+
+

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, पहिलो हुनेलाई ६ लाख

रासस रासस
२०७९ साउन १२ गते ९:२२

पोखरा । पोखरामा बिहीबारदेखि सर्वाधिक पुरस्कार राशी भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुँदैछ । ‘‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो ।

तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख, द्वितीय हुनेले चार लाख, तृतीय हुनेले दुई लाख तथा सान्त्वना हुने समूहले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजारका दरले पुरस्कार प्रदान गरिने दाहालले बताए । कार्यक्रमबाट ५५ लाख रुपैयाँ आम्दानी हुने आयोजक संस्थाले जनाएको छ ।

एक समूहमा महिला र पुरुष एक/एक गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकले नै गर्नुपर्ने छ । लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए । “प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोकबाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ,’ उनले भने ।

नेपाली लोकबाजाको संरक्षण, सम्बर्द्धन गर्न र शेरचनको प्रतिमा निर्माणको योजना प्रतिष्ठानले अघि सारेको छ । बचत रकमबाट लोकबाजा सङ्ग्रहालय स्थापना गरिने छ । कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवं भाकाका गीत संकलन र गायनका साथै नेपाली लोकगीत, नृत्य र संस्कृतिको विकासमा योगदान दिएका स्रष्टा शेरचनको २०६७ माघ २४ गते पोखरामा निधन भएको थियो ।

शेरचनले १६ वर्षे उमेरमा मैं पनि झिल्के हुँदो हो, अहिले पो बुढो भयो र…, सुखी ज्यानलाई गुँदरी काम्लो…, आहा कलिलो तामालाई सोध रामलाई…, ऐ भेना यो सला, ल्याइदेऊ मलाई पछ्यौरी मलमल लगायतका गीत संकलन गरेका थिए । शेरचन नेपाली गीत संगीतको क्षेत्रमा फरक किसिमको स्वाद, शैली र विम्ब भित्र्याउन सफल भएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?