+
+

‘खेलकुद विकासमा बृहत्तर सोच हुनुपर्छ, पुरस्कारले मात्रै हुन्न’

सफल खेलाडी बनाउन त संरचना विकास, विज्ञहरूको नियुक्ति गर्नुपर्छ; अभिलेख, पूर्वाधार हुनुपर्छ, ‘ट्यालेन्ट हन्ट’ गर्नुपर्छ र पुस्ता नै विकास हुनुपर्छ । तर सरकार पुरस्कार घोषणा गरेर बसेको छ, समस्या यहीं छ ।

सुशील नरसिंह राणा, एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक तथा खेल विज्ञ सुशील नरसिंह राणा, एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक तथा खेल विज्ञ
२०७९ साउन १६ गते ८:३५

हाम्रो देशका खेलाडीले उत्कृष्ट नतिजा निकाल्ने गरी सरकारी तवरबाटै योजनाहरू बनेको देखिंदैन । अहिले भइरहेका राष्ट्रिय टिममा तयारीको प्रशिक्षण सामान्य छ । सबैभन्दा ठूलो कुरा प्रतिभा र क्षमताको पहिचान हो । त्यसलाई संरक्षण गर्ने र सर्वोत्कृष्ट बनाउने जिम्मा राज्यको हुनुपर्छ ।

‘ज्याभलिन थ्रो’ तर्फ ओलम्पिकमा स्वर्ण जितेका भारतका निरज चोपडाले हालै विश्व च्याम्पियनसिपमा रजत जिते । ठूला प्रतियोगितामा नियमित सर्वोत्कृष्ट प्रदर्शन कायम राख्न भारत सरकारले उनीमाथि गरेको लगानीको दायरा करोडौं रुपैयाँको छ । उनी आफैंले नै राज्यको लगानीकै प्रतिफलमा मैले पदक जित्न सकेको हो भनिरहेका छन् ।

हामीले एकैपल्ट सबै खेलकुदमा लगानी गर्न सक्दैनौं । तर, सम्भावना भएका खेलमा विशेष लगानी गर्नुपर्ने आवश्यकता छ ।

मैले आफ्नो करिअरमा हजारौंलाई प्रशिक्षण गराएँ, तीमध्ये सयौं राष्ट्रिय च्याम्पियन भए । तर, जसले अन्तर्राष्ट्रिय सफलता हासिल गरे, त्यो संख्या १०/१२ जना होला । त्यो भनेको के हो भने सबैले सफलता पाउँछन् भन्ने हुँदैन तर, सम्भावना बोकेमा ती १०/१२ जनालाई स्तरोन्नति गर्ने काम राज्यको हुनुपर्छ ।

खेलाडीको विकासमा धेरै चरण हुन्छन् । त्यसलाई पुस्ता हस्तान्तरण भन्न सकिन्छ । हाम्रो देशमा त्यही प्रक्रियामा समस्या छ । जिल्लास्तरमा शिक्षक र स्वयंसेवक प्रशिक्षकबाट प्रशिक्षित एउटा खेलाडी भोलि जित्दै जाँदा प्रदेश र केन्द्रमा पुग्छ । त्यसपछि उसको अन्तर्राष्ट्रिय यात्रा सुरु हुन्छ । उसको चरणबद्ध विकासमा चरणबद्ध तयारी र मार्गदर्शनको आवश्यकता पर्छ ।

प्राथमिक तहलाई पढाउने शिक्षक र माध्यमिक तहलाई पढाउने शिक्षक एउटै हुँदैन । १२ पास गरेपछि अर्को शिक्षक हुन्छन् । तहअनुसार शिक्षक र गुणस्तर फरक–फरक हुन्छ । परिपक्व हुँदै उच्चस्तरमा पुग्न एउटा तहगत विकास चाहिन्छ ।

खेलकुदमा ओलम्पिकमा पुग्नुु भनेको पीएचडी स्कलर हुनु हो । त्यहाँसम्म पुर्याउन उसका लागि गरिएको लगानीको दाँजोमा पुरस्कार रकम भनेको त केही पनि होइन । त्यसैले एउटा प्रक्रिया र संरचनालाई प्रभावकारी रूपमा लागू गर्नुपर्छ र तल्लो तहदेखि नै अपनत्व हुने गरी काम गराउनुपर्छ ।

कुनै पनि देशको नतिजा माथि जानका लागि एउटा राम्रो संरचना बन्नुपर्छ । हामीसँग राष्ट्रियस्तरमा खेलिरहेका मध्ये एउटा मात्र खेलाडीको पनि पूर्ण तथ्यांक छैन । एउटा खेलाडीको स्तर विकासको चरण कसैले हेरेको छैन । उसको उत्पत्तिदेखि अहिलेसम्मको विकास आधार के हो ? उसको प्रदर्शन कसरी उकालो लागिरहेको छ वा कुनै स्तरमा पुगेर रोकिएको छ ? त्यसलाई तोड्नका लागि थप तयारीको अवसर दिने कि ? त्यसबारे केही कामै भएको छैन ।

हो, सरकारले पुरस्कारको व्यवस्था गर्नुपर्छ । पुरस्कार रकम वृद्धि गर्नु झनै राम्रो कुरा हो । तर, हामीले हाम्रा खेलाडीलाई ती खेलमा पदक जित्न योग्य बनाउन सक्दैनौं भने १० करोड रुपैयाँको पुरस्कार राखे पनि के फरक पर्यो र ?

हामीले कस्तो काम गर्नुपर्यो भने खेलाडीलाई त्यो उचाइमा पुर्याउँदा हामीले राखेको पुरस्कार मात्रै होइन कि राष्ट्र नै सफल हो भन्ने सोच राख्नुपर्छ । खेलकुद त्यस्तो विधा हो जसको सफलताले राज्यलाई ठूलो चिनारी दिन्छ ।

सामान्य अवस्थाबाट हामी कति माथि जान्छौं भन्ने कुरा मुख्य हो । ओलम्पिकमा स्वर्ण जित्यो भने करोडमाथि पुरस्कार दिने भनिएको छ । तर, ओलम्पिक जित्ने अवस्थासम्म पुग्न त देशले धेरै करोड रुपैयाँ लगानी गरेको हुन्छ ।

एउटा सफल खेलाडी बनाउन संरचना विकास गर्नुपर्छ, विज्ञहरू नियुक्त गर्नुपर्छ, अभिलेख हुनुपर्छ, पूर्वाधार विकास हुनुपर्छ, ‘ट्यालेन्ट हन्ट’ गर्नुपर्छ र पुस्ता विकास हुनुपर्छ । तर हाम्रोमा ती कुराहरू अहिलेसम्म सही कोणबाट भइरहेकै छैन । यसैले हाम्रो समस्या यहाँनेर छ भनेर पहिचान गर्न सक्नुपर्छ ।

हामीले यो कुरा तल्लो स्तरसम्म बुझाउन सक्नुपर्छ । एउटा सामान्य मान्छेको बुझाइ के हुन्छ भने ओहो ओलम्पिकमा स्वर्ण जित्यो भने त डेढ करोड रुपैयाँ पुरस्कार पाइने रहेछ । ओलम्पिकमा स्वर्ण भनेको असनमा बेच्न राखेको आलु हो ? त्यसका लागि कति त्याग, कति संघर्ष गर्नुपर्छ भनेर सानै उमेरदेखि बुझाउनुपर्छ । खेलकुद विकासमा एउटा बृहत्तर सोच हुनुपर्छ । सस्तो लोकप्रियता हुनुहुँदैन ।

(एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक तथा खेल विज्ञ राणासँग अनलाइनखबरकर्मी कुशल तिमल्सिनाले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?