+
+
‘सिमसिमे पानी’को विवाद पुनः ब्युँतियो :

प्रेमराजा महतले गीत अतिक्रमण गरेको भन्दै रेखा शाहले दिइन् म्युजिक नेपालमा निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १४:४०

काठमाडौं । चर्चित गीत ‘सिमसिमे पानी’को आधारिकता विवाद पुनः ब्युँतिएको छ । गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् ।

उनले निवेदनमा गायक प्रेमराजा महतमा गीतको अधिकार नभएको र मौलिक सर्जक आफू भएको उल्लेख गरेकी छन् । गायक तथा सरकारका महावाणिज्यदूत समेत रहेका महतले एकलौटी रुपमा गीतको अतिक्रमण गरेको आरोप पनि उनले लगाएकी छन् ।

आइतबार फेसबुक लाइभमा आउँदै शाहले कसरी उक्त गीत आफ्नो सिर्जना थियो भन्नेबारेमा यसरी बताएकी छन् :

गाउँबाट काठमाडौंमा आएर रेडियो नेपालमा गाएको पहिलो गीत नै त्यही हो । त्यही गीत गाएर प्रतियोगितामा प्रथम भएकी थिएँ ।

सायद गीतको पनि आफ्नो भाग्य हुन्छ । मैले रेडियो नेपालमा त्यो गीत गाएँ । प्रतियोगितामा एक्लै गीत गाएकी हुँ । आफ्नै लय र शब्द संकलनमा यो गीत गाएकी हुँ । सिंगल रेकर्ड गराएकी थिएँ ।

त्यहीबेलामा प्रेमराजा महतलाई टेलिभिजनमा देखेकी थिएँ । उहाँ रेडियो नेपालमै कार्यरत हुनुहुन्थ्यो । उहाँले डुएट गरौं भनेर आग्रह गर्नुभयो । मैले अभिभावकसँग सल्लाह गर्छु भनें ।

मैले बुवालाई गएर सोध्दा उहाँले यो तिम्रो लाइफको अचिभमेन्ट हो भन्नुभयो । कुनै सिनियरले गाऊँ भन्छ भने त्यो पनि तिम्रो सफलता हो । उहाँले गाऊ भनेर अनुमति दिनुभयो ।

बुवाले हुन्छ भनेपछि डुएट रेकर्ड गरौं भनें । त्यतिबेला म्युजिक नेपाल मात्र एउटा कम्पनी थियो जसले लगानी गरेर कलाकारको गीतलाई श्रोतासमक्ष पुर्‍याउने काम गथ्र्यो ।

सिमसिमे पानीमा चाहिं मलाई म्युजिक नेपालले इन्भेस्ट गरिदिएको हो । वाद्यवादन र रेकर्डमा उहाँकै लगानी छ । म्युजिक नेपालमा पनि उहाँले डुएट गरौं भन्नुभयो । महतले भ्वाइलिन म राख्छु भनेर भन्नुभयो । तर मलाई वाद्यवादन के राख्दा राम्रो हुन्छ भन्ने थाहा थिएन ।

उहाँले भ्वाइलिनमा पाँच हजार रुपैयाँ एक्स्ट्रा खर्च गर्नुभयो । उहाँले दुई जनाको नाममा गरौं एल्बम भन्नुभयो । नैतिक रुपमा उहाँले लगानी गरेपछि मैले हुन्छ भनें । दुई जनाको नाममा एल्बम निस्किने विषयमा पनि सहमत गरें ।

जब एल्बम बजारमा आयो, त्यो एल्बम प्रेमराजा महतको नाममा मात्र थियो । सहमति के रैछ भने, म्युजिक नेपाल र प्रेमराजा महतबीच मात्र कपिराइट रैछ । त्यो थाहा पाएपछि म सक्ड भएँ ।

उहाँले आफ्ना आमाबुवामाथि क्यासेट समर्पित गर्नुभएको रैछ । ममाथि न्याय भएन भनेर मलाई त्यतिबेलै महसुस भएको हो । संगीतमा सिनियरबाट संस्कार हुन्छ भन्ने सुनेको थिएँ ।

असार ४ गते मैले लिखित रुपमा म्युजिक नेपालसँग निवेदन दिएकी छु । दर्ता नम्बर छ २५९ । निवेदन लेखेर गीतको सबै किसिमको हिस्ट्री मलाई चाहियो भनेर मागेकी छु । त्यो एल्बम आजसम्म जति बिक्यो, मैले एक सुको पनि पाएकी छैन ।

सर्जक, स्रष्टा भएको हैसियतले मैले त्यो जान्न जरुरी छ । कपिराइट ममा रहने गरी मैले निवेदन दिएकी छु । यो कुरा उहाँहरुले मान्नुपर्छ । २०५९ सालमा प्रतिलिपि अधिकार कानुन बनेपछि मैले यो लडाईं लडेकी हुँ ।

ज-जसलाई सिमसिमे पानीमा रेखा शाहको हो भन्ने थाहा थिएन, उहाँहरुले बुझ्नु जरुरी छ । इतिहास बोकेको कुरामा सबैले जान्नुपर्छ भन्ने मलाई लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?