+
+
संस्मरण :

चिलिमेको यात्रा

शिलाले हेरेको ऐना मेरै अनुहार थियो जहाँ उसको जस्तै उदासी पोतिएको थियो। शिला बल्ल त्यतिबेला खुसीले मुस्कुराई जतिबेला उसको अप्ठेरो मेरो अनुहारमा देखिएको थियो।

सुरेश बडाल सुरेश बडाल
२०७९ साउन १४ गते १८:५९

“पर्सि तातोपानी जानुपर्छ”, बाहिरबाट आउँदाआउँदै भान्साकोठाको ढोकामा उभिएर बाले भन्नुभयो। चुल्होछेउमा बसेकी आमाले मेरो अनुहारमा हेर्नुभयो। पिर्कामा बसेर एक्लै भात खाइरहेको मैले चपाइरहेको मुखको रफ्तार घटाएँ। बाको कुरा सुन्न खोजें। तर अरु केही नभनेर बा हातगोडा धुन धारातिर जानुभयो।

धरोधर्म मैले केही बुझिनँ। कता जाने कुरा हो यो ? अनि किन जाने ? कोको जाने ? यी सबै प्रश्न मेरो अनुहारमा सोहोरिएर आए। मेरो अनुहार पढेर आमाले भन्नुभयो, “तेरै लागि जाने हो चिलिमेको तातोपानी नुहाउन।”

मैले बल्ल कुरा बुझें।

मेरा हातगोडाका जोर्नीहरू सुन्निएका थिए। हिंड्दा पनि दुख्थ्यो। उफ्रिन, खेल्न सकेको थिइनँ। सुरुमा नुनपानीले सेकिएको थियो। पछि शिलाजित दलिएको थियो। बिजुलीको तेल, राइफलको तेल सबै दलिएको थियो। गाईको घिउको मालिस आदि इत्यादि सबै तौरतरिका अपनाइसकेपछि जब म थला परेर ओछ्यानमै पिसाब गर्न कोपरा मगाउने अवस्थामा पुगेको थिएँ, बल्ल अस्पताल जाने साइत जुरेको थियो। अस्पताल ढिला जानुमा रुढिवादी र पछौटेपन केही पनि थिएन कारण। बा मास्टर थिए। गाउँकै भए पनि बोर्डिङमा म आफैँ पढ्दै थिएँ। मात्र एउटा धारणा व्याप्त थियो कि बाथरोगको उपचार डाक्टरले गर्न सक्दैन। यसको उपाय भनेको घरेलु उपचार नै हो।

म बाथरोगी भएँ। जब घरेलु उपचारले पनि मेरो व्यथा बीसको उन्नाइस भएन, अनि म अस्पताल लगिएको थिएँ। बाथरोग भनेपछि डाक्टर पनि बिरामीकै कुरा सुन्न चाहन्थे। बिरामीबाटै सिक्न चाहन्थे। सोध्थे, “के के खाँदाचाहिं बढी दुख्छ ? के के खानेकुरा खाँदाचाहिं कम दुखेजस्तो हुन्छ ?” सायद डाक्टर आफैं पनि आफूले दिने औषधिमा आत्मविश्वासी थिएनन्। उनी यस्तै अन्तर्वार्ताहरूको मौखिक अनुसन्धान गर्दथे। र अरु बिरामीहरूलाई बताउँथे, “गेडागुडी कम गर्नुस्, रातो मासु कम गर्नुस्, दही–मही नपिउनुस्, गाईको दुध पिउनुस्” इत्यादि। आफ्नो धर्म छोड्न भएन भनेर पेनकिलर पनि लेखिदिन्थे जो मलाई पछि आफैं अलि जान्नेसुन्ने भएपछि थाहा लागेको थियो।

बरु अनुभवी त अस्पतालको ढोकामा बसेर नाम बोलाउने मान्छे थिए। खुट्टा खोच्याउँदै ल्याइएको बाह्र वर्षे किशोरलाई देखेर उनको मन पग्लिएछ क्यारे। भने, “बरु कतै तातोपानीको कुण्ड या मुहान छ भने त्यता लगेर चोबल्दिनुस् न दुईचार दिन। गन्धक मिसिएको पानीले चट्टै गर्छ एक–डेढ वर्षको लागि।”

अस्पतालबाट आएपछि पनि मेरो दुखाइ कम भएन। पेनकिलर खाउन्जेल निको भएजसरी कुदें। जब औषधि सकियो, तब भान्छे निस्केको चाल पाएर सुस्तरी अँगेनातिर लम्किएको बिरालोझैं आइपुग्यो जोर्नीहरूमा दुखाइ। बाआमा म हाँसेर यताउता कुदेको देख्नुभो भने खुसी हुनुहुन्थ्यो। अलिअलि खुट्टा खोच्याएँ भने निन्याउरो अनुहार पार्नुहुन्थ्यो। म “ऐया ऐया” भनेर ठस् ठस् कन्न थालें भने त झन् झोक्राएर खानै खानु हुन्नथ्यो।

आफूलाई दुख्दा आफूलाई मात्र दुख्दो रहेनछ। बाआमालाई पनि प्रशस्त दुख्दो रहेछ। मलाई कहिलेकाहीं लाग्थ्यो जति दुखे पनि सहुँ, नरोउँ ताकि बाआमा खुइय्य खुइय्य गर्दै रातभर गुनगुन गुनगुन गरेर बात नमारुन्। नरुन त सकिंदो रहेछ। नदुखेजस्तो पनि गर्न सकिंदो रहेछ। तर भिजेका तकियाले कहाँ लुकाउन सक्नु पीडा। पिसाब गर्न पनि कोपरा मगाउनु पर्दा कसरी ढाँट्न सक्नु र रोग ?

मैले मेरो रोगमा जति आमालाई दुखी पाएँ, बालाई झन् धेरै चिन्तित देखें। बा सधैंभरि जब बाहिरबाट घर आउनुहुन्थ्यो, सीधै आमालाई सोध्नुहुन्थ्यो, “त्यसलाई कस्तो छ आज ?”

आमा खुइय्य गर्नुहुन्थ्यो। अनि बा एउटा चुरोट सल्काएर एकोहोरो तानेको तान्यै गर्नुहुन्थ्यो। जब कुनैदिन दुखाइ पनि थाक्थ्यो या बिदामा बसेको हुन्थ्यो (हाल यो निकै अपवाद थियो), आमा “खै आज त अनुहार उज्यालो छ, खेल्न पनि गएर आयो अघि” भन्नुहुन्थ्यो। बा निधारबाट चिन्ताका रेखाहरू मेटेर टीभीमा कृषि कार्यक्रम हेर्न थाल्नुहुन्थ्यो। अनि आमालाई भन्नुहुन्थ्यो, “हेर् यी यसैगरी बंगुरपालन गर्ने हो, अर्ग्यानिक तरकारी खेती गर्ने हो, नमूना कृषक बन्ने हो रिटायर्ड भएपछि।” आमा पनि मुसुमुसु हाँस्दै भान्छाबाट टीभी कोठातिर मुन्टो तन्काउनुहुन्थ्यो।

जब डाक्टर पनि असफल हुन्छ, कुनै उपाय पनि सुझ्दैन, तब अनुभवीहरू काम आउँछन्। उनीहरूका सुझाव काम लाग्छन्। अस्पतालको ढोकामा नाम बोलाउने मान्छेको सुझाव बालाई अबको विकल्प लागेको थियो। त्यसैले चिलिमे जाने तयारी गरेर घर आउनुभएको थियो।

हाम्रो चिलिमे यात्राको तयारी सुरु भयो। आमाले सिरक, डसना, भाँडाकुँडा सबैको भारीगुन्टा कस्नुभो। बाले गाउँका अरु मान्छेहरू पनि जाने भएपछि एउटा बस रिजर्भ गर्नुभो। भोलि जानु थियो अँधेरोमै। झिसमिसेमै काट्नु थियो कालिकास्थान। बिहान खाना खानेबेलामा त पुग्नु थियो धुन्चे। त्यसैले भारीगुन्टा कसेर बेलैमा सुतियो।

रातभर भोलिको यात्रा मनमा खेलिरह्यो। अहिलेसम्म कतै टाढा नगएको म। पहिलोचोटि जाँदै थिएँ नौलो ठाउँ। कस्तो होला नयाँ ठाउँ, कस्ता होलान् त्यहाँका मान्छे ? मलाई अरुभन्दा पनि यात्रामा मीठामीठा कुरा खान पाइने भो भन्ने कुराले खुसी तुल्यायो। नदेखेको ठाउँको कल्पना गर्नु, नभेटेका मान्छेका स्वरूप अड्कल काट्नु जति मजा अरु केमा होला र। यस्तै तिलस्मी सपना र रुमानी कल्पना गर्दागर्दै रात ढलेछ। मलाई त आँखा झिमिक्क पनि भएजस्तो लागेको थिएन, तर उठ्ने बेला भैसकेछ।

आमाले खत्र्याङखुत्रुङ भाँडाकुँडा बजाउन थाल्नुभो। हजुरआमा ख्वाक्कखुक्क खोक्न थाल्नुभो। उता धारामा गएर बाले डाँडाखोला थर्किने गरेर खाकलखुकुल गर्दै दाँत माझ्न थाल्नुभो।

“ओई उठ् उठ् कति सुतिरा तातोपानी जानी मान्छे” दिदी मलाई उठाउन आउनुभयो।

निदाएको भए पो सुतिराको भन्नु। रातभर आँखा खुल्लै पारेर पल्टेको मान्छेलाई के सुतिराको भन्या होला। तैपनि चुपचाप उठें। मलाई भन्दा पनि रौनक त दिदीलाई लाग्या रहेछ। उहाँ किन यति फुरुंग पर्नुभएको छ मलाई थाहा थिएन। तर पछि थाहा पाएँ। यात्रामा खान भनेर बाले एक कार्टुन चाउचाउ ल्याउनुभएको थियो। त्यसबाट दुई पोका दिदीले आफ्नो लागि राख्नुभएछ। एक प्याकेट दालमोठ थियो। त्यसबाट पनि उहाँले एक कचौरा आफ्नो भाग लगाउनुभएछ। केही चकलेटहरू थिए। त्यसको पनि राजस्व उठाउनुभएछ दिदीले। अन्त्यमा ग्लुकोजको पोकासमेत टोकेर च्यात्दै हत्केलामा राखेर चाट्दै गरेको अवस्थामा बाले देखेर गाली गर्नुभएछ।

“उति परसम्म लैजानुपर्ने कुरो। त्यही एउटा पाकेट पनि यहीं फुटाएपछि त्यो धुलो माट्टिंदैन ?” बाले हप्काउनुभो।

त्यसपछि भने दिदी निन्याउरो पर्नुभएको थियो।

****

“बाटोमा जताततै गाडीले रोक्दैन। दिसापिसाब यतै गरेर जानुपर्छ” बाले सतर्क गराउनुभो। म खुरुरु चर्पीभित्र पसें। तर आफूले चाहनेबित्तिकै आउने कुरो कहाँ थियो र त्यो। आफूभित्र भैकन पनि आफ्नो आदेश नमान्ने एकमात्र कुरा त्यही हो। उसले चाह्यो भने फेरि जुनबेला पनि हामीलाई गलाएर छोड्छ !

बाआमा तयार भैसक्नुभएको थियो। सँगै जाने छरछिमेकी पनि आफ्ना भारीकुम्ला बोकेर हाम्रो आँगनमा आएर “बेला भएन र भन्या ?” भन्दै थिए। म भने कुटाइममा जबर्जस्ती शौच गर्नुपर्ने बाध्यताले चर्पीभित्र कन्दै थिएँ। सबैको ध्यान मतिर भएपछि बल्ल थकित भएर चर्पीबाट निस्किएँ।

हातमुख धोइवरी हतारहतार कोठाभित्र पुगेर लुगा लगाउन लागेको थिएँ।

“त्यस्तो लेकमा जाँदा नि कसैले मामाघर जाँदा लगाउने लुगा लाउँछ र !” दिदीले भन्नुभयो। म वाल्ल परें।

“अनि कस्तो लुगा लगाउने त ?”

“मैलो मैलो लगाउनुपर्छ। सफा लुगा त लेकको पानीले बिग्रिन्छ” अनुभवी पल्टेर दिदीले भन्नुभयो। मलाई पनि आफ्नो राम्रा लुगाको माया लागेर आयो। सरुक्क घर बस्दा लगाउने ट्राउजर लगाएँ। घरतिरै खेल्दा लगाउने ज्याकेट उनें।

जुत्ता लगाउँदै थिएँ, दिदीले फेरि प्वाक्क भन्नुभो, “हरे ! नुहाउन जाने ठाउँमा नि कसैले जुत्ता लगाएर जाला त ? नुहाउन पसेको बेलामा चोर्देलान् है।” मलाई पनि आफ्नो एकैजोर राम्रो जुत्ताको माया लाग्यो। हत्तपत्त मोजामाथि ख्वाप्प घुसार्ने चप्पल उनें। त्यो चप्पल त्यतिबेला खुब फेसनमा थियो। बरु खिइएर जाने तर कहिल्यै नच्यातिने चप्पल थियो त्यो।

बाहिरबाट सबले “भएन भन्या ?” भन्दै कराउँदै थिए। म “भयो भयो” भनेर हुत्तिएर बाहिर निस्किएँ।

“यतिका बेर के गरेर बस्याथिस् ? खै लुगा ला’ ?” बा जंगिनुभो।

“यही हो नि!” मैले दिदीको अनुहारतिर हेर्दै भनें। अघि भर्खर बाको खप्की खानुभएकी दिदी केही बोल्नुभएन।

“टाढा जान लाग्दा अलि गतिलो लाउनु नि लुगा त” बाले भन्नुभयो।

“ह्या। भैहाल्छ नि यसैले। कौन सा शहर जान लाग्या हो र! नयाँ लुगा धसारे नि धुनकै सास्ती हो” आमाले भन्नुभयो।

बा अरु मान्छेहरूसँगै ठूलो रुक्स्याक बोकेर अघि हिंड्नुभयो। आमा अर्का दुईजना आइमाईहरूसँग भारीगुन्टा बोकेर पछिपछि हिंड्नुभयो। ममात्र अलमल्ल परें।

“जा जा तँ नि। ढिलो नगर्” दिदीले घँचेट्नुभो।

मोजाबाट फुत्तफुत्त चिप्लिन खोज्ने चप्पल घिसार्दै म पनि दौडिएँ।

त्रिशूली नदीमाथिको पुल तरेर बेत्रावती बजार पुग्दा गाडी हामीलाई नै पर्खिराखेको थियो। खलाँसी झ्याल पुछ्दै थियो भने ड्राइभर गाडीछेउमा उभिएर चुरोट तान्दै थियो।

“झन् पाँचै बजे हिंड्ने भन्या त साढे ६ हुन लागिसक्दा नि आउने हैन कोही” ड्राइभरले रिसाएजस्तो गर्‍यो।

“यस्ता आइमाई, केटाकेटीलाई उठाएर, तयार पारेर ल्याउन बेर त लागिहाल्छ नि भाइ, नरिसाउ न” बाले ड्राइभरलाई सम्झाउनुभो। अनि उसैको हातबाट ठूटो चुरोट लिएर आफ्नो नयाँ चुरोटमा झोसेर सल्काउनुभयो।

ड्राइभरले सबैजनाको अनुहारमा हेर्यो। मलाई देखेपछि केही सम्झिए जसरी सोध्यो, “तपाइँको छोरो बिरामी भएर लैजान लाग्या भन्या हैन सर ?”

बाले “हो” भनेर मुन्टो हल्लाउनुभयो।

“अनि खोइ त ?” ड्राइभरले सोध्यो।

म सतर्क भएर अगाडि उभिएँ।

“यही हो नि” बाले खिन्न भएर चिनाउनुभो। धन्न मैलो लुगा लगाए पनि बाले मलाई छोरो हैन भन्नुभएन। मैलो लुगा लगाएको भएर ड्राइभरले मलाई हेपेको जस्तो महसुस भयो। नत्र बा सँगसँगै आएको बच्चो मैमात्र थिएँ। जानाजान छोरो खोइ भनेर किन सोध्नुपर्थ्यो र ! न घर फर्केर लुगा फेर्नु, न के गर्नु। मलाई आपत् परिरह्यो। मनैमन दिदीलाई गाली गर्न मन लाग्यो।

बिस्तारै तातोपानी जाने मान्छेहरू भेला हुन थाले। सबैका बुढाबुढी थिए। बल्ल एक दुईजना केटाकेटी पनि देखिए। स्कुलमा मभन्दा एक कक्षामुनि पढ्ने शिला पनि थिई। म त फेरि नर्भस भएँ। कता लुकौं भएर आयो। लगत्तै अर्को अचम्म देख्नुपर्यो। चिटिक्क परेको जिन्स पाइन्ट, ज्याकेट अनि स्पोर्ट्स जुत्ता लगाएर मेरै साथी सुदिप पनि आइपुग्यो। अघिअघि उसका बाआमा पनि थिए।

“तँ नि तातोपानी जान ला हो ?” सुदिपेलाई सोधें। मलाई उसले राम्रा लुगा लगाको देखेर त्रिशूली, काठमाडौं कतै जान लाग्या रै’छ कि जस्तो लागेको थियो।

“अँ। तँचाहिं बाआमालाई पुर्याउन आ हो ?” उसले सोध्यो।

मलाई फेरि लाज भयो। उसले मेरो लुगा देखेरै चिलिमे जान लागेको ठानेनछ। उसलाई बुझाउन भनें, “म पनि जान लाग्या हो। लेकमा नयाँ लुगा बिग्रिन्छ भनेर मात्र यी यस्तो पुरानो लुगा लगाएको।”

“मैले नि पुरानो लुगा हाल्याछु बाको झोलामा। नयाँ लुगाचाहिं आउँदाजाँदा मात्र लगाउने” उसले भन्यो। मलाई थकथकी लाग्यो। यस्तो तरिका किन आएन मलाई। किन आएन यस्तो आइडिया दिदीलाई। दिदी सम्झेपछि मलाई फेरि रिस उठ्यो। उता शिला हामीलाई हेर्दै थिई। उसका कुरा मिल्ने कोही केटी साथी नभएर होला हामीतिर हेरेकी। तर मलाई भने उसले मेरो लुगा हेरेजस्तै लाग्यो। म फेरि लाजले चाउरिएँ। मसँग राम्रा लुगा छैनन् भन्ठानी होला त त्यसले ?

बसले एकचोटि बेस्सरी हर्न बजायो। बाले मलाई र आमालाई घँचेटेर बस भित्र जाओ भन्नुभो। हामी उक्लियौं। अरु मान्छेहरू पनि उक्लिए। बेत्रावती बजारको निन्द्रा बिथोल्दै बस कालिकास्थानतर्फ लाग्यो। जतिजति हामी घुमाउरो बाटो हुँदै उकालो लाग्यौं, उतिउति धर्ती तल तल देखिंदै आयो। लाग्यो, हामी बसमा हैन हवाईजहाज चढिरहेका छौं। बाटोमा हैन बादलमाथि हिँडिरहेका छौं।

आमा र म एउटा सीटमा थियौं। बसभरिमा सिट नपाएको बामात्र एकजना हुनुहुन्थ्यो। आफूले रिजर्भ गरेको गाडीमा सबैलाई चढाएर मात्र बा लास्टमा उक्लिनुभएको थियो। उक्लिँदा सबै सीट भरिएका थिए। आमाले त एकछिन अघि झ्यालबाट टाउको निकालेर “झट्टै आउनु, सिट भरिन लाग्यो” भन्नुभएकै थियो। तर “तिमीहरु बस न चुप लागेर” भनेर उल्टै हकार्नुभो। अहिले आफूले सिट नपाउँदा पनि बालाई कुनै सुर्ता थिएन। बा अप्ठ्यारो गरी ढोकासँगैको डण्डीमा बस्नुभयो। बेलाबेलामा पछाडि फर्केर हेर्नुहुन्थ्यो। मलाई आनन्दले बसेको देखेर आनन्द मान्नुहुन्थ्यो। बा हुन सजिलो रहेनछ। सन्तानलाई सजिलोमा बसाएर आफू अप्ठ्यारो ठाउँमा बस्नु नै बाको थान्कामा बस्नुरहेछ।

बा पछाडि फर्किंदा आमासँग आँखा जुद्धो रहेछ। त्यतिबेला आमा संकेत गरेर बालाई सीटमा बस्न बोलाउनुहुन्थ्यो। आफू त्यो डण्डीमा बस्छु भन्नुहुन्थ्यो। तर बा झिंजो माने जसरी आमालाई आँखा तर्नुहुन्थ्यो। आफूले सजिलो र बाले अप्ठ्यारो बेहोर्नुपरेकोमा आमालाई खिन्न लागिरह्यो। आमालाई हेरेर मलाई थाहा लाग्यो, प्रेम भनेको त खासमा सुखदुख पस्किने बेलामा दुखको भाग सुटुक्क आफूलाई मात्र पार्नु रहेछ। सुखजति अरुलाई दिनुरहेछ। हाम्री आमा सिपालु भान्से हुनुहुन्थ्यो। तर यसपालि बाले जित्नुभो।

डेढ घण्टापछि बसले कालिकास्थान बजारको माटो छोयो। चिया पिउन भनेर बस रोकियो। चिया, मालपुवा खाइवरी लघुशंका समेत निप्ट्याएर बस चढेपछि बल्ल जीउले आनन्द पायो। घ्याम्पोजत्रो पेट भएकी सुत्केरी महिला हिंडेझैं ढलकढलक गरेर पहराको कच्ची बाटोमा बस सुस्तरी हिंड्यो। कालिकास्थानलाई तल छोडेर स्याउबारी कटेपछि बसको थुतुनो राम्चेतिर सोझियो।

****

घर पहाडमै भए पनि मैले त्यस अघिसम्म हिमाल देखेको थिइनँ। हाम्रो त घरै अगाडिको डाँडाले हिमाल छेक्दिंदोरहेछ। धुन्चे उत्रिएपछि पो देखियो आँखैअगाडि हिमाल। भात खाने होटलको नाम पनि अझ लांगटांग भ्यु रे। लपक्क पोतिएको हिउँको रङ्ग देखेर मेरो चिचिलो मनले सोच्यो, कसले पोत्यो होला त्यति मेहनत गरेर त्यो पर्वतमा कमेरो ? बिहानको शिशु घाम आफ्नो आभा त्यही हिमालमा पोखेर हाँसेको थियो। कुहिराका झुप्पाहरू कतै कुनै खोल्सातिर खसेका थिए।

“ऊ त्यही हो हिमाल भनेको।” एकोहोरो लांगटांगलाई भ्यु गरिरहेको मलाई छेउमा आएर बाले चुरोट च्यापेको चोर र माझीऔंला हिमालतिर सोझ्याउँदै देखाइदिनुभयो।

“सगरमाथा भन्या त्यही हो ?” मैले पहिलोचोटि जिज्ञासु भएर बालाई प्रश्न गरें। स्कुलमा सगरमाथाबारे मात्र घोटेको घोट्यै गरेको भएर होला मलाई हिमाल भनेको सगरमाथा मात्र लाग्थ्यो।

हामी जवाफ दिंदामात्र हैन प्रश्न गर्दा पनि धेरै जान्नेसुन्ने पल्टिन्छौं र भड्खालामा जाकिने रहेछौं। मेरो प्रश्न सुनेपछि काँचो आँप टोकेजस्तो अमिलो अनुहार बनाउँदै बा झोक्किनुभो, “सगरमाथा कुन जिल्लामा पर्छ ?”

ओठ कपाउँदै भनें, “सोलुखुम्बु।”

“अनि यो कुन जिल्ला हो ?”

आँखा ठूला पारेर जिब्रो टोक्दै मैले भनें, “रसुवा।”

“गोरुको बुद्धि” बाले भन्नुभो। मलाई आफैंदेखि हाँसो लागेर आयो।

होटलको भात मुछ्दामुछ्दै सेलाउने खालको थियो। त्यसैले भात हातले खेलाउनु, मुखमा अलिबार चपाउनु भनेको त्यसको स्वाद नष्ट गर्नुसरह हुन्थ्यो। नपाकेजस्तो, अलि खल्लोजस्तो दाल, आलुको झोल र भात खायौं। मलाई त खासमा मासुको झोलको तिर्सना लागेको थियो तर बाले “उतै तातोपानीमा भेडो काटेर खाउँला पेटभरि मासु। यता जाबो दुई फिर्को हड्डी र छालालाई पचास रूपैयाँ ठटाउँछ” भन्नुभो।

मैले पनि आलु सुलुक्क निल्दै मुन्टो हल्लाएँ।

****

ढोकाछेउमा अडेस लागेर आउनुभएको बा धुन्चेबाट बस हिंडेपछि भने हाम्रै सिटको डण्डीमा फिला अड्याउन आउनुभो।

“त्यो ढोकोबाट स्याँठले हान्यो” बाले आमालाई भन्नुभो।

“यहीं बस्नु न मिलेर” आमाले आफ्ना दुईटै खुट्टा सिटको छेउबाट बसको प्यासेजमा निकालेर बालाई बिचमा बस्न भन्नुभो।

“काँ बस्छु म त्यस्तामा। यसलाई असजिलो हुन्छ” बाले मलाई हेर्नुभो। मैले भने झ्यालबाहिर हेरेँ।

आफ्ना भोको पेट तृप्त गरेका एक बस मान्छेहरू धुन्चेबाट स्याफ्रुबेंसी ओर्लिए। पहाडको काखबाट बग्ने एक घट्ट पानी बोकेको सानो कुलोलाई देखाएर बाले “यी यही हो त्रिशूली खोला” भन्नुभो।

म ट्वाँ परें। अचम्म ! कहाँ हाम्रो घरमुन्तिर सातो जाने गरी स्वाँ गरेर बग्ने, कत्राकत्रा मुड़ो गडंगगडंग गर्दै पल्टाउँदै ल्याउने त्यो अजंगको खोलो, कहाँ यो कमिलाले पनि पातको डुंगा बनाएर सुरुरु तर्लाजस्तो मसिनो कुलेसो। एक पाइलो डग्न नपाउँ मलाई पत्यार लागेन। ठाउँ पायो भने त हाम्रा बाउ पनि लास्टै गफ हान्छन्। मैले मनमनै विचारें।

स्याफ्रुबेंसीलाई पनि कुल्चिएर बस उकालो चढ्यो। दिन ढल्दै गएको हो कि घाम पहाडले छेकिएर हो अँध्यारो हुन थालेको थियो। घडी त बासँग मात्र थियो। कति बज्यो कसरी सोध्नु ? कहिल्यै बोलचाल गरेको हैन। बासँग बोल्नुपर्यो भने पनि दिमागको सन्तुलन नै बिग्रिन्थ्यो। नत्र लांगटांगलाई सगरमाथा भनेर किन सोध्थें र अघि।

****

रात नै परेको रहेछ क्यारे। गत्लांगबाट चिलिमे जलविद्युत केन्द्रको परिसरमा बस ओर्लिंदा चिलिमेको ड्याम वरिपरिका खम्बाहरूमा मज्जाले बत्ती बलेका थिए। ड्यामको छेउमा लहरै उभिएका बत्तीहरूको छायाँ दर्पणछायाँ बनेर पानीमा झिलिमिली गरेर बलेका थिए। मैले त्यतिविधि सुन्दर उज्यालो त शहर बजारमा पनि देखेको थिइनँ, दिपावली, तिहारमा पनि देखेको थिइनँ।

“ऊ पारिको गाउँ चाहिं गोल्झुंग हो” हामीसँगै बसमा आएका श्याममामाले भने। ठाउँ न कुठाउँ बाठो बन्नुपर्ने श्याम गाउँकै मामा थिए। सारा गाउँ उनका भान्जाभान्जी थिए। सबभन्दा रमाइलो चाहिं मेरा बा र म दुवैजना उनका भान्जा थियौं अनि आमा र दिदी दुवै उनका भान्जीहरू थिए। उनलाई थाहा नभएको कुरा केही थिएन। उनले नचिनेका मान्छे पनि संसारमै कोही थिएनन्। अनि उनलाई नआउने भाषा पनि केही थिएनन्।

दिउँसो धुन्चे बजारमा पनि बुढाले विदेशीसँग टुटेफुटेको अंग्रेजीमा बोलेका थिए। बुढाको अंग्रेजी सुनेर टुरिष्ट आफूले आफ्नै भाषा पनि गलत सिकेछु कि क्या हो भनेर दुई मिनेट ट्वाँ परेको थियो !

“त्यो माथिको गाउँचाहिं गत्लांग”, मामाले अघि आएकै बाटोतिर देखाएर भने।

मैले अँध्यारोमा अलि पर झुरुप्प परेको ढुंगाहरूको थुप्रो मात्र अनुमान लगाएँ।

बीचमा खाना र खाजाको लागि ओर्लेको बाहेक लगभग बाह्रघण्टा कच्ची बाटोमा गाडीको यात्रा गरेर आएका थियौं। थकाइले चुर भइएको रहेछ। म त यसै जीउ दुख्ने बिरामी, गाडीको सीटबाट उठ्नै पो सकिनँ। बरफको ढिक्काझैं जमेको शरीर अलिअलि चलाएर उठें। आमाको हाल पनि उस्तै थियो।

“हामी यस्तो डण्डीमा बसेर आउँदा त केही भएको छैन। तँलाई यस्तो शानदार सीट पाउँदा नि थकाइ लाग्यो ?” बाले आमालाई डाइलग हान्नुभो।

“तपैंलाई बस्नु भनेकै थिएँ क्यारे” आमाले सीटबाट उठ्दै भन्नुभो, “गाडीले दिनभरि हल्लाएपछि थकाइ लाग्दैन त ?”

आमा निस्केसँगै म पनि सिटबाट निस्किएँ।

कक्रक्क परेको जीउ विस्तारै चलाउँदै बाहिर निस्किंदा स्याँठले एकचोटि च्वास्स हान्यो। चप्पलमा लहरै सुतेर बाहिर क्वारक्वार्ती नियालिरहेका खुट्टाका औंलाहरू पनि आफ्ना हुन् कि पराइका हुन् भने जसरी चिसिएका थिए। बाले अँध्यारोमा पनि सुईहरू घुमेको प्रष्टै देखिने आफ्नो नाडीको घडी हेर्दै भन्नुभो, “भर्खर त आठ बजेछ। जाउँ दस बजे त पुगी सकिन्छ।”

हामी केटाकेटीलाई अत्यास लाग्यो।

“आज यतै बस्दा हुँदैन र ?” कसैले भन्यो।

“अँ, बस्छ यो दोबाटामा ! आइसक्यो त, ऊ हेर त त्यो पर बत्ती बल्या ठाउँ” श्याममामाले पर अनकन्टारको अँध्यारोतिर औंला सोझ्याएर देखाए। तर हामीले त यहाँ श्याममामाकै औंला पनि देखेका थिएनौं। तैपनि कोहिले कता कोहिले कता हेरेर आ-आफ्नै पारामा अड्कल गरेर बत्ती बलेको ठाउँ देख्यौं।

हाम्रा बा, सुदिपेका बा, शिलाका हजुरबा, श्याममामा जस्ता पाका टाठाबाठा पुरुषहरूले जाउँजाउँ भनिसकेपछि हाम्री आमा, सुदिपेकी आमा, शिलाकी फुपू अनि श्याम माइजू जस्ता वफादार आइमाईहरूले बोल्ने कुरै भएन। हामी नौलो ठाउँ आएका केटाकेटीले झन् के बोल्नु। अरु गाउँलेको त कुरै भएन।

चालीस, बयालीस जना तीर्थयात्रीको टोली तातोपानीको कुण्डमा नुहाउन, आफ्ना चिसो सम्बन्धी रोगव्यथा, गानोगोला, बाथ, छालाको रोग इत्यादिको उपचार गर्न भनेर अँध्यारो रातमा एभरेडी ब्याट्री लाग्ने चारपाँच ओटा टर्चलाइटको सहारामा थाम्बुचेत बजारबाट चिलिमे खोलाको पुल तरेर तातोपानी जान भनेर उक्लियौं।

****

कहिले ठाडै उकालो त कहिले केही तेर्पे बाटो। खुट्टा गल्न थाले। शरीरका हरेक जोर्नीहरू दुख्न, कराउन थाले। तैपनि नहिंडी सुख थिएन। ठूलो भारी बोक्नुभएकी आमा चुपचाप हिंडिरहनुभएको थियो। सायद आमा हुनु भनेको दुखेको छैन भन्नु रहेछ। भोको छैन, अभाव छैन अनि दुख छैन भन्नु रहेछ। बाहरूका सर्ट र पाइन्टमा खल्तीहरू हुन्छन्। आमाहरूका न त चोलोमा खल्ती हुन्छ, न त फरियामा। तैपनि फरियाकै सप्कोमा केही गाँठाहरू हुन्छन् जहाँ सन्तानका लागि खुशी र आडभरोसाका सिक्काहरू कसिएका हुन्छन्।

अगाडि आमाका जस्तै गह्रुङ्गो झोला बोक्नुभएका बा पनि लमकलमक लम्किरहनुभएको थियो। गोडा त बाका पनि हाडमासुले नै बनेका हुन्, तर पनि गल्यो भन्न बालाई बा हुनुको परिचयले नदिंदो रहेछ। बाआमा कमजोर हुनु भनेको सन्तानले भरोसा गुमाउनु हो। अझ बा त हाम्रो टोलीनेता हुनुहुन्थ्यो। नेताले नै आत्मविश्वास गुमाउनु भनेको त सिङ्गो टोलीले नै लत्तो छोडिदिनु हो। यसकारण पनि बाआमा ठमठम हिंडिरहनुभएको थियो। हाम्रो हिंडाइलाई श्याम मामाका किस्साहरूले उर्जा दिइरहेका थिए।

बाटोमा कतैकतै पिलपिल गरेर टुकी बत्ती बलेका झुप्रा घरहरू देखिन्थे। ती घरभित्र सानो आवाजमा गुनगुन गर्दै करुको तातो रक्सी सुरूपसुरूप पार्दै बाहिर गोरेटोमा हल्ला गर्दै हिंडेका यात्री नियालिरहेका तामांग तामांग्नी देखिन्थे। ती घर छेउछाउ पुग्दा बा भन्नुहुन्थ्यो, “अलि हेरेर हिंड है, यहाँका बच्चाहरूले आँगन, करेसामै हगेका हुन्छन्, गू कुल्चौला।” हामी सतर्क भएर हिंड्थ्यौं।

“एकचोटि यस्तै अँध्यारोमा म यो बाटो हिंड्दै थिएँ। लगाइराखेको जुत्ता एक्कासी गह्रुङ्गो भयो। अलि पर गएर हेर्छु त जुत्तामा त गूको बाबरजत्रो थाप्रो। वाक्क आउलाजस्तो भो। हड्डी भित्रैसम्म दुखाउने ठण्डा पानी त बगिरहेकै थियो खोल्सामा। धोउँ भने पनि कपडाको जुत्ता, भित्रैसम्म भिज्दिन्छ। कसरी लगाउनु यो ज्यानमारा जाडोमा चिसो जुत्ता। यति अत्यास लाग्या हैन।” श्याम मामाले गफ लगाउन थाले। जहाँ जे कुराको प्रसंग निस्किए पनि मामासँग त्योसँग जोडिएका हरेक अनुभवहरू हुन्थे।

“अनि के गर्नुभो त मामा ?” बाले सोध्नुभो।

“के गर्नु नि, त्यही गह्रुङ्गो जुत्ता लगाएर डेढ घण्टा हिंडेर तातोपानी गएँ नि। त्यहाँ पुग्नासाथ तातोपानीमा जुत्ता ढड्याउन राखिदिएँ। अनि निकालेर रातभरि अँगेनामाथि सुकाउन राख्दिएँ। बिहान उठ्दा त जुत्ता जस्ताको तस्तै।”

हामी सबै हाँसिरहेका थियौं। शिलालाई सुन्नै घिन लग्यो रे भनेर उसकी फुपूले पछाडिबाट भनिन्। शिलाको आवाज भने दिनभरि नै थोरै पनि सुन्न पाइएको थिएन।

****

गफाडी बाउले दश बजे भनेतापनि हाम्रो टोली झन्डै एघार बज्न लाग्दा पो तातोपानी पुग्यो। कति अचम्म रैछ ठाउँ, खड्कुलोमा पानी उमालेजस्तो बाफ चलिरहेको थियो। खोइ कताबाट हो ठूलो पाइपबाट ल्याएर त्यहाँ जमाको रे पानी। मुहानमा त सर्लक्कै छाला खुइलिने तातो छ रे। यहीं कुण्डमा पनि सुरुमा पानी नहल्लिने गरेर पस्नुपर्छ रे नुहाउन। यस्तै भन्दै थिए मान्छेहरू। दिदीले त अझ उसले सुनेका कुरा गफ लगाउनुभएको थियो मलाई बिहानै। भन्नुहुन्थ्यो, “पानीमा नुहाउन पस्दा आत्था भन्यो भने फोकैफोका उठ्छ रे। केही नभनी पस्यो भने मात्र फोका उठ्दैन रे।” मैले पनि यही गफ सुदिपेलाई सुनाएँ। हाम्रो नजिक उभिएर शिलाले पनि हाम्रा कुरा टाठा कानले सुनी।

त्यतिन्जेल बाहरू बास बस्ने टहरो खोज्दै हुनुहुन्थ्यो। हाम्रो घरको आँगनजत्रो सिमेन्टको पेटी लगाइएको कुण्डमा केही मान्छेहरू नहल्लिकन आहाल बसेका थिए। ब्याट्री हाल्ने टुकीमारा बत्ती पिल्पिलाएका अँध्यारा टहराहरू थिए कुण्ड वरिपरि। एउटामा हाम्रो टोली बस्यो।

टहरोभित्र फलेकहरू थिए। त्यहाँ चारओटा परिवार बसे। हामीसँगै आएकाहरू अरुअरु टहराहरूमा पनि बाँडिए। धन्न हाम्रै टहरामा श्याम मामा, गोकर्ण दाइ र शिलाहरू पनि बसे। मलाई फेरि लाज भो। तर अलिअलि लज्जा त पिलपिल गरेर बलेको बत्तीको उज्यालोमा शिलाका अनुहारमा पनि देखिए।

चार परिवारले आआफ्ना झोलीगुन्टाहरू मिलाउँदै गर्दा श्याम मामाले अलिक परको एउटा तामांग घरमा उनीहरूकै भाषामा केके केके भन्दै हल्ला गरेर एक भारी दाउरा मागेर ल्याए। चुलोढुङ्गोको छेउमा दाउराका भारी बिसाउँदै मामाले भने, “तिम्रो हजुरबाउसँग मेरा हजुरबाउले मीत लगाका थिए। हामी त दाजुभाइ हो भनेर फस्ल्यांग फुस्लुंग पारेपछि त यति दाउरा मात्र हो र फर्किंदा सिमी र कालो भटमास पनि कोसेली हाल्दिन्छ तामांगले।”

बाले सोध्नुभो, “अनि हजुरबाले मीत लाकै हो त मामा ?”

“लेक आउँदा जम्मैले मीत लगाएरै फर्किने हो। यिनका आधा गाउँको नाम पासांग हुन्छ। एउटा पासांगचाहिं मीतबाजे नै थिए। को थिए चाहिं अब किन चाहियो।” बुढाले बडो स्वादले ओठ बजाए। बा हाँस्नुभो। उता आमा र फुपूहरू पनि हाँस्दै चुलोमा तुन्तुनाउन लाग्नुभो।

“ए भान्जो, ससुराली आका हौ र उपरखुट्टी लगाएर पल्ट्या ? लौ हिंड नुहाउन जाउँ। नुहाउन भनेर आएपछि त यहाँ खाने, हग्ने, नुहाउने हो। सुत्न त अब पर्सि घर गएपछि”, डसनामाथि पल्टेको मलाई श्याम मामाले घिच्याएर उठाउनुभयो।

“ल ल यहाँ पकाउने टोली बाहेक अरु सब जना नुहाउन जाने। आलोपालो गर्नुपर्छ।” श्याम माइजूले पनि थप्नुभयो।

लेकको धारिलो ठण्डीमा लुगाहरू खोलेर नुहाउन जान तयार हुँदै थियौं। उता शिलाकी फुपूले उसलाई नुहाउने पेटीकोट दिंदै थिइन्। उसले जीउको लुगा खोल्न र पेटीकोटले ढाक्न एकैचोटि खोजी। बिचराले सकिनँ। एक हातले जीउको समिज फुकाल्न र अर्को हातले पेटीकोट सम्हाल्न सकस परेको थियो उसलाई।

अण्डरवेयर मात्र लगाएर नुहाउन तयार श्याम मामाले ठूलो स्वरले भने, “हरे यो उम्रिनै बाँकी चिचिलोले नि केलाई ढाक्न पर्थ्यो र। हिंड भान्जी खुरुक्क।”

शिला झन् लाजले राती बनी। उसकी फुपूले पेटीकोट समाइदिएर छातीमा कसिदिएपछि बल्ल जीउको लुगा खोलेर ऊ नुहाउन जान तयार भई।

आमाहरू बाहेकको टोली कुण्डको पेटीबाट सुस्तरी आहाल बस्न पानीमा पस्यो। ओहो के विधि तातो हो पानी त। घुँडा हुँदै सुस्तरी तिघ्रा, फिला, पेट, पिठ्युँ डुब्दै गएर टाउको मात्र बाहिर निकालेर पानीमा टुक्रुक्क बसें। मुखबाट आत्था निक्लेला भनेर दाँत र ओठ चपक्क बाँधेर राखें। बिस्तारै जीउ र पानीको तापक्रम मिल्दै आएपछि असिम आनन्दको अनुभूति हुँदै आयो। उता उसैगरी कुण्डमा हेलिन बसेकी शिला आफूचाहिं टुक्रुक्क बसिछ, तर पेटीकोट चाहिं बेलुनजसरी हावा भरिएर उसको जीउको वरिपरि भुक्क परेर फुलेछ।

“के गोज्यान्ग्री होला यो केटी। अलि मिलाएर त बस्न पर्छ नि” भन्दै पछिपछि आएकी उसकी फुपूले पेटीकोटको फेर समाएर बस्न सिकाइन्। यसपालि पनि शिलालाई हेरेर सबैजना हाँसे तर मलाई हाँस्न मन लागेन किनकि अरु कसैलाई नहेरी मलाई हेरेका थिए त्यतिबेला उसका आँखाहरूले। जीवनमा अप्ठेरो लागेको बेला, बेइज्जत भएको बेला, सारा दुनियाँले नै साथ छोडेका बेला, कोही एउटा मान्छेको अनुहारलाई ऐना बनाएर हेर्न खोज्छ मान्छे। त्यो अनुहार आशाको अनुहार हुन्छ जसमा उसले सिङ्गो संसारभन्दा बेग्लै प्रतिक्रियाको अपेक्षा गरेको हुन्छ। शिलाले हेरेको ऐना मेरै अनुहार थियो जहाँ उसको जस्तै उदासी पोतिएको थियो। शिला बल्ल त्यतिबेला खुसीले मुस्कुराई जतिबेला उसको अप्ठेरो मेरो अनुहारमा देखिएको थियो।

केहीबेर नुहाएर रिंगटा लाग्ला लाग्ला भएपछि निस्किएर फेरि पाटीमा गयौं। तनतनी खोलेको झोल पिएपछि शरीर चंगा भयो। त्यतिका लामो यात्राको थकाइ कता भाग्यो कता। मलाई त जोर्नीहरूको दुखाइ पनि महसुस हुन छाड्यो।

 ****

चार दिनसम्म श्याम मामाकै भाषामा खाने, हग्ने, नुहाउने गरेर घर फर्कियो टोली। पाटी बेग्लै भएर सुदिपे नजिक हुन पाएन। खाने र नुहाउने समय बेग्लै पर्थ्यो। बरु नबोले पनि शिला नजिक बनी। विस्तारै दुखाइ कम हुँदै आयो। निकै वर्ष बाथले दु:ख दिएन। जीवनमा फेरि अर्कोपटक जाउँला भनेर मनमनै भाकल राखेको तातोपानी कुण्डको मुहान २०७२ सालको भुइँचालोले बन्द भयो रे भन्ने खबर सुन्दा निकै नमज्जा लागेको थियो मलाई।

आजभोलि मान्छेहरूले भनेको सुन्छु, त्यहाँको तातोपानी त्यहीं वरिपरि अरुअरु ठाउँमा निस्केको छ रे। तर पहिलेजस्तो तातो छैन रे। हुन त केचाहिं पहिलेजस्तो हुन्छ र संसारमा ? मेरा लागि त दुई कुरा उस्तै छ आजसम्म, लामो समयपछि बल्झिएको जोर्नीको दुखाइ र उसैगरी बल्झिएको शिलाको सम्झना।

दुखाइ त मसँगै छ तर शिला अरुसँगै।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?