+
+

श्री पशुपतिनाथले आँखा उघारून्

नेपालमा खुला र अग्रगामी समाज सर्वाङ्गीण विकासको न्यूनतम आवश्यकता हो। आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाइराख्न खोक्रो राष्ट्रवादका नारा लगाउने छद्मभेषी पश्चगामीहरूको समयमै पहिचान गरौं।

श्रीराम लामिछाने श्रीराम लामिछाने
२०७९ साउन १६ गते १२:५१

प्रवासी नेपालीहरू नेपाल फर्कंदा आराध्यदेव पशुपतिनाथको दर्शन नगर्ने शायद कमै होलान्! प्राय: फोटो र कहिले त फेसबुक लाइभ र टिकटक समेत बनाउँछन् मूल गेट बाहिरबाट! हामी प्रवासमा बस्नेलाई पनि दर्शन पाउँदा बडो आनन्द आउँछ। हातमा माला, निधारमा टीका, आहा! आफ्नो संस्कृति, रीतिरिवाजको आनन्दै बेग्लै !

तर माला, टीकाले अर्को कुरा पनि स्मरण गराउँछ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गमन टर्मिनल! आज विदेसिनुलाई जीवनको सबैभन्दा ठूलो उपलब्धिझैं गरी वैदेशिक रोजगारी, उच्च शिक्षाको लागि या डिभी परेर या पीआर पाएर स्थायी बसाइको लागि जानेहरूलाई खादा, माला लगाई भोज, पार्टी गरी बिदाइ गर्ने लहर छ नेपालमा।

यस पछाडिका रहर, बाध्यता, विवशताको एकतर्फी आकलन गर्नु अन्याय हुन जान्छ, त्यसैले यो लेख सबैप्रति नभएर केही त्यस्ता जमातप्रति केन्द्रित छ जो तामझाम सहित मातृभूमि छोडेर विदेश जानु नै जीवनको सबैभन्दा ठूलो उपलब्धिझैं मान्छन् र जसको राष्ट्रवाद विदेशमा पुगेर उम्लिने गर्छ ! कतिको त उम्लेर सामाजिक सञ्जालमा छताछुल्ल पोखिने पनि गर्छ ! श्री पशुपतिनाथले ती अन्धभक्तहरूको अब आँखा उघारून् ! यही प्रार्थना छ मेरो !

विदेशमा पुगेपछि त्यहाँको विकास, समानता, समावेशिता, विकेन्द्रीकरण र धर्मनिरपेक्षता जस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यता देखेपछि हाम्रो देशमा पनि यस्तै विकास भइदिए हुन्थ्यो भन्ने चाहना हुनुपर्ने हो। तर प्रवासमा बसेर पनि केही नेपाली अझै रूढिवादी र संकीर्ण हुँदै गएको देख्दा अचम्म लाग्छ।

संघीयता र विकेन्द्रीकरणको सफल अभ्यास भएका देशको राज्यबाट पाएको सुविधा अन्तर्गत सुपथ मूल्यमा पाएको उच्च गतिको इन्टरनेट चलाई नेपालमा संघीयता खारेजी गरौं भनेर भिडियो बनाएर पोस्ट गर्छन्।

यसबाहेक सीधै बाहिर केन्द्रात्मक जहानियाँ शासन चाहियो नभन्ने तर घुमाउरो पाराले राष्ट्रवादका चर्का नारा लगाउने, सत्यतथ्यको विश्लेषण नै नगरी षड्यन्त्रका सिद्धान्त र फेक न्युज फैल्याउँदै बसेको देख्दा उदेक लाग्छ।

आफैं नागरिकता त्यागेर विदेश बसेकाले आफैंलाई ‘राष्ट्रवादी’ र नेपालमै बसेर अलि प्रगतिशील कुरा गर्नेलाई ‘राष्ट्रघाती’ र ‘विदेशी एजेन्ट’ भनेर सामाजिक सञ्जालमा कुर्लने यी पक्कै पुरातन सोचका अवशेष होलान्? यी स्वघोषित देश (राज) भक्तहरू कहिले भ्रष्टाचार विरोधी त कहिले आफू मात्र धर्म संस्कृतिको संरक्षक भएको दाबी गर्छन्।

आश्चर्यको कुरा त के छ भने यी ‘राष्ट्रवादी’ संसारमा धेरै सफल, समृद्ध देशमा स्थापित धर्मनिरपेक्षता (पन्थ निरपेक्षता), समावेशिता, विकेन्द्रीकरण र संघीयता जस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यता विरोधी पनि हुन्छन्।

कहिले ‘विचारभन्दा माथि देश’ भन्ने अर्काको निजी विचार शेयर गर्दै बस्छन् त कहिले आफैं बाहिर बसेर हामीमाथि बाह्य शक्ति हाबी हुने डर छ भन्दै त्यसको समाधानमा एकल केन्द्रात्मक ताना शाही शासन नै चाहिन्छ भन्छन्। यी डेट एक्स्पायर्ड विचारलाई मूलधारका मिडियाले त स्थान दिंदैनन्। तर, सामाजिक सञ्जाल पश्चिममै बस्ने पश्चगामीहरूको बसिबियाँलो बनेको छ।

उता नेपालका साथीभाइ, परिवार, छरछिमेकीलाई त लाग्दो हो, यिनीहरू त ठाउँमा पुगे, पढे-लेखे, व्यापार-व्यवसाय पनि गरेका छन्, राम्रा ओहोदामा पनि पुगे, पक्कै पनि देखेरै बुझेरै भनेका होलान्। यस्तै सोचेर लाईक, कमेन्ट गर्छन्।

अनि यी ‘बर्मा पुगेर पनि कर्म सँगै लगेका’ पुरातन चेत नगएका प्रवासी नेपाली सोसल मिडियाका आफ्नो कुरा अरूले मन पराएको भ्रममा पर्छन्। नेपाली जनताले अग्रगामी निकास र अवस्था परिवर्तन चाहेको स्पष्ट सन्देश गएको स्थानीय निर्वाचनले दिएको छ। तर कति अन्धभक्तहरूले यसलाई पनि देखेका छैनन्। श्री पशुपतिनाथले अब त यिनको आँखा उघारून् ! यही प्रार्थना छ मेरो !

अर्को कुरा प्रवासमा बसेर वास्तविक शैक्षिक, बौद्धिक पेशाहरूमा सफलता पाएर नेपालको वास्तविक नाम उँचो गरेका प्रगतिशील सोच भएका नेपालीहरूलाई यिनीहरू जस्तो दिनरात विदेशमा बसेर देशको व्यवस्थालाई सराप्दै बस्ने फुर्सद हुँदैन।

नयाँ पुस्तासँग घुलमिल हुन नसक्ने बाँकी यी रूढिवादी सोच भएकाहरू आफ्नो व्यक्तिगत पहिचान बनाउन नेपाल रहँदा गरेको क्याम्पस राजनीति, युनियन राजनीतिलाई आधार बनाउँदै आ-आफ्नै संकीर्ण साना-साना समूह बनाएर बसेका हुन्छन्। न यी नेपाली मूलका सफल बौद्धिक समाजमा नै आवद्ध हुन्छन् न त देश अनुसारको भेष नै सिक्छन्। यस्ता सोच भएका प्रवासी नेपालीको प्रायः आफ्नै विदेशमा हुर्किएका छोराछोरीसँग पनि विचार मिल्दैन।

यो सब हीनताबोध कम गर्न नेपालबाट आफन्त, मित्रहरूले गरेका नक्कली लाईक, कमेन्टलाई नै आफ्नो ‘डेट एक्स्पायर्ड’ सोचको स्वीकार्यता बढेको भन्ने भ्रममा रमाउँछन् ! हे पशुपतिनाथ २०२२ एडीमा यिनलाई २०२२ वि.सं.को चेतना कसरी दिनुभयो प्रभु ?

केही समूह यस्तो पनि छ, जो उच्च शिक्षा, रोजगारी, भ्रमणका लागि केही समय विदेश बसेर फर्केका हुन्छन्। अचम्म त के लाग्छ भने यिनीहरूले पनि आफू विदेश बसुन्जेलको समय के सिक्छन्? के बुझ्छन्? शायद आफू जस्तै २-४ जना साँघुरो चित्त र चिन्तन भएका व्यक्तिको घेरा र दायराबाट बाहिर देख्नै सक्दैनन्, निस्किनै सक्दैनन् या त देख्नै- निस्किनै चाहँदैनन्!

अनि जब तिनै देश फर्किन्छन्, आफूलाई धेरै जानेको सुनेको देखाउन पछि पर्दैनन्, बारम्बार आफूले गरेको त्याग (पद, पैसा, पीआर आदि) गनाउन थाल्छन्, आफूलाई इलिट वर्ग साबित गर्न थाल्छन्। यहीबाट त सुरु हुन्छ म श्रेष्ठ, म माथि, म मसिहा हुँ भन्ने भ्रम!

यिनीहरूको हेर्ने आँखा पनि अचम्मको छ, यिनीहरूले पनि धर्मनिरपेक्षता, संघीयता, सैद्धान्तिक रूपमा खराब छ भन्ने मान्दैनन्, छैन पनि भन्छन् तर जोड्छन् अनि स्थलगत नियत, प्रभाव र असरसँग, आयातित, पर्दा पछाडिको खेलसँग, नेपालको भौगोलिक अवस्थासँग, नत्र सार्वभौमिकता तथा अखण्डता जस्ता कडा शब्द त छँदैछन् ।

आउनुहोस् व्यवस्था सुधारौं, नागरिकको अवस्था परिवर्तन गरौं भन्न सक्दैनन्, गणतन्त्रको सुदृढीकरण, सङ्घीयतामा आवश्यक सुधार गरौं भन्न सक्दैनन्, संस्कृति, परम्परालाई सम्मान गर्दै, बचाउँदै, प्रलोभनको आधारमा हुने धर्म परिवर्तनलाई कडा कानुनको दायरामा ल्याउने व्यवस्थासहितको धर्मनिरपेक्षताको रक्षा गरौं भन्न सक्दैनन्, अब यिनीहरूको आँखा श्री पशुपतिनाथ बाहेक अरूले खोल्न गाह्रो छ !

आज देश समृद्ध नहुनुमा व्यवस्थाको दोष हैन, व्यवस्थापनको हो ! हजारौं जनताको बलिदानले आएको उपलब्धिलाई आज संघीय लोकतान्त्रिक गणतन्त्रमा २-४ पात्रको भ्रष्टता र अक्षमतालाई हेरी व्यवस्था ठिक भएन भन्ने बेला आइसकेको छैन। समस्या पात्रको हो, प्रणालीको हैन।

राष्ट्रवादलाई खोप अनि धर्मको राजनीतिलाई बुस्टर डोज भनेर प्रचार गर्ने दक्षिणपन्थीहरू यदि आउँदो निर्वाचनहरूमा घर दैलोमा आए भने प्रश्न गरौं कि भ्रष्टाचार रोक्न कुन साम्राज्यवादले रोक्यो ? शिक्षा सुधार गर्न कुन विदेशी शक्तिले छेक्यो ? तिम्रो पश्चगामी नाराले स्वदेशमै रोजगार कसरी बढाउँछ ?

जहाँ जहाँ निरङ्कुश, जहानियाँ शासन लामो समय मौलाउँछ, त्यहाँ नातावाद, कृपावादले प्रश्रय पाउँछ। केही व्यक्ति, परिवार र आसेपासेको राज हुन्छ। जनतामाझ गरिबी र निराशा मात्रै बढ्दै जान्छ। जनताका दैनिक जीवनस्तरमा सुधार ल्याउन नसकेपछि उनीहरूको ध्यान भड्काउन उग्र राष्ट्रवादका नारा लाग्छन्, धर्मको राजनीति मौलाउँछ र अल्पसङ्ख्यकहरू र आम नागरिकमाथि अत्याचार हुन्छ। जनताको विरोधका आवाज दबाउन वाक् स्वतन्त्रतामा अङ्कुश लाग्छ।

मिडियालाई सके किनिन्छ, नसके धम्क्याउने काम हुन्छ। जनता सडकमा नै उत्रिए राज्यसत्ता र निरङ्कुश सेनाको आडमा दमन गरिन्छ। यस्तो गृहयुद्ध र अलोकतान्त्रिक सरकार भएका देशहरूको आफ्ना छिमेकी देशहरूसँग तनाव सिर्जना हुन्छ। पर्यटन र विदेशी लगानीमा ह्रास आउँछ।

आमजनताको अवहेलनाले कुनै देश समृद्ध बन्न सक्दैन। रुस, म्यानमार, पाकिस्तान र अहिले श्रीलङ्काको अर्थ–राजनैतिक सङ्कट उग्र राष्ट्रवाद, धर्मको राजनीति, अल्पसङ्ख्यक अनि आम नागरिकमाथि राज्यसत्ताको अत्याचार जस्ता उग्र दक्षिणपन्थी राजनीतिको एकमुष्ट परिणाम हो।

के हामी पनि श्रीलङ्का बन्ने मार्गमा छौं ? श्रीलङ्काको संकट रातारात आएको हैन। त्यस्तै रुस, म्यानमार, अफगानिस्तान, पाकिस्तान जस्ता देशहरूको आर्थिक–राजनैतिक सङ्कट कसरी गहिरियो त ? यसमा मुख्य कारण हो लोकतन्त्रको क्षयीकरण।

यी सबै देशको शासकीय प्रणालीलाई राजनैतिक स्थिरता र आर्थिक प्रगतिका साथै मानवीय विकास सूचकाङ्कमा अग्रणी स्थानमा रहेका नर्डिक (फिनल्यान्ड, नर्वे) या न्युजिल्यान्ड या लोकतन्त्र र समावेशितालाई उच्च कदर गर्ने क्यानडा जस्ता देशहरूसँग तुलना गर्दा समृद्धिका केही अनिवार्य शर्तहरू लोकतन्त्र, उदारता र सामाजिक न्याय उजागर हुन्छन्।

यी डेट एक्स्पायर्ड विचारलाई मूलधारका मिडियाले त स्थान दिंदैनन्। तर, सामाजिक सञ्जाल पश्चिममै बस्ने पश्चगामीहरूको बसिबियाँलो बनेको छ।

देशलाई हेर्दा, तुलना गर्दा भौगोलिक क्षेत्र र आकार मात्र हैन त्यहाँको जनसङ्ख्या र ती देशवासीको दैनिक सुविधा र व्यवस्थापनलाई पनि मनन गर्नुपर्ने हुन्छ ! आज क्यानडा, अस्ट्रेलियामा पनि हेड त रानी नै हो भन्दै गर्दा यो पनि नभुलौं हामी विकास, मानवीय संस्कार, स्वराज्य र सुशासनमा कति वर्ष पछाडि छौं ! कमसेकम एकपटक विदेश देखेकाले त यो बुझ्नुपर्ने हो ! तर आँखा छोपेको खोक्रो घमन्डको पट्टीले सगरमाथा र बुद्ध बाहेक केही देख्दैन ! बाँकी किन चाहियो हैन ?

नेपालको राजनैतिक घटनाक्रमले हाम्रो देशको सम्भ्रान्त वर्गमा अझै गहिरो छाप छोडेको छ। एक वर्ग, जसले हिजोको दमनकारी राज्य सत्ताबाट केही प्रत्यक्ष/परोक्ष लाभ भएको थियो, उसलाई राज्य सत्तावालको चाकरी मात्रै गरेर या सीमान्तकृत वर्गको शोषण गरेर पुस्तौंदेखि मिल्दै आएका सुविधाहरू २०४६/४७ अनि २०६२/६३ का जनआन्दोलनले गुमेको महसुस हुनु स्वाभाविक हो। कतिलाई त त्यो जनलहरले पदच्युत गर्‍यो त केही प्रसङ्गमा कतिका आफन्त ‘कारबाही’ मा पनि परे।

२०६२/६३ ताका यी सब विरुद्ध खुलेर बोल्ने अवस्था थिएन र त्यसपछि एउटा सम्भ्रान्त वर्गका केही नेपाली चल–अचल सम्पत्ति ‘देखाएर’ या अन्य कुनै बाटोबाट विदेश पनि पसे। २०७२ को संविधानले अझै बढी अभिव्यक्तिको स्वतन्त्रता दियो र सँगसँगै सामाजिक संजालको प्रयोग पनि बढ्यो। अलि पैसा हुने तर सीमान्तकृत वर्गले पाएको समावेशिताप्रति अनुदार वर्गले धर्मनिरपेक्षता (पन्थ निरपेक्षता) र संघीयता विरुद्ध युट्युब, फेसबुक पेज इत्यादि मार्फत भ्रामक समाचार, पूर्वाग्रही विचार सम्प्रेषण गर्न थाले।

आलोचनात्मक चेत नभएका र के सही हो, के षड्यन्त्रको सिद्धान्त हो भन्ने छुटाउन नसक्ने संकीर्ण सोच भएका नेपालीले यस्ता भ्रामक र पूर्वाग्रही सामग्रीमा आफ्नो अचेतन मनमा लुकेर बसेको संकीर्णता उजागर भएको झैं महसुस गरे र यस्तै सामग्री साझा गर्न थाले।

सामाजिक संजालका अल्गोरिदमले जस्तो विषयवस्तु हेर्‍यो त्यस्तै सामग्री अझै धेरै न्युज फिडमा पठाउने हुनाले यस्ता सामग्रीलाई विना प्रश्न हेर्ने, शेयर गर्नेले झन् त्यस्तै संकीर्ण सामग्री देख्दै जान्छन् र कालान्तरमा भ्रमको भुमरीमा फस्छन्।

संसारभरका दक्षिणपन्थी, उग्रवादी संगठनहरूले प्रयोग गर्ने रणनीति पनि यही हो। तर दुर्भाग्य यस्तो सङ्कीर्णताको प्रचारले राष्ट्रवाद भन्दा पनि अन्धभक्ति र रुढिवादलाई बढी प्रश्रय दिन्छ। राष्ट्रवादको परिभाषा आम जनताको हित, स्वास्थ्य, शिक्षाको सबलीकरण भन्दा पनि एकल धर्म र केन्द्रात्मक राज्य प्रणालीको पक्षपोषण हुन जान्छ। अनि यो विचार शून्य मगजमा ‘विचार भन्दा माथि देश, देश माथि श्रीपेच’ जस्ता नाराहरूको सिर्जना हुन्छ।

अरूभन्दा हाम्रो धर्म, जात, वर्ग, छालाको रङ श्रेष्ठ हो भन्ने भावले समाजमा न एकता ल्याउँछ, न समृद्धि। दक्षिणपन्थले समाज रूढिवाद र अतिवादतिर धकेलिदिन्छ। धर्म, जाति र क्षेत्रीयताको नाममा राजनीति गर्नेहरूको इतिहास लामो छ।

धर्मको नाममा विभाजित भारत, पाकिस्तान होस् या धर्मको नाममा लडिरहने इजरायल-प्यालेस्टाइन जस्ता क्षेत्रहरूमा शान्ति स्थापना गर्न मुस्किल छ। भ्रष्टाचारी एक पुस्ताको समृद्धिका बाधक हुन्छन्। तर, केन्द्रात्मक एकल राज्यको वकालत धर्मको राजनीति गर्नेले वर्तमान पुस्तालाई उद्वेलित बनाउँदै देशको भविष्यमाथि नै खेलबाड गरिरहेका हुन्छन्। पश्चगामीहरू हरियो घाँसमा लुकेका हरेउ सर्प जस्तै हुन्।

अनेकतामा एकता र आ-आफ्नै स्वतन्त्र बालिग मताधिकार प्रयोग गर्नु नै गणतन्त्र नेपालका जनताको स्वधर्म हो। लामो सङ्घर्षपछि उपलब्ध भएको लोकतन्त्रको रक्षा हामीले गर्न सके मात्रै लोकतन्त्रले पनि हाम्रो स्वतन्त्रताको रक्षा गर्न सक्छ। नेपालका सबै राजनीतिक दलका नेताले आफ्नो कुर्सी टिकाइरहन अहिले दिल्ली दरबारमा धर्म नीतिमा आएको परिवर्तनलाई रिझाउने प्रयास गरिरहेका छन्।

साँचो राष्ट्रवाद देश प्रेम हो, स्वावलम्बन हो र जनतामा निहित सार्वभौमसत्ता हो। देश प्रेम र दक्षिणपन्थी, पश्चगमन, जाति र धर्मको कुरूप राजनीतिमा आकाश-पातालको अन्तर छ। धर्मनिरपेक्षताको तात्त्विक अर्थ राज्यले कुनै एक धर्मको रक्षा र प्रवर्धन नगरी सबै धर्मलाई समान संरक्षण गर्नु हो, अनि एउटा धर्मले प्रलोभन, भय र बाध्यतामा पारेर अरूलाई धर्म परिवर्तन गराउन नपाउनु पनि हो,जुन अधिकार वर्तमान संविधानले सुनिश्चित गरेको छ।

नर्डिक (फिनल्यान्ड, स्विडेन, नर्वे) या न्युजिल्यान्ड, क्यानडा जस्ता मानवीय विकासमा अब्बल रहेका देशहरूसँग तुलना गर्दा पनि नेपालको समृद्धि र सर्वाङ्गीण विकास पनि खुला र प्रगतिशील समाजबाट मात्र सम्भव छ। जहानियाँ अधिनायकवाददेखि जनयुद्धसम्म एकै पुस्तामा देखेर भोगेका जनता पश्चगमन या दमन दुवै स्विकार्ने पक्षमा छैनन्।

नेपालमा खुला र अग्रगामी समाज सर्वाङ्गीण विकासको न्यूनतम आवश्यकता हो। आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाइराख्न खोक्रो राष्ट्रवादका नारा लगाउने छद्मभेषी पश्चगामीहरूको समयमै पहिचान गरौं।

आफूलाई पुनरुत्थानवादी र राजावादी ठान्नेहरूले स्मरण गर्न जरुरी छ : लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो, कसैले स्थापित गरिदिने पश्चगामी व्यवस्था होइन। यदि हामी केही अवसरवादी समूहको सत्ताका लागि राष्ट्रिय अखण्डता, जनतामा निहित सार्वभौमसत्ता र धार्मिक सहिष्णुतामा आँच आउने कदमको समर्थन गर्छौं भने त्यो वास्तविक आत्मसम्मान बेची परधर्म अँगाल्नु हुनेछ। राष्ट्रिय अखण्डता, सहिष्णुता र स्वाभिमान नै अहिले सबै नेपालीको स्वधर्म हो। गीतामा भनिएझैं यसको जगेर्ना गर्नु नै श्रेयस्कर छ।

स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह अर्थात् अरूको कठपुतली भएर बाँच्नुभन्दा स्वतन्त्र मर्नु नै श्रेयस्कर हो। जय देश ! श्री पशुपतिनाथले अन्धभक्तहरूको बेलामै आँखा उघारून्!

(काभ्रे घर भएका लामिछाने हाल क्यानडा बस्‍दै आएका छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?