+
+

हस्पिटालिटीमा रोजगारको अवसर, आठ वर्षमा भित्रिंदैछन् दर्जनौं तारे होटल

यादवप्रसाद पाण्डे यादवप्रसाद पाण्डे
२०७९ साउन १३ गते १८:१५

एउटा उदेगलाग्दो अंकगणितीय तथ्यबाट यो आलेख सुरु गरौं ।

सन् २०३० सम्ममा नेपालमा शेराटन, होलिडे इन, क्राउन प्लाजा जस्ता करिब ७० वटा तारे स्तरका होटल भित्रिंदैछन् । नेपालमा अहिले ११ वटा पाँचतारे होटलसहित तारे, बुटिक, रिसोर्ट गरी १५० हाराहारीमा स्तरीय होटल छन् । हाल सञ्चालनमा रहेका र आगामी दिनमा थपिने होटलहरुको उत्साहजनक संख्याले देखाउँछ, अब नेपालमा पर्यटकलाई खान-बस्न कुनै असुविधा हुनेछैन ।

यसको स्पष्ट लक्षण के हो भने हस्पिटालिटी क्षेत्रमा हामीले ठूलो छलाङ मार्दैछौं । यसको सोझो लाभ नेपालको पर्यटन उद्योगले लिनेछ । यो जति उत्साहप्रद विषय छ, उत्ति नै दुःखलाग्दो स्थिति हामीसामु छ ।

नेपालमा हस्पिटालिटी म्यानेजमेन्टका दुई हजार जना ग्राजुएट हुन्छन्, बर्सेनि । त्यसमध्ये लगभग १८ सय जना विदेशिन्छन् । बाँकी रहेका पनि सकेसम्म काठमाडौंमा बस्न र रोजगार गर्न रुचाउँछन् ।

यसबाट बुझिन्छ, हस्पिटालिटी क्षेत्रमा जुन ढंगले भौतिक तयारीका काम भइरहेका छन् त्यस अनुरुप हामीसँग पर्याप्त दक्ष जनशक्ति छैनन् । अहिले सञ्चालनमा रहेका होटल, रिसोर्टहरुमा समेत योग्य जनशक्ति अभाव छ । योग्य र दक्ष जनशक्ति नभएकै कारण कतिपय होटल, रिसोर्टहरु सहज रुपमा सञ्चालन हुन सकिरहेका छैनन् ।

हस्पिटालिटी क्षेत्रले ठूलो जनशक्ति खपत गर्छ । अतिथि सत्कार गर्नेदेखि अनेक व्यञ्जन बनाउनेसम्मका जनशक्ति यस क्षेत्रमा माग हुन्छ । कुक, वेटर, बार टेण्डर, हाउसकिपरदेखि इभेन्ट प्लानर, एक्जुकेटिभ सेप, म्यानेजर जस्ता थरीथरीका काममा रोजगारी पाइन्छन् ।

अब ७-८ वर्षमा जति पनि होटल, रिसोर्टहरु थपिनेछन्, त्यसले यहाँ अथाह रोजगारीको अवसर सिर्जना गर्नेछ । तर दुःखलाग्दो कुरा के छ भने हामीकहाँ पुग्दो जनशक्ति नै छैनन् । भएका जनशक्ति विदेशिएका छन् । बाँकी रहलपहल पनि काठमाडौं केन्द्रित छन् । जबकि पोखरा, मुस्ताङदेखि चितवन, लुम्बिनी जस्ता ठाउँहरुमा पर्याप्त जनशक्ति छैनन् ।

त्यसैले हामीले पहिले त हस्पिटालिटी क्षेत्रका लागि ठूलो जनशक्ति तयार गर्नुपर्नेछ । अब यस्तो नहोस् कि रोजगारका लागि हाम्रा युवाहरु खाडी मुलुकतिर लाग्ने र स्वदेशकै होटल-रिसोर्टहरुमा काम गर्नका लागि विदेशबाट जनशक्ति मगाउनुपर्ने । स्वदेशमै काम सिक्ने र स्वदेशमै रोजगार गर्ने सुनौलो अवसरलाई हामीले सदुपयोग गरौं ।

यत्तिका होटल, रिसोर्ट सञ्चालनका लागि आगन्तुक अर्थात् ग्राहक त चाहियो । हामीले लक्षित गर्ने अधिकांश ग्राहक भनेका विदेशी हुन्, जो हाम्रो आयआर्जनको स्रोत हुन् । पछिल्लो तथ्यांक अनुसार तीन लाख हाराहारीमा पर्यटक भित्रिएका छन्, वर्षमा । यत्तिका पर्यटक अहिले सञ्चालनमा रहेको होटल-रेस्टुरेन्टका लागि पनि पुग्दो छैन । काठमाडौंको होटल सञ्चालनका लागि मात्र यहाँ २ लाख ७० हजार बढी पर्यटक जरुरत हुन्छ । यस हिसाबले हेर्दा हामीलाई देशभरका होटल-रिसोर्ट राम्ररी सञ्चालन गर्नका लागि वर्षमा ५० लाख पर्यटक भित्र्याउन जरुरी हुन्छ । यदि यत्तिका संख्यामा पर्यटक भित्र्याउन सकिएमा हामीले पर्यटन उद्योगमा ठूलो छलाङ मार्नेछौं ।

अब कसरी भित्र्याउने त पर्यटक ?

पर्यटकहरु हिमाल हेर्न वा पदयात्रा गर्न मात्र आउँदैनन् । हामीसँग सगरमाथा छ, लुम्बिनी छ भनेर मात्र पर्यटक आउनेवाला छैन । खासगरी हामीले पर्यटनका लागि विशेष सहुलियतसँगै पूर्वाधारमा ठोस काम गर्नुपर्नेछ । यससँगै सार्थक ढंगले गरिने प्रचारले पर्यटक आगमनको संख्या बढाउन सकिन्छ ।

पर्यटक किन नेपाल आउने ? के हेर्न, के गर्न ? यसमा हामीले समीक्षा गर्नुपर्छ । हिमाल आरोही मात्र नभएर धार्मिक यात्राका लागि पनि नेपालमा थुपै्र पर्यटक आउँछन् । यसरी भिन्नाभिन्नै उद्देश्यका साथ आउने पर्यटकका लागि सोही अनुरुपको पूर्वाधार निर्माण गर्नु जरुरी छ ।

जस्तो रात्रिजीवनका लागि थाइल्याण्ड, समुन्द्री तटमा रमाउनका लागि गोवा, जुवाको लागि लस भेगास, सिनेमाका लागि लस एन्जलस भने जसरी हाम्रा सहरहरुलाई पनि भिन्न-भिन्न विशेषतासहित विकास गर्नु जरुरी हुन्छ ।

हामीले काठमाडौंलाई सम्मेलन गर्ने वा पौराणिक सहरको रुपमा विकास गरियो भने लुम्बिनीलाई फरक ढंगले गर्न सकिन्छ । अहिले कतिपय प्रतिष्ठित संघसंस्थाहरुले भिन्न भिन्न भेन्युमा सभा-सम्मेलन गर्ने चलन छ । यसरी सम्मेलन गर्नका लागि काठमाडौं आउन सक्छन्, यदि हामीले सोही अनुरुपको पूर्वाधार बनायौं भने ।

अर्को महत्वपूर्ण कुरा के भने हामीले पर्यटन विकासका लागि आकर्षित गर्नुपर्ने भनेको चीन र भारतलाई हो । यही दुई मुलुकका पर्यटकले नै हामीलाई कल्याण गर्न सक्छन् । यसका लागि पर्यटनस्थलको मार्केटिङ रणनीति फरक ढंगले तय गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?