+
+

‘कोशीको बाढी बस्तीमा पस्ने पूर्वसंकेत थियो तर बाँध बाँध्न सकेनौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते ९:३६

१८ साउन, काठमाडौं । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रे भन्ने स्थानबाट कोशी नदीको बाढी बस्तीमा पसेको छ । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार कोशीको बहाव बढिरहेकाले सम्भावित क्षतिको पूर्वसंकेत पहिल्यै थियो । त्यही भएर स्थानीय स्रोत साधन प्रयोग गरेर बाँध बाँध्ने काम गरिरहे पनि नसकेको उनले बताए ।

उनका अनुसार कोशीको भंगालोबाट बेलकाका मात्रै २० हजार मानिसहरु प्रभावित हुनसक्ने अनुमान छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काममा सक्रिय रहेको मेयर कार्कीले बताए ।

अहिलेको अवस्थाबारे मेयर कार्कीको भनाइ जस्ताको तस्तै–

बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रेको लाहुरेकोट भन्ने स्थानबाट कोशीको भंगालो छिर्यो । २०४५ सालमा कोशी नदी यहीँबाट पश्चिम बगिरहेको थियो, ४५ सालमा पूर्वतिर गयो । अहिले फेरि ठ्याक्कै यहीँबाट पश्चिम फर्किएको छ ।

बेलकाको वडा नम्बर ८, ९, ३, २, १ हुँदै कोशी सप्तरीतिर प्रवेश गर्छ । सुनसरीको बराह क्षेत्रका केही स्थान पनि यसबाट प्रभावित हुन्छन् ।

यसबाट ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था छ । करिब २० हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने भएको छ । अहिले हामी त्यही काममा लागिरहेका छौं । ४–५ हजार मानिसहरुलाई विभिन्न ठाउँमा सारिरहेका छौं । यो काममा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र स्थानीयवासी पनि परिचालित छन् । यद्यपि राम्रोसँग पानी नरोकिएकाले केही समस्या छ ।

कोशीको बहाव बढिरहेकाले यसको संकेत पहिले नै थियो । त्यही भएर हामीले निरन्तर स्थानीय स्रोत साधन प्रयोग गरेर बाँध बाँध्ने काम गरिरहेका थियौं । हामीले एक सय मिटर बाँध बाँधिसकेका थियौं । तर कटान गर्दैगर्दै आज बाँध तोड्यो । निकै ठूलो खर्च गरेर हामीले बाँध बाँध्ने प्रयास गरेका थियौं । तर हामीले मात्र सकेनौं । प्रदेश, जिल्ला विपद व्यवस्थापनबाट र केन्द्र सरकारबाट पनि निकै ठूलो सहयोग थियो । केन्द्रबाट विपदको टोली एक महिनासम्म बसेर काम गरेको थियो । तर जसरी काम गर्न खोजेका थियौं, सकिएन ।

अहिलेसम्म मानवीय क्षतीको विवरण आइसकेको छैन । अहिले प्रभावित क्षेत्रका मानिसहरुलाई व्यवस्थित रुपमा राख्ने काम गरिरहेका छौं । उहाँहरुलाई खाने पिउने, लत्ता कपडा, उपचारदेखि बसोबासको व्यवस्था गर्ने काममा लागिरहेका छौं । उहाँहरुका धान, चामल लगायतका अन्न जोगाउने कोसिस पनि गरिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?