+
+

माल्दिभ्सविरुद्ध जित : कप्तान आयुषलाई ‘बर्थडे गिफ्ट !’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन १० गते ७:२१

१० साउन, काठमाडौं । दीपेश गुरुङको त्यो वन्डरफुल गोल । माल्दिभ्सविरुद्ध ४-० को शानदार जित । अनि कप्तान आयुष घलानलाई ‘स्वीट बर्थडे गिफ्ट’ ।

सोमबार यु-२० राष्ट्रिय फुटबल टिमका कप्तान आयुष घलान १९ वर्षमा प्रवेश गरे । यही दिन उनले विशेष बर्थडे गिफ्ट पाए ।

भारतको उडिजा राज्यस्थित भुवनेश्वरमा आजदेखि सुरु साफ यु-२० च्याम्पियनसिपको पहिलो खेलमै नेपालले माल्दिभ्सलाई ४-० ले हराएर शानदार सुरुवात गर्‍यो । यही जित कप्तान आयुषलाई आफ्नो जन्मदिनको विशेष उपहार बन्यो ।

खेलपछि नेपालका प्रशिक्षक मेघराज केसीले पनि आफ्ना कप्तानको लागि विशेष उपहार भएको प्रतिक्रिया दिए । ‘आज हाम्रो कप्तानको जन्मदिन हो । हामीले पनि कप्तानलाई जन्मदिनमा राम्रो गिफ्ट दियौं,’ पोष्ट म्याच कन्फ्रेन्समा खुशी देखिएका केसीले भने ।

कप्तान आयुषले सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका छन् र गोल समेत गरिसकेका छन् । उनले पहिलो पटक उमेर समूहको राष्ट्रिय टिममा खेल्दै कप्तानी गरेका हुन् ।

उमेर समूहमा लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता, त्यसमा पनि पहिलो खेलमै खेल्नुपर्दा कस्तो नतिजा आउला भन्ने हुन्छ । तर कालिंगा स्टेडियममा नेपालले माल्दिभ्सको पोष्टमा चार गोल प्रहार गर्दै क्लिन सिट राख्न सफल भयो । दक्षिण एसियाका पाँच राष्ट्र सम्मिलित च्याम्पियनसिपमा नेपालले ३ अंक समेत जोड्यो । यसको महत्व किन छ भने च्याम्पियनसिपले सबै टिमले एक आपसमा खेल्नेछन् र धेरै अंक जोड्ने दुई टिमले फाइनल खेल्नेछन् । त्यसैले पनि यो ३ अंक नेपालको लागि फाइनलको यात्रा तिर लम्कने पाइला बन्न सक्ने छ ।

खेलको सुरुमा दुबै टिमको प्रदर्शन उस्तै थियो । तर ४२ औं मिनेटमा जब दीपेश गुरुङले उत्कृष्ट गोल गरे त्यसले खेलमा रोमाञ्चकता ल्यायो । कप्तान आयुष घलानको छोटो फ्रिकिक माल्दिभ्सका गोलकिपरले पन्च गर्दै खतरा टारेका थिए । तर बक्स बाहिर रहेका दीपेशले त्यही बलमा उत्कृष्ट फिनिसिङमार्फत गोल गरे ।

दोस्रो हाफमा नेपालले १२ मिनेट भित्र दुई गोल थप्यो । ५७ औं मिनेटमा सुगम सुवालले गोल गर्दै अग्रता दोब्बर पारे । कप्तान आयुष घलानलाई लडाएपछि प्राप्त पेनाल्टीमा कृतिश रत्न छुन्जुले ६२ औं मिनेटमा गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा कृतिशको स्थानमा ८८ औं मिनेटमा मैदान प्रवेश गरेका मनग्य नकर्मीले इन्जुरी टाइमको अन्तिम समयमा गोल गर्दै नेपालको ४-० को जित सुनिश्चित पारेका थिए ।

प्रशिक्षक केसीले यो जित कडा मिहिनेतको प्रतिफल भएको बताए । ‘हामीले यसको तयारीमा धेरै मिहिनेत गरेका थियौं । धेरै राम्रो खेल्यौं । माल्दिभ्सले पनि राम्रो खेल्यो । तर हामीले कडा मिहिनेत गरेर जित्यौं,’ केसीले भने, ‘यो पहिलो खेल हो । अर्को खेलमा अझ राम्रो खेल्नेछौं ।’

पहिलो खेल नै जितेपछि नेपाल फाइनल पुग्ने सम्भावना पनि बलियो पारेको छ । तर प्रशिक्षकले फाइनल भन्दा पनि अर्को खेलमा ध्यान दिने बताए । ‘हामी यहाँ ट्रफीका लागि हौं । हामी अहिले फाइनल भन्दा अर्को खेलमा केन्द्रित छौं । फाइनल अझै टाढा छ,’ उनले भने । नेपालले अब बुधबार श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्नेछ ।

पहिलो खेलमै फराकिलो जितपछि यसले आगामी खेलमा उर्जा थप्ने प्रशिक्षक केसीको विश्वास छ । ‘सकारात्मक पक्षको पहिलो खेलमा जितले खेलाडीलाई मोटिभेट गर्छ र अर्को खेलका लागि आत्मविश्वास बढाउँछ,’ उनले भने ।

उनले कुनै खेलाडीले भन्दा पनि समग्र नेपाल टिमले राम्रो खेलेको बताए । साथै यस च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्नेले राष्ट्रिय टिममा पनि स्थान पाउने उनको विश्वास छ ।

माल्दिभ्सका प्रशिक्षकले भने- नेपालले राम्रो खेल्यो

यस्तै माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए । उनले भने, ‘सर्वप्रथम नेपाललाई बधाई । उनीहरुले हामीभन्दा धेरै राम्रो खेले । तर ४-० को अन्तर धेरै ठूलो हो र हामीले यसलाई स्वीकार्नुपर्छ । केटाहरुले राम्रो प्रदर्शन दिए तर आज हाम्रो दिन थिएन ।’

उनले नेपाली टिम मालदिभ्सको टिम भन्दा राम्रो रहेको बताउँदै उनले आफ्नो टिममा सुधार गर्नुपर्ने बताए । ‘नेपाली टिम हामी भन्दा राम्रो थियो । हामीले धेरै सुधार गर्नुपर्छ । आगामी दिनमा डिफेन्स र मिडफिल्डमा सुधार गर्नुपर्छ,’ उनले भने ।

उनले मालदिभ्सले गोल गर्ने दुई-तीन वटा अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताए ।

तस्वीर सौजन्य : साफ

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?