+
+
विचार :

सहकारी नचिन्ने सदस्य र खाम बुझेर फर्कने नियामक

जुन सहकारीका सदस्यले संस्था चिन्ने, देख्ने गर्दैनन्, सञ्चालकलाई राम्ररी चिनेका हुँदैनन्, ब्याजको प्रलोभनले यस्ता सदस्य जोखिममा पर्छन् । यस प्रकारका संस्थामा नियामक निकाय समेत खाम बुझेर फर्कने गर्छन् ।

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०७९ साउन ९ गते १५:३५

२०४७ सालको राजनीतिक परिवर्तनपछि देशमा प्रजातन्त्रको उदय भयो । प्रजातान्त्रिक व्यवस्थामा बनेको सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ पछि यस क्षेत्रमा एक प्रकारको उभार आयो । दशौं हजार प्रारम्भिक संस्था, संस्थाहरूको सञ्जाल जिल्ला हुँदै केन्द्रसम्म, दशौं लाख सर्वसाधारणको आबद्धता, अन्तर्राष्ट्रिय सहकारी सञ्जालसम्मको पहुँच, वित्तीय क्षेत्रमा खर्बमा कारोबार सहकारी अभियानको देखिने आवरण हो ।

यो आवरणभित्र सहकारी अभियानले पुर्‍याएको सकारात्मक योगदान र थुपारेको समस्याको चाङ दुवै छोपिएका छन् । यो लेखमा सहकारीले समाज र आर्थिक क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा नगरेर सहकारीमा समस्या किन देखिन्छन् र कस्ता जोखिम कायम छन् भन्ने बारेमा केही चर्चा गर्ने जमर्को गरेको छु ।

समाजमा राम्रो के के भयो र कसरी भयो त्यसको चर्चा खासै हुँदैन । जस्तै अस्पतालमा उपचार गर्न आएका कति मानिस निको भएर फर्किए त्यो समाचार नै होइन । तर, कति मानिसको उपचारको क्रममा मृत्यु भयो त्यो समाचार हो । गन्तव्यमा पुग्न हिंडेका, गुडेका, उडेका कति यात्रु गन्तव्यमा पुगे त्यो समाचार होइन तर कति मानिस अलपत्र परे वा दुर्घटनामा परे, के कारणले परे त्यो समाचार हो ।

त्यस्तै सहकारी अभियानका कारण कति मानिसको जीवनमा सकारात्मक परिवर्तन भयो त्यो समाचार होइन तर कति मानिस सहकारीका कारण नै समस्यामा परे त्यो मात्रै समाचार हो । यस्ता समाचार बेलाबखतमा नेपाली सञ्चारमाध्यममा आइनै रहन्छन् । यस्ता समाचारले धेरैलाई सहकारीप्रति नकारात्मक सोचको विकासमा सघाइरहेको हुन्छ ।

सहकारीमा किन समस्या देखिन्छन् र कस्ता जोखिम छन् भन्ने यो लेखले सहकारी सही बाटोमा छ कि छैन भनेर बुझ्न थोरै भए पनि सघाउनेछ भन्ने विश्वास लिएको छु ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)ले सन् १९९५ मा गरेको परिभाषा अनुसार ‘सहकारी संस्था संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रूपमा नियन्त्रित व्यवसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षाहरू परिपूर्ति गर्न स्वेच्छिक रूपमा एकजुट हुने व्यक्तिहरूको स्वायत्त संगठन हो ।’

यो परिभाषालाई मूर्तरूप दिन सहकारीका ६ वटा आधार मूल्य र ४ वटा नैतिक मूल्य छन् । त्यसैगरी ७ वटा सिद्धान्त छन् । विश्वव्यापी रूपमा स्थापित यिनै मूल्य र सिद्धान्तका आधारमा सहकारी सञ्चालन हुनुपर्छ र हुन्छन् ।

रामचन्द्र उप्रेती

नेपालमा सहकारी बुझ्ने र बुझाउने क्रममा समस्या देखियो । सहकारी नबुझी संस्था खोल्ने र खोल्न दिने काम भयो । राज्यले दर्ता गरिदिएका सहकारी संस्थाको अवस्था के छ भनेर फर्केर हेर्ने काम राज्यले गरेन, गर्न सकेन ।

एकातिर यो समस्या भयो भने अर्कोतिर सहकारी ऐन २०४८ बनेदेखि यसको खारेजी भएर अर्को सहकारी ऐन २०७४ नआउँदासम्म मुलुकमा राजनीतिक अस्थिरताको अवस्था रहन पुग्यो । राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही धूर्त मानिसले राज्य र समाजका अनेक क्षेत्रमा प्रभाव जमाउन पुगे । यसको असर सहकारी अभियानमा नपर्ने कुरै भएन ।

देशभरिमा कानुनी अस्तित्वमा रहेका सहकारी संघसंस्थाको संख्या ३० हजार जति भनिए पनि वास्तवमा सञ्चालनमा रहेका संघसंस्थाको संख्या बढीमा २० हजार जति मात्र रहेको अनुमान छ । मुलुक संघीयतामा गएसँगै सहकारीको दर्ता, नियमन र कार्यक्षेत्र तीनै तहको सरकारमा बाँडिएकाले वास्तविक तथ्याङ्कको अभाव रहेको छ ।

संघीय सहकारी विभागका अनुसार, कुल सहकारी संस्थामध्ये ८० प्रतिशत स्थानीय पालिका मातहतमा छन् । १९ प्रतिशतभन्दा केही बढी संस्था प्रदेश मातहत र १ प्रतिशतभन्दा कम्ती संघीय सरकार मातहत रहेका छन् ।

पालिकास्तरमा सहकारी संस्था हेर्ने छुट्टै निकायको अभाव छ । जानकारीको अभाव छ । स्थानीय पालिकाको नेतृत्वमा सहकारी प्राथमिकतामा नै नपरेको अवस्था छ । प्रदेश र संघका भएका विभागमा पनि सहकारीलाई नियमन गर्ने प्रविधि र दक्ष जनशक्तिको अभाव खट्किएको छ । त्यसैले सहकारी अभियान अहिले पनि राज्यको सघन प्राथमिकतामा छैन ।

सहकारी अभियानले समाजमा पूँजी निर्माण, रोजगारी सिर्जना, बचत र ऋणमा सामान्य मानिसको सहज पहुँच, महिला सशक्तिकरणमा योगदान, सामाजिक विभेदमा कमि, नेतृत्व विकासमा योगदान जस्ता अनेकौं राम्रा र उपयोगी काम गरिरहेको भए पनि कहिलेकाहीं सहकारी संस्था बन्द भएको, सदस्यले बचत गरेको रकम फिर्ता गर्न नसकेको जस्ता समाचारले सहकारीप्रति नकारात्मक धारणा विकास हुने गरेको पाइन्छ ।

सहकारी के कारणले असफल हुन्छन् ? यसमा दुईवटा कारण मुख्यरूपमा प्रकट हुन्छ । पहिलो, सञ्चालकहरूले सहकारी बुझ्दै नबुझी चलाउनु । सहकारी व्यवसायलाई हल्का रूपमा लिएर पैसा उठाउने र ऋण लगानी गर्ने त हो नि भनेर बचत उठाउने र जथाभावी ऋण लगानी गर्नु । वित्तीय सन्तुलन र वित्तीय जोखिमको ख्याल नगर्नु, सिक्न नखोज्नु, सिकेको कुरालाई पनि व्यवहारमा लागू नगर्नु । संस्थामा सुशासन लागू गर्ने औजार उपकरणको विकास नगर्नु ।

परिणाम हर्ताकर्ता सञ्चालकको व्यवसाय डुब्दा सहकारी पनि डुब्छ । यस्ता संस्थाले उच्च ब्याज दिने लोभमा धेरै कमिसन दिएर पैसा संकलन गर्छन् । संस्थाको संकट र जोखिम बढेपछि जोखिमको ढाकछोप र संकट सार्न एकपछि अर्को गलत काम गर्छन् । महङ्गो ब्याजमा पैसा उठाउँछन् ।

यसैगरी सञ्चालकले कर्मचारीमा अधिक विश्वास गर्नु । कर्मचारीले संस्थामा नीतिनियम बनाएर काम गर्नुभन्दा सञ्चालकको आदेश निर्देशमा काम गर्नु । सञ्चालक र कर्मचारीले सहकारीका मूल्य, सिद्धान्तको अनुसरण नगर्नु । सदस्यले आफू सदस्य बनेको संस्थाको बारेमा खोजीनिती नै नगर्नु । संस्थाको कारोबार अर्थात् सूचकांकहरूलाई नियमित रूपमा सार्वजनिक नगर्नु र कारोबार अपारदर्शी बनाइराख्नु । सञ्चालक र कर्मचारीको क्षमता विकासमा ध्यान नदिनु, आदि ।

संस्था जब उच्च जोखिममा पर्छ र सम्हाल्न नसकिने अवस्था आउँछ तब सञ्चालक र कर्मचारी आत्तिने गर्छन् । सदस्यहरू आफ्नो बचत रकम जोखिममा परेको ठानेर लाइन लागेर पैसा फिर्ता लिन संस्थामा आउने गर्छन् ।

दोस्रो, समाजका टाठाबाठा भनिने धूर्तहरूले सहकारीलाई आफ्नो कमाइखाने र स्वार्थ पूरा गर्ने थलोको रूपमा प्रयोग गर्नु । यस्ता मानिसले संस्था खोलेर आफू अनुकूलका मानिसलाई सञ्चालक समितिमा राख्ने गर्छन् । यस्ता सञ्चालकले समितिको बैठकमा उपस्थित भएर संस्थाको बारेमा छलफल नै गर्दैनन् । बुझ्दैनन् पनि । बैठकको माइन्यूट पुस्तिकामा सही गर्छन् । दिएको भत्ता बुझेर निस्कन्छन् ।

उनीहरू आफ्ना अनुकूलका मानिसलाई कर्मचारी राख्छन् । यस्ता कर्मचारीले संस्थाको नीति, नियम, विनियम, सहकारीको सिद्धान्त, मूल्य अनुसार भन्दा पनि नियुक्ति गर्ने हर्ताकर्ता सञ्चालकको आदेश तामिल गर्ने काम गर्छन् । यस्ता संस्थामा हर्ताकर्ता बनेका सञ्चालक र व्यवस्थापक मिलेर संस्थाको पैसा आफूखुसी व्यापारमा लगाउने, अपचलन गर्ने काम गर्छन् ।

परिणाम हर्ताकर्ता सञ्चालकको व्यवसाय डुब्दा सहकारी पनि डुब्छ । यस्ता संस्थाले उच्च ब्याज दिने लोभमा धेरै कमिसन दिएर पैसा संकलन गर्छन् । संस्थाको संकट र जोखिम बढेपछि जोखिमको ढाकछोप र संकट सार्न एकपछि अर्को गलत काम गर्छन् । महङ्गो ब्याजमा पैसा उठाउँछन् ।

यस्ता संस्थाका सदस्यले संस्था चिन्दैनन्, संस्था देख्दैनन् । सञ्चालकलाई राम्ररी चिनेका हुँदैनन् । ब्याजको प्रलोभनले यस्ता नाम मात्रका सदस्यलाई जोखिममा पुर्‍याउँछन् । यस प्रकारका संस्थामा नियामक निकायसमेत पुग्ने गरे पनि संस्थालाई सुधार्नेभन्दा पनि खाम बुझेर फर्कने गर्छन् । यो प्रवृत्तिले सहकारी अभियानलाई बदनाम गराइरहेको छ ।

माथिका मुख्य दुई समस्या भएका सहकारीमध्ये पहिलो समस्या भएका सहकारीलाई समयमै सहकारीको मूल्य, सिद्धान्त र सहकारीका नीतिनियमको बाटो देखाएर सुधार्न सकिन्छ । दोस्रो प्रवृत्तिमा भएका सहकारीलाई सच्चिने र सच्याउने समय दिएर सहकारीको मूल्य, सिद्धान्त र नीतिनियम अनुसार चल्न लगाउनुपर्छ । नटेर्ने, नगर्ने र सच्चिन नचाहनेलाई विना मोलाहिजा कारबाहीको दायरामा ल्याउन ढिलो गर्नुहुँदैन ।

माथिका दुई प्रवृत्तिभन्दा भिन्नै अर्को खालको समस्या पनि आउने संकेत देखिंदैछ । समुदायमा आधारित भएका, सदस्यको नियन्त्रण र सुशासनमा चलेका संस्थामा पनि अर्को नजिकैको संस्थामा भन्दा धेरै सुविधा दिएर सदस्यलाई प्रभावित पार्ने होड चलेको छ । संस्थालाई लोकप्रिय बनाउने, अरूको भन्दा राम्रो र धेरै सुविधा दिने संस्थाको रूपमा उभ्याउने नाममा संस्थाको वित्तीय अवस्थाले नै धान्न नसक्ने सुविधा दिने होड पनि नजानिंदो पाराले बढेको छ ।

अनि अर्को संस्थाले यति सुविधा दिएको छ हाम्रोले पनि दिनुपर्छ भन्ने नाममा यस्ता पपुलर कार्यक्रम ल्याउने संस्थाले संस्थाको औकात वित्तीय सन्तुलन गुमाउने खतरा पनि देखिंदैछ । यसले अन्ततः संस्थालाई जोखिमको बाटो नै हिंडाउने हुनाले यसतर्फ पनि सहकारी अभियान चनाखो हुनुपर्ने आवश्यकता देखिएको छ ।

लेखकको बारेमा
रामचन्द्र उप्रेती

उप्रेती सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?