+
+

डोनाल्ड लुको रोमान्टिक खुलासा : नेपाल डुल्दैजाँदा उनीसँग मेराे लभ परेको थियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १५:२२

१३ साउन, काठमाडौं । अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायका विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा छन् । उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसके भने प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

नेपालले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) अघि नबढाउने पत्र पठाए लगतै काठमाडौं आइपुगेका सहायकमन्त्री लुको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

तर लुले भने कुनै राजनीतिक-कूटनीतिक वक्तव्य नदिई नेपालसँग आफ्नो पुरानो चिनारी रहेको खुलाएका छन् भिडियोमार्फत । नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट ‘सेयर’ भएको उक्त भिडियोमा लुले आफू् २९ वर्षअघि नेपाल घुम्न आएको जानकारी गराउँदै त्यो भ्रमणको स्मरण गरेका छन् ।

उनले पहिलो पटक नेपाल भ्रमणमा आएकै बेला आफू प्रेममा परेको समेत खुलाएका छन् । ‘झण्डै ३० वर्षअघि जब म यहाँ आएको थिएँ, म ती युवतीसँग प्रेममा परे, जो आज मेरी श्रीमती छिन्,’ सहायकमन्त्री लुको खुलासा छ ।

अहिले आफूहरुका दुई सुन्दर बच्चा रहेको र उनीहरुको नाम समेत दक्षिण एशियाली परिवेशको रहेको उनले बताएका छन् । ‘हामी विवाहित भएको लगभग २६ वर्ष भयो । हाम्रा दुर्ई सुन्दर केटाकेटी छन्,’ उनले भनेका छन्, ‘जसमध्ये दुवैको नामा दक्षिण एशियामा हामीले बिताएको समयबाट प्रेरित छन्–आलिया र किपलिङ ।’

सन् १९९३ मा दार्जिलिङ हुँदै नेपाल आएको र चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गरेको लुले स्मरण गरेका छन् । उनले सम्झिएका छन्, ‘र, मोटर रिक्सामा सीमा पार गरी नेपाल आएका थियौं । सीमाबाट हामी सार्वजनिक बस चढी तराई हुँदै चितवन राष्ट्रिय निकुञ्ज पुग्यौं र काठमाडौं आयौं ।’

असाध्यै गर्मीका कारण सार्वजनिक बसमा छतमा बसेर यात्रा गरेको सम्झँदै अमेरिकी सहायकमन्त्री लुले भनेका छन्, ‘असाध्यै गर्मीका कारण हामीले अक्सर ती बसका छतमा बसेर यात्रा गरेका थियौं । चितवनमा राष्ट्रिय निकुञ्जभित्र हामी जीप चढेर घुमेका थियौं ।’

छठ पर्वका बेला जनकपुर पुगेको स्मरण गर्दे उनले त्यो क्षण अविस्मरणीय भएको उल्लेख गरेका छन् । ‘जनकपुरमा हामी छठका बेला पुगेका थियौं,’ उनले भनेका छन्, ‘उक्त चाड मनाउन महिलाहरुले पानीमा दियो बगाउँदै गरेको हेर्दै जनकपुरनजिकको नदी पार गरेको म कहिल्यै बिर्सनै छैन । त्यो एकदम सुन्दर थियो ।’

सहायकमन्त्री लुले काठमाडौंमा रहँदा पनि विश्वका उत्कृष्ट मध्येका केही खाना खाएको स्मरण गरेका छन् । ‘काठमाडौंमा हामीले पाटनका अदभुत सम्पदाहरु घुम्यौं । र, विश्वका उत्कृष्ट मध्येका केही खाना चाख्यौं,’ लुले सम्झिएका छन् ।

अहिले काठमाडौं आएकै दिन बिहीबार पनि शाकाहारी मःम खाएको सुनाउँदै उनले भनेका छन्, ‘हिजो साँझ मैले गजब्बको शाकाहारी मःम खाएँ । आज स्वादिलो नेवारी परिकारको खोजीमा रहने छु ।’

भिडियो सम्वादको अन्तिममा उनले नेपाल पहिलो प्रेम परेको ठाउँ भएकाले पनि आफ्नो मुटुको नजिक रहेने उल्लेख गरेका छन् । लुको कथन छ, ‘नेपाल सधै मेरो मुटुको नजिक रहने ठाउँ हो । किनकी पहिलो पटक प्रेममा परेको यहीँ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?