+
+

नागपञ्चमीमा किन गरिन्छ नागको पूजा ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ साउन १७ गते १३:३७

काठमाडौं । नेपाली संस्कृतिमा मानिस मात्र हैन, पशुपन्छी र जीवजन्तुलाई पनि उत्तिकै महत्त्व दिइन्छ । तिहारमा काग, कुकुर, गाई-गोरुको पूजा गरेजस्तै नागपञ्चमीमा नागको पूजा गर्ने गरिन्छ ।

नागपञ्चमीको दिन नागको फोटो मूल ढोकामा टाँसेर त्यसलाई पूजा गर्ने प्रचलन छ । यसो गर्दा नाग अर्थात् सर्पले दुःख दिंदैन भन्ने धार्मिक विश्वास छ । धार्मिक रूपमा हेर्दा नाग भगवान् विष्णुको शैया र भगवान् शिवको गहना पनि हो ।

पृथ्वीमा भएका सर्पले विषालु हावा र जीवहरूलाई खान्छ । जसले पर्यावरणीय चक्रलाई चलाइराख्न सहयोग गर्ने भएकाले हामीले सर्पलाई संरक्षण गर्नुपर्छ भन्ने अभिप्रायले पनि नागपञ्चमी मनाउन थालिएको डा. स्वामी केशवानन्द बताउँछन् । ‘घरको वरपर नागको प्रकोप नहोस्, घर वरपर विषालु ग्यासको प्रकोप नहोस् भन्नका लागि नागपञ्चमी मनाउने गरिएको हो,’ उनी भन्छन् ।

नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, चन्दन, दुबो राखी पूजा गरेर गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्ट नागको चित्र टाँस्ने गरिन्छ । पहिले आफ्नै हातले नागको चित्र कोरेर वा पुरोहितबाट चित्र कोराएर नाग टाँस्ने गरिन्थ्यो । तर पछिल्लो समय भने छापिएको नाग नै बजारमा सर्वसुलभ उपलब्ध हुने भएकोले त्यसको प्रयोग नै बढी हुने गर्छ ।

यस दिनबाट उत्तरायण समाप्त भई दक्षिणायण सुरु हुने बताइन्छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नाग गरी अष्टनागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको केशवानन्द बताउँछन् ।

‘नागलाई विशेषगरी दूध चढाउने चलन पनि छ । नागलाई दूध मन पर्ने र खानाको खोजीमा नै सर्प घरमा प्रवेश गर्ने भएकाले नागलाई दूध चढाउँदा दूध खान पाएर ऊ खुसी हुन्छ र घरभित्र प्रवेश गरेर परिवारका सदस्यलाई दुःख दिंदैन भन्ने धार्मिक विश्वास छ,’ उनी भन्छन् ।

नागपञ्चमीको दिनमा नै नागको उत्पत्ति भएको हुनाले लामो समयदेखि नागपञ्चमीको दिनमा नागको पूजा गर्ने प्रचलन सुरु भएको उनले बताए ।

नाग सर्प देख्ने बित्तिकै मार्ने चलन पछिल्लो समय हाम्रो समाजमा छ । तर नाग तथा सर्पलाई त्यसरी मार्नु हुँदैन । मानिसको जीवन चक्र चलाउन नाग र सर्पको ठूलो महत्व हुन्छ । हाम्रो पर्यावरण शुद्ध पार्न सर्पको भूमिका हुन्छ । हामीले लगाएको बालीनाली सपार्न पनि सर्पले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । सर्पले मुसा र बाली नास गर्ने अन्य जीवलाई खाएर अन्नबालीलाई जोगाउँछ । त्यसैले नागपञ्चमीको दिन मात्र नागको फोटो टाँसेर पूजा गर्नु भन्दा यसको संरक्षणतर्फ पनि लाग्नुपर्ने केशवानन्द बताउँछन् ।

सर्पको पर्यावरणीय महत्व 

फाइल तस्वीर

सर्पले पारिस्थितिक पद्धतिलाई सन्तुलनमा राख्न मद्दत गर्दछ । सर्पले बालीनालीमा लाग्ने कीरा फट्यांग्रा खाएर किसानको बालीनालीलाई जोगाउने गर्छ । जसले गर्दा पनि सर्पलाई किसानको साथी भनिन्छ ।

पृथ्वीमा मान्छेको जति महत्व छ, सर्पको पनि त्यत्तिकै महत्व छ । यदि सर्प नहुने हो भने किसानको बालीनाली जति हुनुपर्ने हो त्योभन्दा धेरै कम हुन्छ । सर्पले बालीमा लाग्ने कीरा फट्यांग्रालाई खाएर बालीलाई बचाउने भएकाले यसको पर्यावरणीय महत्व रहेको सर्पविज्ञ कमल देवकोटा बताउँछन् ।

चिकित्सा प्रणालीमा पनि सर्पको धेरै महत्व छ । जस्तै, सर्पले टोकेको औषधि पनि सर्पको विषलाई प्रशोधन गरेर बनाइन्छ । मानसिक रोगका औषधि, उच्च रक्तचापको औषधि बनाउन पनि सर्पको विषको केही मात्रा प्रयोग गरिन्छ । त्यसैले विभिन्न रोग निवारण गर्न पनि सर्पको महत्व रहेको देवकोटाले बताए ।

‘सर्पको विष प्रशोधन गरेर बनाएको औषधिले स्तन क्यान्सरको बिरामी निको भइरहेको भन्ने अध्ययन पनि अमेरिकामा भइरहेको छ,’ उनी भन्छन् ।

देवकोटा अगाडि भन्छन्, ‘सर्पको धार्मिक महत्व पनि भएकाले नागपञ्चमीको दिन सर्पलाई पुज्ने चलन छ । नागपञ्चमीमा सर्पलाई दूध चढाउने चलन छ । यसको धार्मिक महत्व होला । तर वैज्ञानिक रूपमा हेर्ने हो भने दूध सर्पको खाना होइन । सर्पलाई दूध खुवाउँदा त्यसको पाचन प्रणालीमा असर गर्ने भएकाले सर्पलाई नखुवाउनु नै उपयुक्त हुन्छ ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?