
११ साउन, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले केही समय पहिले सुन तस्करीको एउटा अनौठो घटना फेला पारे । कहिल्यै अनुमान समेत नगरिएको त्यो तस्कारीको जुक्ति थियो ‘कपडा नै सुनको झोलमा चोबेर लगाइएको जस्तो ।’ वैदेशिक रोजगारीबाट आउने युवाले लगाएको उक्त कपडाबाट सुन छुट्याउन भन्सारका कर्मचारीले कपडा नै जलाउनु परेको थियो ।
१३ मंसिर २०७८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झिटीगुन्टाको सुविधामा कडाइ सुरु भयो । विदेशबाट फर्किने नेपालीले सुनका गहना ल्याउन पाउने सुविधालाई देखाएर अवैध रुपमा सुन आइरहेको भन्दै विमानस्थल भन्सारले थालेको कडाइमा असारसम्म ४८० किलो सुन राजश्वको दायरामा आयो । विमानस्थल भन्सार प्रशासक महेश भट्टराईका अनुसार ७ महिनामा राजस्वको दायरामा ल्याइएको सुनको लागत ३ अर्ब ८० करोड रुपैयाँ हाराहारी छ ।
राजश्वको दायरामा ल्याएकामध्ये झिटीगुन्टा सुविधा र तस्करले भरिया बनाएर नेपाल पठाएका सुनको हिस्सा धेरै भेटिएको भट्टराईले सुनाए । हवाइ यात्राबाट नेपाल प्रवेश गर्ने प्रमुख बिन्दु त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा पछिल्लो समय दिनहुँजसो सुन तस्करीका घटनामा संलग्न व्यक्तिहरु पक्राउ परिरहेका छन् । उनीहरुले सुन लुकाउन अपनाएका जुक्ति झन् अचम्मका छन् ।
‘सुन तस्करीमा संलग्न गिरोहले ल्याउने वा भरियालाई बोकाउने तरिकामा पनि परिवर्तन गर्दै लगेको देखिन्छ’, प्रमुख भन्सार प्रशासक भट्टराई भन्छन्, ‘केही घटना साँच्चै अचम्म लाग्ने खालका छन् ।’ सुनको चोरी पैठारीमा संलग्न गिरोहले अपनाउने रणनीति भन्दा एक कदम अघि रहेर भन्सार प्रशासनको जनशक्ति, संरचना र मेशिन उपकरणमा परिवर्तन अनिवार्य भएको उनी बताउँछन् ।
विमानस्थलबाट सुन भित्र्याउन प्रयोग गरिएका १५ फरक फरक जुक्ति विमानस्थल भन्सारका अधिकृत ठाकुर गौतमको सहयोगमा हामीले प्रस्तुत गरेका छौं ।
डाइपरको टिपबटममा सुन
सामान्यतया शिशुको डाइपरको टिपबटममा सुन हुने परिकल्पनै गरिन्न । तर, बाहिरबाट हेर्दा टिनको कभर जस्तो मात्रै देखिने टाँकमा भित्रबाट सुन राखिएको भन्सारले फेला पार्यो । एक्सरे जाँच गर्ने क्रममा भेटिएको सुनसहित सुन ल्याउने मानिसलाई भन्सारले कानुनी दायरामा ल्याएको थियो ।
इमरजेन्सी लाइटको ब्याट्रीमा सुन
विमानस्थल भन्सारले सुन ल्याउन कडाइ गर्न थालेपछि तस्करीका नयाँ नयाँ उपाय खोज्ने क्रममा लगाइएको यो अर्को जुक्ति थियो ।
विदेशबाट फर्किएका एक यात्रुले बोकेको इमर्जेन्सी लाइटको ब्याट्री र सुनको दृश्य एउटै देखिने हुँदा तस्करले लाइटको ब्याट्रीको बीचमा राखी सुनको पाना बनाएर ल्याएको थियो ।
मलद्वारमा लुकाएर सुन
दुबईबाट नेपाल आउने एक भारतीय नागरिकलाई भन्सारको मेटल डिटेक्टरले शंकास्पद देखायो । अस्पताल लगी एक्सरे जाँच गर्दा मलद्वारबाट दुई क्याप्सुल सुन फेला पारेको थियो ।
त्यसपछि पक्राउ परेका भारतीय नागरिकको बयानपछि सुन तस्करीमा संलग्न अन्य व्यक्ति पनि पक्राउ परेका थिए । त्यसपछि भने यही विधि लगाएर सुन तस्करी गरेको नपाइएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
पङ्खाको मोटरमा सुन
धेरै नेपाली पर्यटक भिसामा दुबई जाने र त्यहाँ काम खोज्ने गर्छन् । तर सबैले काम पाउन सक्दैनन् । काम नपाएर अलपत्र परेकाहरुलाई तस्करले सुन बोक्ने भरिया बनाएको खुलेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
तस्करले दुबईमा आश्रय दिने र नेपाल फर्किन टिकट काटिदिने त्यसवापत नेपालमा सामान पठाइदिनुपर्ने शर्त राख्ने गरेका छन् । यस्तै एक व्यक्तिले ल्याएको कार्टुन भन्सारमा चेकजाँच गर्ने क्रममा टेबुल पङ्खाको मोटर शंकास्पद देखियो । उक्त पंखा काटेर हेर्दा सुन राखेको भेटिएको थियो । सो मोटरमा कहीँ कतै पछि जोडेको नदेखिएकाले जडान गर्दैमा सुन राखेको पाइएको भन्सार कार्यालयले जनाएको छ ।
राइस कुकरको बेसमा सुन
सामान्यतः राइस कुकुरमा सुन राखिन्छ भन्ने कल्पना हुन्न । तर, राइस कुकर फिटिङ गरेकै बेला सुनको पाता राखेर बनाइएको भन्सारको जाँचमा फेला पर्यो ।
हेर्दा साधारण देखिने नयाँ राइस कुकरको बेसमा शंका लागि भन्सारका कर्मचारीले काटेर हेर्दा क्वाइल हुने ठाउँमा सुनको पाता राखेको पाइएको थियो ।
ओलिभ आयल भनेर सुन
एक जना यात्रुले तीन बोतल तेल जस्तै झोलिलो वस्तु लिएर विदेशबाट फर्किए । उनले विमानस्थल भन्सार कार्यालयलाई उक्त पदार्थलाई ओलिभ आयल भनी दावी गरेका थिए ।
यात्रुको हाउभाउमा शंका लागेर भन्सार कार्यालयले ती व्यक्तिलाई पक्राउ गरेर तेलको परीक्षण गर्दा प्रयोगशालाले त्यो झोल सुन भएको पुष्टि गरेको थियो ।
भित्री बस्त्रमा सुन
सुन तस्करले बेसार जस्तो धुलो बनाई दुई प्याकेट पुरूषको भित्री वस्त्रमा सिलाएर ल्याएको भन्सारका कर्मचारीले फेला पारेका थिए ।
साउन्ड सिष्टममा सुन
दुबई र कुवेतबाट आएका ११ जना नेपालीले ल्याएको स्पिकर फुटाएर हेर्दा चुम्बक हुने ठाउँमा सुन राखेको भेटिएको थियो ।
उनीहरुले आफूहरुलाई अरुले नै काठमाडौं लगिदिन सामान पठाएको बताएपछि तस्करले भरिया बनाएको खुलेको थियो ।
लगेजको ह्याण्डलमा सुन
तस्करीको लागि मानिसले के के गर्नसम्म पछि पर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हो लगेजको ह्याण्डलमा भेटिएको सुन ।
विदेशबाट फर्किने एक व्यक्तिले सुनलाई तार जस्तो बनाएर ह्यान्डलमा राखेर ल्याएका थिए । जसलाई भन्सारमा एक्सरे चेकजाँचका क्रममा पत्ता लगाइएको थियो ।
दाउको बिंडमा सुन
तनहुँबाट रोजगारीका सिलसिलामा दुबई गएका तनहुँका एक युवकलाई घर फर्किने बेलामा कसैले नेपाल लगिदिनू भनेर सामानको प्याकेट दिए ।
उक्त सामान भन्सारमा चेकजाँच गर्दा दाउ भेटियो । तर, दाउको बिंडमा बाहिरबाट हेर्दा फलामजस्तो देखिन्थ्यो तर, भित्री भागमा सुन राखिएको भन्सार जाँचमा पत्ता लाग्यो ।
टीभीभित्र सुनको डण्डी
विमानस्थल भन्सार कार्यालयबाट दैनिकजसो सयौं टीभी नेपाल भित्रिन्छ । एक दिन यस्तो टीभी भेटियो, जसमा भित्र सुनको डन्डी भेटियो ।
अरु टीभी भन्दा फरक लागेर खोलेर हेर्दा सुनको डन्डी भएको पाइएको थियो ।
मसला कुट्ने ओखलमा सुन
भिजिट भिसामा दुबई गएर फर्किएका एक नेपालीले ल्याएको एउटा फलामे ओखल भन्सार कर्मचारीलाई शंकास्पद लाग्यो । काटेर हेर्दा सुन भेटियो । ओखलको उठेको भागमा सुनका लामा लामा चक्की फेला परेका थिए ।
धेरै मात्रामा मसला कुट्ने ओखलहरु भरिया मार्फत ल्याइनु र यसमा सुन हुनु अचम्मको विषय थियो । ती ओखलहरुको आकार केही फरक भएकोले काटेर हेर्दा ओखलको भित्री खोक्रो भागमा सुन भेटिएको थियो ।
सुनको पेटी, खुट्टाको कुर्कुच्चामा सुन
पाइन्टको पेटी लगाउने भागमा सुनको लेदो बनाएर पेटी जस्तै गरी एक व्यक्तीले सुन ल्याएका रहेछन् ।
कपडामै सिलाएको अवस्थाको उक्त पेटी कपडाभित्र राखी सिलाएको पाइएको थियो । तिनै मानिसले मोजाको भित्र कुर्कुच्चाको भागमा सुनको लेदो बनाइ प्लाष्टिकमा प्याक गरी ल्याएको पनि पत्ता लागेको थियो ।
कपडामै सुनको लेपन
केही समय पहिले सुन तस्करीको यस्तो घटना बाहिरियो जुन अरुभन्दा पृथक थियो ।
वैदेशिक रोजगारीबाट आउने युवाहरुले लगाएर आएको कपडा नै सुनको झोलमा चोबेर लगाइएको जस्तो देखिन्थ्यो । कपडाबाट सुन छुट्याउन कपडा नै जलाउनुपरेको थियो ।
कार्बन र चाँदीले लेपन गरेर सुन
विदेशबाट आउने एक यात्रुले लगाएको बाला लगायत गहनामा बाहिरबाट हेर्दा चाँदी थियो । काटेर हेर्दा भने सुन भेटिएको थियो ।
भन्सारले थाहा नपाओस् भन्नका लागि कार्बनले र्याप गरेरसम्म सुन ल्याएको पाइएको थियो ।
प्रतिक्रिया 4