+
+

साफ यू-२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो

फाइनल पुग्न नसकेपछि प्रशिक्षक केसीको पद पनि धरापमा परेको छ । भारतसँग हारपछि उनले आफ्नो फाइदाका लागि टिममा बस्नु उचिन नहुने समेत बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते २१:२७

१७ साउन, काठमाडौं । माल्दिभसलाई १-० ले पराजित गर्दै घरेलु टोली भारत भुवनेश्वरमा भइरहेको सो यू-२० च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । कालिंगा रंगशालमा भारतले माल्दिभ्समाथि दबाब बनाउँदै गोलका लागि आधा दर्जन भन्दा बढी अवसर बनाएपनि अन्तिम समयमा मात्र गोल गर्न सफल भएको थियो । भारतका लागि गुरकिरत सिंहले ९०औं मिनेटमा विजयी गोल गरे ।

मंगलबार साँझ भएको खेलमा माल्दिभ्सलाई हराएपछि भारत चार खेलबाट ९ अंक जोड्दै लिगचरणमा दोस्रो भएर फाइनल पुग्यो । चार खेलबाट ७ अंक जोडेको नेपाल भने तेस्रो हुँदै बाहिरियो ।

सुरुवाती दुई खेल जितेको नेपाल भारतसँगको खेलमा नेपाल ८-० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै मंगलबारै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै अंक बाँडेपनि फाइनल पुग्ने सम्भावना कठिन बनेको थियो ।

लिग चरणमा अपराजित रहेको बंगलादेश चार खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्‍यो ।

नेपालसँगै माल्दिभ्स र श्रीलंका भने लिग चरणबाटै बाहिरिएको छ । नेपालले फाइनल पुग्दै उपाधि जित्ने लक्ष्य राखेपनि सफल हुन सकेन । अब उपाधिका लागि बंगलादेश र भारतबीच शुक्रबार खेल हुनेछ ।

‘नहुनुपर्ने घटना भयो’
बंगलादेशस विरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएपनि नेपालले अंक बाँड्नुपर्‍यो ।

बंगलादेशलाई हराएको भए नेपालको फाइनल पुग्ने सम्भावना पनि अझ राम्रो स्थितीमा हुने थियो । तर भइसकेको खेल सम्झेर केही फाइदा भने छैन ।

बंगलादेश विरुद्ध नेपालले खेल जित्न त सकेन नै धैर्यता पनि गुमाएको थियो । दोस्रो हाफ दुवै टोलीले समान १० खेलाडीमा रहेर खेलेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफ प्रतिस्पर्धात्मक साथै तनावपूर्ण पनि बनेको थियो ।

६३औं मिनेटमा बंगलादेशका अहमद नोभाले गोल गर्द अग्रता दिलाएका थिए भने नेपालका लागि ६८औं मिनेटमा निरन्जन मल्लले बराबरी गोल गरेका थिए ।

तर दोस्रो हाफको दोस्रो मिनेटमै मैदानमा दुई टोलीबीच हात हालाहालको स्थिती भएको थियो । जसले गर्दा नेपालका दुई र बंगलादेशका एक खेलाडीले रातो कार्ड पाए । नेपालका दिपशे गुरुङ सहित बेन्चमा रहेका रोहित सुब्बा अनी बंगलादेशका शहीदुल इस्लामले रातो कार्ड पाए ।

खेलपछि नेपालका सहायक प्रशिक्षक बालगोपाल साहुखलले अघिल्लो खेलमा भारत विरुद्धको ह्याङओभर अझै नसकिएको बताए । उनले फराकिलो जित आवश्यक हुँदा खेलमा दबाब रहेको बताए । ‘पछिलो खेलको नतिजाले गर्दा दबाब थियो । त्यसमा सुधार गर्दै राम्रो गर्ने प्रयास गर्‍यौँ । तर भारतसँग हारको ह्यांगओभर अझै हराएको थिएन,’ साहुखलले भने ।

यस्तै उनले बंगलादेश विरुद्ध तनावपूर्ण स्थिती नहुनुपर्ने घटना भएको बताए । ‘आज जुन घटना भयो त्यसलाई ‘अभोइड’ गर्न सकिन्थ्यो,’ उनले भने ।

प्रशिक्षक साहुखलले भारत विरुद्धको हारपछि पराकिलो जित चाहिएकोले बेला खेलाडीमा निराश भएको र सम्हाल्न नसकेको बताए । उनले खेलाडीले पनि आफूलाई नियन्त्रणमा राख्नुपर्ने बताए ।

नेपाल तेस्रो
दक्षिण एसियाका पाँच राष्ट्र सम्मिलित साफ यू २० मा नेपालले राम्रो प्रदर्शन गर्ने भारत जानुअघि नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले बताएका थिए ।

करिब दुई महिनामा देशभरबाट खुल्ला रुपमा खेलाडी छनोट गरेर अन्तिम टिम बनाउँदै नेपाल भारत गएको थियो । सुरुवाती दुई खेलमा माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले हराएर नेपालले राम्रो सुरुवात गरेपनि त्यसलाई कायम राख्न सकेन ।

भारत विरुद्ध खराब प्रदर्शन हुँदा ८-० को लज्जासपद हार बेहोर्नुपर्‍यो । त्यसपछि बंगलादेश विरुद्ध खेल तनावपूर्ण हुँदा १-१ को बराबरीमा रोकियो ।

भारतसँग हारपछि प्रशिक्षक केसीले खेलाडीमा क्षमता भएपनि अनुभव कम भएको बताएका थिए ।

राउण्ड रोविन लिगपछि शीर्ष दुईमा पर्न असफल नेपाल तेस्रो भयो । चार खेलमा दुई जित एक बराबरी र एक हारको नतिजापछि नेपालले ७ अंक जोड्यो ।

फाइनल पुग्न नसकेपछि प्रशिक्षक केसीको पद पनि धरापमा परेको छ । भारतसँग हारपछि उनले आफ्नो फाइदाका लागि टिममा बस्नु उचिन नहुने धारणा राखेका थिए ।

नेपालको यही टिमले अब सेप्टेम्बरमा एएफसी यू-२० एसियन कप छनोट खेल्नेछ । तर प्रशिक्षक केसी हुनेछन् कि हुनेछैनन् समयले नै बताउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?