+
+

रोपाईं सकेपछि काम खोज्न फेरि भारततिर

नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपाली श्रमिकहरुको संख्या बढ्न थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १३:५७

१२ साउन, बाँके। नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपाली श्रमिकहरुको संख्या बढ्न थालेको छ ।

असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाईं गरेर नेपालीहरु अयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् ।

धान रोपाईं गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पए पनि उचित पारिश्रमिक नपाउने कारणले दैनिक नेपालीहरु भारत जान बाध्य भएका हुन् । नेपाल भन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीहरुको संख्या बढेको छ ।

पहाडी भेगमा काम पाए पनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेरबहादुर शहीले बताए । उनले आफ्नो गाँउ भनेको जस्तो काम नपाउने र पाएको कामले परिवार पाल्न नै गाह्रो भएकोले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको बताए ।

पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका रामबहादुर बि.क. जेठ महिनामा खेती लगाउनका लागि घर फर्किएका थिए । तर उनलाई भारतमै काम
गर्न सहज भएको कारणले पुनः कामका लागि भारत फर्कन लागेको बताए ।

भारतमा आफूले गरेको कामअनुसार पारिश्रमिक पाउने भएका कारण भारत रोजगारीका लागि जान लागेको कालिकोटका नागरिकले बताए । त्यस्तै सुर्खेतका भारत
जान लाग्नुभएका सुरज विकले परिवार पाल्नका लागि नेपालमा गरेको कामले गुजारा नचल्ने भएपछि भारत जान लागेको बताए ।

पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाईंको काम लगभग सकिएको छ । भारतमा रोजगारीका लागि पुगेका नेपालीहरु वर्षायामको काम गर्न स्वदेश फर्किए
पनि अब बिस्तारै पुनः रोजगारीका लागि भारत नै जान लागेका हुन् ।

सुदूरपश्चिमका नेपाल-भारत सीमानाकामा धेरै श्रमिकहरु भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अहिले दैनिक सयौंको संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका हुन् ।

नेपालमा काम गरे अनुरुपको पारिश्रमिक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरुका लागि पीडाको विषय बनेको छ ।

अधिकांश रोजगारीका लागि भारत पलायन भएका नेपाली नागरिकहरु नेपालमा गरेको कामको पनि उचित पारिश्रमिक नपाएकै कारण भारत कामका लागि जाने गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?