+
+
नाटक समीक्षा :

खुवालुङ : चिन्ता, चिनारी र चेतावनी

नाटकमा त्यो ढुंगाप्रतिको चिन्ता र चिनारी मात्रै छैन, चेतावनी पनि छ, ‘हजारौं वर्षदेखि सप्तकोशी नदीले चलाउन नसकेको खुवालुङको रक्षा गर्न तिम्रा दरसन्तान सतिसाल झैं उभिनेछ ।’

सइन्द्र राई सइन्द्र राई
२०७९ साउन १४ गते १९:५२

१४ साउन, काठमाडौं । जन्म, जीवन र मृत्युको अविच्छिन्न उपक्रममा मान्छेले सांस्कृतिक मिथक तयार पारे । त्यस्ता मिथक र तिनसँग जोडिएका बिम्बहरू जीवन पद्धतिको मार्गदर्शक बन्यो । तर मानव समाजको विकासक्रमसँग जोडिएका त्यस्ता सांस्कृतिक मिथक र बिम्बहरूप्रति असंवेदनशील व्यक्ति सत्तामा पुगे भने के होला ?

पक्कै पनि त्यो समुदाय र शासकको बीचमा दूरी बढ्नेछ, द्वन्द्व निम्तिनेछ, शासकप्रतिको स्वीकारोक्ति घट्नेछ । लोकतन्त्रमा कुनै पनि शासकले हत्तपत्त त्यस्तो मूर्खता गर्दैनन् ।

तर कहिलेकाहीं त्यस्ता व्यक्ति पनि सत्ताको नेतृत्वमा पुग्दा रहेछन् । उसले आफ्नो शासकत्व सिद्ध गर्ने क्रममा कुनै समुदाय विशेषको सांस्कृतिक बिम्बमाथि धावा बोल्न पनि बेर नलगाउने रहेछ ।

थापागाउँस्थित मण्डला थिएटरमा चलिरहेको नाटक ‘खुवालुङः ढुंगाको बाटो…’ त्यस्तै एउटा दुर्घटनाबाट जन्मिएको छ ।

अस्तित्वको चिन्ता

भौतिक विकासले आफ्नो यश बढ्ने स्वैरकल्पनामा मख्ख शासकको स्टिमर (जेटबोट) एकदिन नदी बीच अवस्थित एउटा ढुंगामा पुगेर रोकिन्छ । ती शासकलाई लाग्छ– यो एउटा फगत ढुंगा हो ।

उसले त्यो ढुंगा फोरेर भएपनि स्टिमरको यात्रा नरोक्न आदेश दिन्छ । तर त्यो आदेशले शान्त नदीको प्रवाहमा हलचल ल्याउँछ । स्टिमर अगाडि बढ्न सक्दैन । वर्षौंदेखि बलिरहेको तीन चुलो चर्किन्छ । मान्छेहरू आत्तिन्छन्, चुलो चर्कनुको कारण खोजी हुन्छ ।

पितापुर्खाले सिकाएर गएको रीति सम्झन्छन्, ऐतिहासिक गाथा पल्टाउँछन् । त्यो गाथामा कुनै समय छुटेर गएका आफन्तहरुको सम्झना भेटिन्छ । त्यो ढुंगा फुटाउनुको अर्थ ती पुर्खाहरूको सम्झना मेटिनु हुन्छ । आफ्नै इतिहास बिर्सनु र बाँच्दै आएको जीवन पद्धतिको मूल विनाश गर्नु हुन्छ । ऐतिहासिक अस्तित्वबाट पृथक् बन्नु हुन्छ ।

त्यो ढुंगा अरू नभएर खुवालुङ हुन्छ । जसलाई किरात समुदायले आफ्नो सांस्कृतिक विश्वास र अभ्यासको जग मान्छन् । तर त्यही खुवालुङ नष्ट गर्ने शासकको आदेशबाट उत्पन्न चिन्तालाई लिएर अगाडि बढ्छ, नाटक– ‘खुवालुङ’ ।

चिनारी र चेतावनी

राजन मुकारुङले लेखेको र किरण चाम्लिङ राईले निर्देशन गरेको नाटक ‘खुवालुङ’ ह्वाङ्गो नदीसम्म पुग्छ । प्राचीन शिकारी युगमा जीवन अनुकूल हावापानी र माटोको खोजी गर्दै ह्वाङ्गो नदीको किनारैकिनारै एउटा समुदाय त्रिवेणी (धनकुटा, उदयपुर र सुनसरीको संगम रहेको सप्तकोशी) आइपुग्छ । तर त्यसभन्दा अगाडि बढ्न सक्दैन । खुवालुङ (ढुंगा) ले उनीहरुको यात्रा रोक्छ ।

उनीहरू त्यही आसपास बस्ने निधो गर्छन् । शिकार गर्छन्, सृष्टि चलाउँछन् र बलियो समुदायका रुपमा स्थापित हुन्छन् । कतिसम्म भने बाह्य शक्तिको आक्रमण रोक्न सक्ने सामर्थ्य उनीहरूमा देखिन्छ । आफू बाँचेको भूमिमाथि भएको आक्रमण परास्त गर्छन् । त्यसरी त्यो भूमिसँग बलियो जरा गाडेको समुदायमा एकाएक महामारी चल्छ ।

बाँच्ने र मर्नेको संख्या बराबरी हुन्छ । त्यो महामारीकै कारण उनीहरू त्यो ठाउँ छोड्ने निधो गर्छन् । खुवालुङसँग बिन्ती गर्छन्, पूजा गर्छन् । खुवालुङ खुल्छ ।

उनीहरु त्यो भूमिसँग माफी मागेर विदा हुन्छन् । तर फेरि अर्को दुर्घटना टार्न सक्दैनन् । सबैले सँगै नदी तर्न सक्दैनन् । एकीकृत समुदाय छिन्नभिन्न हुन पुग्छ ।

उनीहरुसँग छुट्टिनुको विकल्प हुन्न । आँशु पुछेर छुट्टिन्छन् । र, आ–आफ्नो बाटो लाग्छन् । कोही दूधकोशी, कोही अरुण र तमोर भएर अगाडि बढ्छन् । तर कसैले पनि खुवालुङ बिर्सदैनन्, बरू रक्तकोषिकाकै रुपमा मान्छन् । अस्तित्वको सांस्कृतिक धरोहरका रुपमा पुज्छन् ।

तर त्यही बिम्ब तोड्ने शासकको आदेशले यो समुदायमा भूकम्प जान्छ । नाटक ‘खुवालुङ’मा त्यही सांस्कृतिक धरोहरमाथि आएको संकट रक्षार्थ तैनाथ हुने प्रतिबद्धता छ ।

नाटकमा त्यो ढुंगाप्रतिको चिन्ता र चिनारी मात्रै छैन, चेतावनी पनि छ । ‘हजारौं वर्षदेखि सप्तकोशी नदीले चलाउन नसकेको खुवालुङको रक्षा गर्न तिम्रा दरसन्तान सतिसालझैं उभिनेछ’, यो सन्देशसँगै नाटकको अन्त्य हुन्छ ।

अर्थात् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म स्टिमर चलाउन त्यो खुवालुङ (ढुंगा) फुटाउने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थिति नाटकमा चित्रण गरिएको छ । नाटकले खुवालुङको सांस्कृतिक पक्ष देखाइरहँदा मुलुकको अर्थ–राजनीतिक घटनाक्रम पनि समेटेको छ ।

जस्तो– शिकारीबाट कृषिमा आधारित जीवन पद्धतिको रुपान्तरण, नेपाल एकीकरणका क्रममा हुने आक्रमणदेखि अहिले अन्धाधुन्ध चलिरहेको विकासे नीतिबारे नाटकले बोलेको छ ।

लेखक मुकारूङ आफैं खुवालुङ बचाउने अभियानमा संलग्न भएकाले नाटकमा चाहिने भन्दा बढी मसला लगाइएको अनुभूति पक्कै हुन्छ । उनले पनि यो तथ्य लुकाएका छैनन् । ‘खुवालुङ’ नाटकलाई मिथकमाथि सिर्जनात्मकता थपेर एउटा आन्दोलनकै निरन्तरता भनेका छन् ।

दुई घण्टा आसपास लामो नाटकमा पशुपति राई, सरोज यादव, संयोग गुरागाईं, सविना थापा, अनु थापा, प्रशंसा सिवाकोटी, संयोग मुकारुङ, रमिला मोक्तान, प्रशंसा गुरुङ लगायत ३० कलाकारको अभिनय छ ।

सोमबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे (शुक्रबार र शनिबार दिउँसो एक बजे पनि) चल्ने नाटक आगामी २९ साउनसम्म रहनेछ ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?