+
+

समाजवादी केन्द्रका ४ फाइदा, ६ बेफाइदा

वैचारिक मतभेद विरलै र अधिकांशतः नेतृत्व र व्यक्तित्वको टकरावका कारणले विभाजित भएका दलहरूलाई समाजवादी केन्द्रको नामले एकठाउँमा जम्मा गर्न त सम्भव होला तर राजनैतिक दलका रूपमा संगठित गर्न कठिन हुनेछ ।

खिमलाल देवकोटा खिमलाल देवकोटा
२०७९ साउन १० गते ८:३०
वाम एकताका लागि छलफलमा जुटेका तत्कालीन नेकपाका पाँच जना स्थायी कमिटी सदस्य ।

कार्ल मार्क्स भन्छन्- ‘समाजवादको अर्थ शान्ति हो, शान्तिको अर्थ समाजवादको विरोध नहुनु हो ।’ विन्स्टन चर्चिल भन्छन्- ‘पूँजीवादको अर्थ असमान वितरण र समाजवादको अर्थ समान वितरण हो ।’ मार्क्स र चर्चिलको भनाइको आसपासबाट समाजवादको आधार तयार गर्दा समाजवादी केन्द्र घोषणा गर्नु आजको कार्यभार हो ।

तर, यसका लागि राजनैतिक दलहरूका बीचमा एकरूप समझदारी हुन अनिवार्य छ । यसै पृष्ठभूमिमा नेपालमा भइरहेको समाजवादी केन्द्र निर्माणका बारेमा विश्लेषण गर्न जरूरी छ ।

त्यसो त समाजवादी केन्द्रको चर्चा यतिबेला चुलिएको छ । खासगरी माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी समेतका पार्टीहरू र प्रचण्ड, माधव नेपाल र बाबुराम भट्टराईहरू समाजवादी केन्द्र निर्माण गर्ने अन्तिम गृहकार्यमा छन् भन्ने समाचार पनि आउने गरेका छन् । यसको आधार भने नयाँ संविधान नै हो ।

नेपालको संविधानले समाजवादको आधार तयार गर्ने समाजवादी अर्थतन्त्र निर्माण गर्ने समेतको घोषणा गरेको छ । नेपाली कांग्रेसले आफूलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारामा उभिएको पार्टी भन्ने दाबी गर्छ । तत्कालीन एमालेे र माओवादी मिलेर बनेको नेकपाले आफ्नो राजनैतिक दस्तावेजमा समाजवाद हुँदै साम्यवाद प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मधेशवादी पार्टी आफूलाई जनता वा लोकतान्त्रिक फुर्को जोड्दै समाजवादी पार्टी भनेर औपचारिक रूपमा दर्ता गरी काम कारबाही गर्दै आएका छन् । माओवादी पृष्ठभूमिका आहुति वा डा. भट्टराई समाजवादी नामका चिरामा संगठित हुन खोज्दै गरेको कुरा पनि साँचो हो ।

यसै सेरोफेरोमा समाजवादी केन्द्रको चर्चासहित समाजवादी केन्द्र गठनको फाइदा र बेफाइदाका बारेमा समीक्षा गर्नु यो आलेखको आशय रहेको छ ।

विषय प्रवेश

समाजवाद आजका दिनमा नेपाली राजनीतिको साझा विन्दु र गन्तव्य बन्न पुगेको छ । यो आजको सच्चाइ पनि हो । यति हुँदाहुँदै पनि आजका दिनमा राजनैतिक पार्टीहरू फरक-फरक छन् । राजनैतिक दलका नेताहरू फरक-फरक छन् । तिनका बीचमा एकताको कल्पना गर्न सकिने अवस्था छैन ।

हिजोका एकताले निरन्तरता नपाउँदा, आज र भावी दिनमा समेत समाजवादी केन्द्र होस् वा अरू नै कुनै नाममा पनि एकताको परिकल्पना गर्न मानिसलाई कठिन छ । एकता गरिहाले पनि टिक्न गाह्रो छ । यो आजको सच्चाइ हो । यतिका सच्चाइका बावजुद पनि आज समाजवादी केन्द्र निर्माणको चर्चा किन गरिंदैछ, यसका फाइदा र बेफाइदा के हुन् भन्ने बारेमा पनि बेलैमा चर्चा गर्न जरूरी छ ।

पार्टी अनेक, समाजवादी गन्तव्य एक

नेपालमा राजनैतिक दलहरूले आफ्नो नामले नै कांग्रेस वा कम्युनिस्टको सन्देश दिने गरेका छन् । खासगरी पार्टीहरू प्रतिबन्ध भएका र सामान्य बोल्ने-लेख्ने हक समेतमाथि प्रतिबन्ध लागेको राणाशासनका बखत राजनैतिक दलहरू भूमिगत अवस्थामा नै खोल्न थालियो । राणाहरू ज्ानताको अधिकारका विरुद्धमा हुँदा तिनैका विरुद्ध संघर्ष गर्नका लागि र राणाशासन अन्त्यका लागि कांग्रेस र कम्युनिस्ट पार्टी गठन भए ।

कांग्रेस पार्टीले आफ्नो ध्येय राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई बनायो भने कम्युनिस्टहरूले गणतन्त्रका साथै समाजवादलाई आफ्नो लक्ष्य बनाए । कम्युनिस्टहरूले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद थियो । जेसुकै होस् आजका दिनमा निर्वाचन आयोगमा दर्ता भएका राजनैतिक दलमध्ये करिब करिब सबैजसो दलको लक्ष्य समाजवाद भन्ने कुरामा विवाद छैन । समाजवादलाई लक्ष्य बनाएका राजनैतिक दलहरूका लागि समाजवादी केन्द्र निर्माणको चर्चा हुनु सर्वाधिक खुसीको कुरा हो ।

यसका बावजुद पनि राजनैतिक पार्टीहरूले आफ्नो पहिचान समेतका लागि नामहरू भने कम्युनिस्ट वा गैर कम्युनिस्ट पार्टी भन्ने स्पष्टै छुटि्टने गरी नामकरण गरेका छन् । राजनैतिक दलहरूका नाम र नेतृत्वमा विमति होलान् तर समाजवादी लक्ष्यका बारेमा विवाद छैन । यसरी हेर्दा राजनैतिक दलहरू अनेक लक्ष्य एक भन्ने कुरालाई स्थापित गर्न समाजवादी लक्ष्य एक भन्न सकिने ठाउँमा आइपुगेका छन् ।

समाजवादी गन्तव्यको आधार नयाँ संविधान

समाजवादी केन्द्रको घोषणा नेपाली राजनीतिको नयाँ र भरपर्दो विकल्प हुने गरी र नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको बाँकी कार्यभार सम्पन्न गर्ने गरी समाजवादी केन्द्र निर्माणको आवश्यकता र औचित्य छ । यो आवश्यकता र औचित्य सावित गर्ने ठोस नीति र कार्यक्रमको खाँचो छ

नेपालमा राजनैतिक परिवर्तनका लागि पटक-पटक हतियार उठ्यो । राणाशासनका विरुद्ध उठेको हतियार राणाशासन अन्त्यसँगै व्यवस्थापन भयो । राणाशासनको अन्त्य गर्ने दिल्लीमा सम्पन्न त्रिपक्षीय सम्झौताले अब नेपालमा जनताले चुनेका वैधानिक प्रतिनिधिहरूद्वारा बनाएको संविधान बमोजिमको गणतन्त्रात्मक शासन व्यवस्था हुनेछ भन्ने घोषणा गरेको थियो ।

पञ्चायत विरुद्धका पटक-पटकका आन्दोलनहरूमा गणतन्त्र र समाजवाद न्यूनतम लक्ष्यका रूपमा परिभाषित थिए । २०३६ सालको जनमत संग्रह होस् वा २०४६ सालको जनआन्दोलनको मर्म र भावना नै किन नहोस्, गणतन्त्र र समाजवादभन्दा तलको थिएन । तर दुर्भाग्य नै भन्नुपर्छ नेपालमा ठूला-ठूला आन्दोलनहरू भए, तिनको अन्त्य सम्झौताबाट भयो ।

आन्दोलनहरू सम्झौतामा टुंगिने तर सम्झौता कार्यान्वयन सत्ता पक्षले इमानका साथ कहिल्यै नगर्ने कुरा आम मान्यताका रूपमा रहिआयो । जनविद्रोह होस् वा २०६२/६३ को संयुक्त जनआन्दोलन होस्, कसैले पनि आन्दोलनको बलमा गणतन्त्र वा समाजवादी लक्ष्य भेट्न सकेनन् । आन्दोलन सम्झौतामा टुंगिए पनि सम्झौताको कार्यान्वयनमा सधैं समस्या पर्ने भएका कारणले नेपाली जनताको अभिलाषा गणतन्त्र र समाजवाद देख्न चियाउन पाएनन् ।

बल्लतल्ल संविधानसभाबाट बनेको नयाँ संविधानले भने गणतन्त्रसहित समाजवादको लक्ष्य निर्धारण गर्न सम्भव भयो । त्यही संविधानको आलोकमा आज नामले वा लक्ष्यले हरेक राजनैतिक दल समाजवादी कित्ताको बन्न पुगेको छ । यति हुँदाहुँदै पनि समाजवादी केन्द्र निर्माणको चर्चा छ । त्यो चर्चाले सार्थकता प्राप्त गर्ने कुरामा विश्वास गर्ने आधार खडा भइसकेका छैनन् । तथापि दलहरू कुरा गर्न थालेका छन् । यही नै समाजवादीहरूका लागि खुसीको कुरा हो ।

समाजवादी केन्द्रका फाइदा

१. नेपाली राजनीतिको ध्येय देश र जनताको सेवा हो । सेवाको माध्यम राजनीति हो र राजनीतिको ध्येय समाजवाद । कम्युनिस्टहरूको लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवाद र गैरकम्युनिस्टहरूको भने लोकतान्त्रिक समाजवाद अन्तिम लक्ष्य हो भन्ने कुरा घोषणा गरेका छन् । यस्तो परिवेशमा संविधानले घोषणा गरेको लक्ष्य हासिल गर्न समाजवादी केन्द्रको गठन राजनैतिक रूपमा एक महत्वपूर्ण कोसेढुंगा हुनेछ ।

२. झण्डै ७० वर्षको अनवरत संघर्षको माध्यमबाट संविधानसभाबाट प्राप्त गरेको नयाँ संविधान कार्यान्वयन भएका बखत मात्रै राजनैतिक दलको लक्ष्य र जनताको अपेक्षा पनि पूरा हुने हो ।

जनताको अपेक्षा र राजनैतिक दलहरूको लक्ष्य समाजवाद हो भन्ने बारेमा संविधान मार्फत घोषणा भएको छ । समाजवादी लक्ष्य हासिल गर्ने कुरामा दलहरू एकमत हुने र समाजवादी केन्द्र खडा गर्ने कुरा संविधान कार्यान्वयनको कोसेढुंगा हुनेछ ।

३. राजनैतिक दलहरूमा देखा परेको विचारविहीनता र गन्तव्यहीनता दुवैको अन्त्य समाजवादले गरिदिनेछ । समाजवादको लक्ष्य प्राप्त गर्ने कुरा समाजवादी केन्द्रको स्थापना आफैंले पनि एक महत्वपूर्ण सन्देश दिनेछ ।

४. समाजवादको लक्ष्यमा स्पष्ट हुँदै समाजवादी केन्द्र खडा गर्न सक्दा नेपाली राजनीति संविधानको पक्षमा एकताबद्ध हुनेछ । जो समाजवादी केन्द्रका विपक्षमा उभिनेछन्, उनीहरू प्रतिक्रियावादी पुनरुत्थानवादी र प्रतिगामी ठहरिनेछन् । यसले नेपाली राजनीतिको अग्रगामी धार थप सुस्पष्ट र सफा हुनेछ । समाजवादी केन्द्रको स्थापनाले राजनैतिक रूपमा देखा परेको अलमललाई चिर्न थप मद्दत मिल्नेछ ।

समाजवादी केन्द्रका बेफाइदा

१. नयाँ संविधानले समाजवादी लक्ष्यका बारेमा स्पष्ट गरे पनि राजनैतिक दलहरू पुरानो धङधङीबाट मुक्त हुनसकेका छैनन् । त्यसैको परिणाम एमाले जनताको बहुदलीय जनवाद भन्न छाडेको छैन । यसैगरी कांग्रेस राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई कार्यक्रमका रूपमा होइन, केवल नाराका रूपमा सीमित पार्ने खेलमा मस्त छ ।

बाँकी क्रान्तिकारी दलहरू पनि परम्परागत कम्युनिस्टहरूले प्रयोग गर्ने जार्गनहरूबाट मुक्त हुनसकेका छैनन् । आजका मितिमा पनि उनीहरूले प्रयोग गर्ने भाषा भनेको उन्नाइसौं शताब्दीमा प्रयोग गरिने भाषाहरू ज्ानवाद, जनवादी क्रान्ति, बल प्रयोग र सर्वहाराको अधिनायकत्व जस्ता जार्गनबाट मुक्त हुनसकेको अवस्था छैन । समाजवादी केन्द्र निर्माण हुनासाथ एकाएक सबै समाजवादी हुने सम्भावना छैन ।

२. समाजवादी केन्द्र खडा भए पनि आ-आफनो चुलाचौका चलाएर नेता भइखाएकाहरूलाई एकाएक एकअर्कालाई वा अरू कसैलाई पनि नेतृत्व स्वीकार गर्ने आदत देखापर्दैन । समाजवाद स्थापनाका लागि समाजवादी केन्द्र स्थापना गर्ने भन्ने कुरामा नीतिगत रूपमा सहमत भए पनि व्यावहारिक रूपमा सहमत हुन सहज देखिन्न ।

३. वैचारिक मतभेद विरलै र अधिकांशतः नेतृत्व र व्यक्तित्वको टकरावका कारणले विभाजित भएका राजनैतिक दलहरूलाई समाजवादी केन्द्रको नामले एकठाउँमा जम्मा गर्न त सम्भव होला तर राजनैतिक दलका रूपमा संगठित गर्न कठिन हुनेछ ।

४. समाजवादपछिको विवाद संविधानले भनेको लोकतान्त्रिक समाजवाद कि परम्परागत रूपमा कम्युनिस्टहरूले भन्दै आएको वैज्ञानिक समाजवाद भन्नेमा राजनीति फेरि विभाजित हुने खतरा कायमै छ । समाजवादी केन्द्र खडा गर्दैमा नेपाली राजनीतिमा कायम भइआएको टुटफुट, विभाजन र विसर्जनको एकमुष्ट औषधि देखा पर्दैन । फेरि पनि कम्युनिस्ट र गैरकम्युनिस्टमा विभाजन त छँदैछ । समाजवादी केन्द्र खडा गरेकै कारणले राजनीति केवल त्यही दुई धारमा मात्रै विभाजित भएर सकिने छैन ।

५. समाजवादी केन्द्र निर्माण गरे पनि नेपाली राजनीतिको केन्द्रमा कम्युनिस्ट वा कांग्रेसका नाममा जनमत विभाजित भएको र सोही आधारमा भोट पाउँदै आएको भन्ने तथ्य त्याग्न दलहरू नै लाग्ने छैनन् । तब आ-आफ्ना चुलाचौकासहितका दलहरूलाई समाजवादी केन्द्रमा रूपान्तरण गर्न दलहरू तयार हुने सम्भावना कमै छ । यस्तो अवस्थामा समाजवादी केन्द्र खडा नहुँदै असफल हुने खतरा पैदा हुनेछ ।

६. समाजवादी केन्द्र खडा गरे पनि त्यो केन्द्रमा एमाले सामेल हुनेछैन । यस्तो अवस्थामा कम्युनिस्ट पार्टीका नाममा प्राप्त गरिआएको मतलाई थापेर बस्ने काम एमालेले गर्नेछ । गैरकम्युनिस्ट मत समाजवादी केन्द्रमा पर्नेछ । यस्तो अवस्थामा पनि एमालेले फाइदा लिनेछ जो समाजवादी केन्द्रको सारथि बन्न तयार छैन । फेरि पनि समाजवादी केन्द्र खडा गर्नेहरूका लागि कुनै फाइदा हुने छैन । यस्तो अवस्थामा समाजवादी केन्द्र आफैंमा सफल हुनेछैन । सफल नहुने समाजवादी केन्द्र घोषणा गर्नुको पनि खास अर्थ हुने छैन ।

निष्कर्ष

समाजवादी केन्द्रको स्थापनाका फाइदा र बेफाइदाको आकलनका आधारमा समाजवादी केन्द्र घोषणा गर्ने वा समाजवादी गन्तव्यलाई लक्ष्य बनाउने दलहरूका बीचमा न्यूनतम समझदारी कायम गरी आगामी चुनावी तालमेल गर्ने भन्ने बारेमा निक्र्योलमा पुग्न जरूरी देखिन्छ । कम्युनिस्ट पार्टीका नाममा प्राप्त झण्डै दुईतिहाइ मत समाजवादी केन्द्रमा रूपान्तरण हुने ग्यारेन्टी के हो ? त्यसको आकलन नगरी गरिने समाजवादी केन्द्रको घोषणा प्रत्युत्पादक हुने खतरा पनि त्यत्तिकै छ ।

यसतर्फ चनाखो हुँदै कम्युनिस्ट चेतनाले लैस जनता, मतदाता, कार्यकर्ता र नेताहरूको पंक्तिलाई एकताबद्ध गर्न सकिने बलियो आधार खडा गरेर मात्रै समाजवादी केन्द्र घोषणा गर्न सके त्यसको सकारात्मक परिणाम प्राप्त हुनेछ । अन्यथा बेवारिसे दल, अन्यमनस्कमा अलमलिएका नेता र अराजकताका पर्याय बनेका कार्यकर्ताहरूको स्वार्थ त पूरा होला, आम रूपमा देश र जनताको हित प्रवर्द्धन हुने देखिन्न ।

तसर्थ, समाजवादी केन्द्रको घोषणा नेपाली राजनीतिको नयाँ र भरपर्दो विकल्प हुने गरी र नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको बाँकी कार्यभार सम्पन्न गर्ने गरी समाजवादी केन्द्र निर्माणको आवश्यकता र औचित्य छ । यो आवश्यकता र औचित्य सावित गर्ने ठोस नीति र कार्यक्रमको खाँचो छ ।

लेखकको बारेमा
खिमलाल देवकोटा

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?