत्त सेयर गर्दिन मान्छेसँग । अरुले मलाई हेल्प गर्न सक्दैन भने किन उनीहरुलाई सुनाएर नराम्रो फिल गराउने ।’

फिल्म क्षेत्रमा सौन्दर्यको कारणले पनि चर्चित मलिका धेरै राम्रो हुनुले मान्छेलाई गलत सोचाइ विकास हुने पनि बताउँछिन् । ‘राम्री हुँदा मिस कन्सेप्सन भने बनाउँछ । राम्री हुनेलाई अरुले हेर्दा घमण्डी भन्छन् । त्यो त मान्छेले संगत गरेपछि थाहा हुन्छ,’ उनको कथन छ ।

मौलिक कथावस्तुमा बनेकाले दर्शकले फिल्म हेर्नुपर्ने सुझाउँदै निर्देशक लामिछाने नेपाली इतिहासलाई बुझ्न जरुरी भएको बताउँछन् ।

‘दश वर्षको सशस्त्र क्रान्तिले हजारौं कथा जन्माएर गयो । हजारौं मान्छे मरे, हजारौं बेपत्ता भए । कतिलाई प्रत्यक्ष अप्रत्यक्ष असर गर्‍यो, देशको आर्थिक अवस्था डामाडोल भयो । मान्छे दिनदहाडै हिंड्न सक्ने हिम्मत थिएन,’ खगेन्द्र भन्छन्, ‘ती हाम्रा कथा हुन् । ती कथा कोही जापानी, चिनियाँ, भारतीय र अमेरिकी आएर भनिदिंदैनन् । ती कथा भनेपछि हामी आएर भन्ने हो । भनेन भनें कसैले पनि भन्दैन । हामीले ती दुःखका कथा बिर्सने ?’

कथाभन्दा पनि त्यसको प्रस्तुतीकरण महत्वपूर्ण भएको भन्दै खगेन्द्र फिल्मले तटस्थ भएर युद्धलाई हेर्ने प्रयास गरेको बताउँछन् । ‘के हो तपाईंको मौलिकता ? ती कथा हामीले नभनेर कसले भन्ने हो ? कथा जस्तो पनि हुनसक्छ, केको लागि भनिएको र कसरी भनिएको छ त्यो महत्वपूर्ण हो । यसमा तटस्थ ढंगले कथा भनिएको छ,’ उनी भन्छन् ।

राधा चरित्रबाट राम्रै फिडब्याक पाएकी मलिका युद्धको त्रासदी र मुलुककै इतिहास बुझ्न पनि युवापुस्ताले फिल्म हेर्नुपर्ने सुझाउँछिन् । ‘अहिलेको जेनेरेसन फास्ट छ । अब युवापुस्ताले हाम्रै इतिहासलाई बुझ्न जरुरी छ,’ उनी भन्छिन् ।

साउन १३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म पानीफोटोमा अनुप बराल र मेनुका प्रधानको पनि मुख्य भूमिका छ । नाटकको रुपमा चर्चित पानीफोटोलाई लामिछानेले यसपटक दृश्यमा आकार दिएका छन् ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

भिडियो सम्पादन : शंकर गिरी

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?