+
+

रुपन्देही तिलोत्तमामा कल सेन्टरबाट ठगी धन्दा, २ जना पक्राउ

२५६ कम्प्युटर र ६ ल्यापटप बरामद

टोपराज शर्मा टोपराज शर्मा
२०७९ साउन ९ गते १८:५९

९ साउन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा २ सय भन्दा बढी युवा राखेर कल सेन्टर चलाइरहेका २ जनाविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

ब्लु स्काई सोलुसन प्रालिको नाममा गोप्यरुपमा चलेको कल सेन्टरका सञ्चालक भारतीय नागरिक २५ वर्षका जिसाद दबंग भनिने निरञ्जन कुमार र दाङको घोराही उपमहानगरपालिका– १३ का हिमाली बाठामगरविरुद्ध ठगी मुद्दामा अनुसन्धान सुरु गरेको हो ।

ठगीको उजुरी परेपछि प्रहरीले आइतबार कल सेन्टरबाट डेढ सय भन्दा धेरैलाई नियन्त्रणमा लिएको थियो । तीमध्ये ९ जनालाई इलाका प्रहरी कार्यालय बुटवलमा राखी अनुसन्धान गर्दा मुख्य दोषी देखिएका दुईजनाविरुद्ध अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । पक्राउ परेका दुईजनाले कल सेन्टरको मुख्य सञ्चालक चिनिया नागरिक भएको बताएको केसीले बताए ।

तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा चार तलाको घरमा तीन तला भाडामा लिई सञ्चालन गरिएको कल सेन्टरबाट २५६ कम्प्युटर मनिटर, २३६ सीपीयू, २४५ किबोर्ड, २९४ हेडफोन, २३१ माउस, ६ वटा ल्यापटप र कर्मचारीलाई तलब दिन राखिएको साढे ४ लाख रुपैयाँ नगद बरामद गरिएको डीएसपी केसीले जानकारी दिए ।

२०७८ फागुनमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कल सेन्टरले उद्देश्य विपरीत काम गरेको पाइएको डीएसपी केसीले बताए । कल सेन्टरमा दुई सिफ्टमा गरी साढे दुई सय बढी कर्मचारीले काम गर्ने गरेका थिए ।

कल सेन्टरका कर्मचारीले सर्वसाधारणलाई फोन गरेर क्यास पकेट, देशी क्यास, इन्स्ट्यान्ट लोन, एक्सप्रेस लोन जस्ता एप डाउनलोड गर्न लगाउँथे । त्यसपछि कर्जा लिन चाहनेको फोटो, मोबाइल नम्बरसहित आधार कार्ड, राशन कार्ड, बैंक खाता लगायतका व्यक्तिगत विवरणहरु अनलाइनमार्फत लिने र कर्जा असुल्ने क्रममा समयमा कर्जा चुक्ता नगरे गाली गलौज, धम्की र अश्लील फोटो समेत पठाएर ब्ल्याकमेल गर्ने गरेको पाइएको डीएसपी केसीले बताए ।

कल सेन्टरमा काम गर्ने एक कर्मचारीले संस्थाले एक हप्ता समय दिएर ३ देखि १६ हजार रुपैयाँसम्म कर्जा दिने गरेको र समयमा कर्जा चुक्ता नगर्नेसंग रकम तिर्न अनुरोध गर्दा विवाद हुने गरेको बताए ।

कल सेन्टरले सेवा शुल्कवापत चर्को रकम असुलेर ठगी गरेको आरोप छ । कल सेन्टरले कर्जा लिनेहरुका हकवाला र अर्को एक जनासमेत गरी तीन जनाको ह्वाटसएप नम्बर लिने र पछि उनीहरुलाई समेत फोन गरेर अनावश्यक दबाव दिएको पाइएको प्रहरीको भनाइ छ ।

कल सेन्टरमा १६ देखि २५ वर्षसम्मका युवाले काम गर्दै आएका छन् । कल सेन्टरमा कार्यरत सबैलाई निगरानीमा राखेर अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

३ सय जति कम्प्युटर राखेर काम गर्ने कल सेन्टरमा अवैध धन्दा भइरहेको सूचना आएपछि छापा मारिएको रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए । कल सेन्टरबाट दैनिक डेढ करोडसम्म आम्दानी हुने गरेको रेकर्ड भेटिएको प्रहरीको दावी छ । कल सेन्टरको कनेक्सन कहाँकहाँ छ भनेर खोजतलास गर्ने प्रहरीले बताएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?