+
+

उफ् ! खुट्टा कस्तो गन्हायो

डा. विकास पौडेल, छालारोग विशेषज्ञ डा. विकास पौडेल, छालारोग विशेषज्ञ
२०७९ साउन ९ गते १२:०७

कहिलेकाहीं तपाईंलाई यस्तो भएको छ ? कसैको घर वा कार्यालयमा जुत्ता खोलेर पस्नुपर्ने भयो । जसै जुत्ता खोल्नुभयो, खुट्टा ह्वास्सै गन्हायो । अब तपाईंलाई कस्तो हुन्छ ?

भित्र पसौं वा नपसौं ? दोमन हुन्छ । खुट्टालाई ढाकछोप त गर्न सकिएला, तर गन्धलाई कहाँ लुकाउने ? आफ्नो खुट्टाको गन्धले अरुलाई बस्नै असहज पो हुने हो कि ? त्यहाँ बसुञ्जेल तनावग्रस्त रहनुहुन्छ । कहिले यहाँबाट उम्कने होला ? तपाईंको मनमा यस्तै कुराहरु खेल्न थाल्छ । अन्ततः तपाईंले आत्मविश्वास गुमाउनुहुनेछ । निर्धक्क बोल्न सक्नुहुन्न । ढुक्कले बस्न सक्नुहुन्न । लाज र ग्लानिले छटपटी हुनेछ ।

कुरा त मामुली हो, जुत्ता वा खुट्टा गन्हाउनु । तर यसले तपाईंलाई मानसिक रुपमा कति कमजोर बनाइदिन्छ ?

खुट्टा किन गन्हाउँछ ?

लामो समय एउटै जुत्ता-मोजा प्रयोग गरेपछि खुट्टा गन्हाउँछ । तर कतिपयको समस्या के हुन्छ भने एकपटक जुत्ता लगाउँदा पनि ह्वास्सै गन्हाउने ।

खुट्टा गन्हाउनु ‘मेडिकल कन्डिसन’ नभए पनि कहिलेकाहीं उपचार नै गर्नुपर्ने स्थिति पनि हुन्छ । खुट्टा किन गन्हाउँछ ? यसबाट बच्न के गर्न सकिन्छ ?

कारण-१

गर्मीयाममा यसै पनि खुट्टा गन्हाउने समस्या बढी हुन्छ । जुत्ता लगाएर हिंडडुल गर्दा पसिना आएर गन्ध निस्कन्छ । खुट्टा गन्हाउनुको मुख्य कारण नै त्यहाँ आउने पसिना हो । शरीरको अन्य भागमा भन्दा खुट्टामा पसिना आउने ग्रन्थि बढी हुन्छ ।

हातमा पसिना आउने मान्छेको शरीरमा पनि बढी पसिना आउँछ । यसलाई मेडिकल भाषामा हाइपरहाइड्रोसिस भनिन्छ । यस्तो समस्या आनुवांशिक, हर्मोनल परिवर्तन वा चिकित्सकीय स्थितिले गर्दा हुन्छ ।

जब खुट्टामा पसिना आउँछ, यसले मोजा र जुत्तामा ब्याक्टेरिया जम्मा हुन थाल्छ । यसैबाट गन्ध आउँछ ।

कारण-२

खुट्टामा पसिना आएपछि त्यो सुक्न पाउँदैन । यसरी सिञ्चित पसिनामा ब्रोविब्यामकटेरिया र प्रोपियोनिब्याक्टेरिया जस्ता ब्याक्टेरिया थुप्रिन थाल्छ र यसले दुर्गन्ध बनाउँछ ।

कारण-३

खुट्टा गन्हाउनुमा मौसमले पनि असर गरिरहेको हुन्छ । गर्मीमा बढी पसिना आउने नै भयो । पसिनाले गर्दा खुट्टा ओसिलो भइरहन्छ, जसले फंगस बढ्न थाल्छ । यही फंगस इन्फेक्सनको कारण खुट्टा गन्हाउँछ ।

कारण-४

कसिलो जुत्ताको कारण पनि खुट्टा गन्हाउँछ । कसिलो जुत्ता लगाउँदा भित्र हावा खेल्न पाउँदैन । त्यहाँ पसिना आउँछ र गन्हाउँछ ।

खुट्टा राम्ररी नधुने, एउटै मोजा बारम्बार प्रयोग गर्ने, जुत्ता सफा नगर्ने जस्ता बानीले पनि खुट्टा गन्हाउँछ ।

अब के गर्ने ?

यसको सरल समाधान भनेको खुट्टा सफा र सुख्खा राख्नु हो । मोजा नियमितजसो परिवर्तन गर्नु, जुत्ता सफा राख्नु नै हो । त्यसबाहेक खुट्टामा फिटकिरी दल्ने, कपुरको प्रयोग गर्ने काम पनि प्रभावकारी हुनसक्छ ।

सम्भव भएसम्म गुणस्तरीय मोजा लगाउनुपर्छ । सुतीको कपडाको मोजा धेरै उपयोगी हुन्छ । कतिपयलाई धेरै पसिना आउने समस्या हुन्छ । उनीहरुले लसुन तथा प्याज जस्ता गन्ध आउने खानेकुरा सकेसम्म नखाएकै राम्रो ।

जुत्ता परिवर्तन

एउटै जुत्ता बारम्बार प्रयोग गरिरहँदा त्यो मैला हुने र त्यसभित्र ब्याक्टेरिया फैलिने हुन्छ । पसिना आएपछि त्यही ब्याक्टेरिया सक्रिय भएर गन्ध आउँछ । त्यसैले सम्भव भएसम्म एउटै जुत्ता लगातार प्रयोग गर्नुहुँदैन ।

खुट्टा धुने र सुकाउने

खुट्टा गन्हाउने समस्या भएकाहरुले खुट्टाको सफाइमा चाहिं विशेष ध्यान दिनु जरुरी हुन्छ । दिनहुँ राम्ररी खुट्टा धुने र त्यसलाई सुख्खा हुन दिने गर्नुपर्छ । यसैगरी मोजा पनि परिवर्तन गरिरहनुपर्छ ।

नङको सफाइ

नङ काट्ने र सफा राख्ने गर्नुपर्छ । खुट्टामा रहेको खराब छालालाई हटाएर सुख्खा राख्नुपर्छ । गिलो वा ओसिलो छालामा कीटाणु हुर्कन्छ ।

कसिलो जुत्ता प्रयोग नगर्ने

कसिलो जुत्ता होइन, आफ्नो खुट्टाको आकारभन्दा केही खुकुलो वा सहज जुत्ता लगाउनुपर्छ ।

पाउडरको प्रयोग गर्ने

खुट्टा गन्हाउने समस्याबाट पार पाउन दुर्गन्ध हटाउने पाउडर प्रयोग गर्न सकिन्छ । अहिले बजारमा दुर्गन्ध हटाउने विभिन्न किसिमका पाउडर उपलब्ध छन् । यस्तो पाउडरले दुर्गन्ध आउने ब्याक्टेरियालाई मार्न मद्दत गर्छ ।

(छालारोग विशेषज्ञ डा. पौडेलसँग अनलाइनखबरकर्मी अंगद सिंहले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?